डेढ वर्ष म्याद थप्दा पनि अरुण–३ अधुरै, तल्लो अरुणको जिम्मा फेरि सतलजलाई

Nov 24, 2026 05:17 PM Merolagani



हरिप्रसाद शर्मा
डेढ वर्षभन्दा बढी म्याद थप्दा पनि ९०० मेगावाटको अरुण–३ आयोजना सम्पन्न गर्न नसकेको भारतीय कम्पनी सतलज जलविद्युत् निगम (एसजेभीएन)ले अर्को ठूलो जलविद्युत् आयोजना निर्माणको जिम्मेवारी पाएको छ ।

सरकारले ६६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजना पनि सोही कम्पनीलाई सुम्पेको हो ।

पाँच वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यसहित सन् २०१८ मा निर्माण सुरु गरिएको अरुण–३ आयोजना निर्धारित समयभन्दा धेरै पछाडि परिसकेको छ । पटक–पटक म्याद थप्दा पनि आयोजना पूर्ण रूपमा सम्पन्न हुन सकेको छैन । तर, यही कम्पनीलाई सरकारले अर्को ठूलो जलविद्युत् आयोजना निर्माणको जिम्मेवारी दिएको छ ।

हालै नेपालका प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र शाहले संयुक्त रूपमा ६६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजनाको शिलान्यास गरेका छन् । अरुण–३ कै क्यासकेड आयोजनाका रूपमा रहेको तल्लो अरुणको निर्माण जिम्मेवारी पनि सतलजले नै पाएको हो ।

सतलजले अरुण–३ आयोजना सन् २०२५ मार्चसम्म सम्पन्न गर्ने कार्यतालिका बनाएको थियो । निर्धारित समयमा निर्माण पूरा हुन नसकेपछि पहिलो पटक एक वर्ष म्याद थप गरिएको थियो । तर, थपिएको समयभित्र पनि आयोजना सम्पन्न हुन सकेन ।

त्यसपछि कम्पनीले पुनः ६ महिना म्याद थप गर्‍यो । दोस्रो पटक थपिएको म्याद सन् २०२६ मार्चमा सकिए पनि आयोजना निर्माण पूरा हुन सकेको छैन । यसरी दुई पटक गरी डेढ वर्षभन्दा बढी अतिरिक्त समय पाउँदासमेत आयोजना पूर्ण रूपमा सञ्चालनमा आउन सकेको छैन ।

आयोजना निर्माणको काम अन्तिम चरणमा पुगेको बताइए पनि प्रसारण लाइन निर्माणलगायतका समस्या अझै समाधान हुन सकेका छैनन । विद्युत् उत्पादनका लागि आवश्यक पूर्वाधार समयमै तयार नहुँदा आयोजनाको पूर्ण सञ्चालनमा थप चुनौती देखिएको छ ।

यसरी निर्धारित समयमा आयोजना सम्पन्न गर्न नसकेको र थपिएको समयसमेत गुजारेको कम्पनीलाई नै सरकारले अर्को ठूलो परियोजना निर्माणको जिम्मेवारी दिएको छ । यसले तल्लो अरुण आयोजना पनि निर्धारित पाँच वर्षभित्र सम्पन्न हुनेमा प्रश्न खडा गरेको छ ।

९२ अर्बभन्दा बढी लागतमा तल्लो अरुण

६६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजना ९२ अर्ब ६७ करोड रुपैयाँ अनुमानित लागतमा निर्माण गर्ने योजना छ । नेपाल–भारत ऊर्जा सहकार्यअन्तर्गत निर्माण हुने यो आयोजना निर्माण, स्वामित्व, सञ्चालन तथा हस्तान्तरण (बुट) ढाँचामा विकास गरिनेछ ।

आयोजना पाँच वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । आयोजनाबाट उत्पादित कुल विद्युतकाे २१ प्रतिशत नेपालले निःशुल्क प्राप्त गर्नेछ । त्यस्तै, २५ वर्षको व्यावसायिक सञ्चालन अवधि पूरा भएपछि आयोजना नेपाल सरकारलाई हस्तान्तरण गरिनेछ ।

भारतीय सरकारी कम्पनी सतलज जलविद्युत् निगमको सहायक कम्पनीले आयोजनाको निर्माण गर्नेछ । यसअघि नेपाल सरकारको लगानी बोर्ड र आयोजना विकास कम्पनीबीच सन् २०२३ जुन १ मा आयोजना विकास सम्झौता भएको थियो ।

अरुण–३ जलविद्युत् आयोजनाबाट निस्कने पानीलाई १७.३ किलोमिटर लामो सुरुङमार्फत तल्लो अरुणको विद्युत् गृहमा पुर्‍याएर थप विद्युत् उत्पादन गरिनेछ । एउटै नदी प्रणालीमा निर्माण हुने यी दुई आयोजनाले जलस्रोतको उपयोगबाट थप विद्युत् उत्पादन गर्नेछन् ।

तल्लो अरुणबाट नेपालले निःशुल्क ऊर्जा, रोयल्टी, कर तथा रोजगारीलगायतका आर्थिक लाभ प्राप्त गर्ने अपेक्षा गरिएको छ ।

अरुण–३ को अनुभवले तल्लो अरुणमा चुनौती

प्रधानमन्त्री शाहको भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री मोदीले अरुण–३ जलविद्युत् आयोजना यथाशीघ्र सम्पन्न गर्ने प्रतिबद्धता जनाएका छन् । तर, आयोजनाको निर्माण सम्पन्न हुने निश्चित मिति भने अझै स्पष्ट हुन सकेको छैन ।

अरुण–३ निर्माणमा देखिएका ढिलाइ, प्रसारण लाइनको समस्या र कार्यान्वयनका चुनौतीलाई हेर्दा तल्लो अरुणमा पनि त्यस्तै अवस्था दोहोरिने जोखिमलाई नजरअन्दाज गर्न सकिँदैन ।

ठूला जलविद्युत् आयोजना निर्माणमा समय र लागत दुवै महत्त्वपूर्ण हुन्छन् । त्यसैले अरुण–३ मा देखिएका समस्या पहिचान गरी तल्लो अरुण निर्माणअघि नै समाधानका उपाय अवलम्बन गर्नु आवश्यक देखिन्छ ।

निर्माण कम्पनीलाई स्पष्ट समयसीमा, कार्यसम्पादनको जवाफदेहिता र नियमित अनुगमनको दायरामा राख्न सके मात्रै तल्लो अरुण पाँच वर्षभित्र सम्पन्न हुने लक्ष्य पूरा हुन सक्छ । अन्यथा, अरुण–३ जस्तै पटक–पटक म्याद थप्दै आयोजना निर्माण लम्बिने जोखिम कायमै रहनेछ ।




सुनचाँदीको मूल्यमा भारि गिरावट

Nov 20, 2026 10:45 AM

मंसिर ४ गते, शुक्रबार नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्यमा भारि गिरावट भएको छ। यसदिन सुन प्रतितोला १२ हजार २०० रुपैयाँ र चाँदी तोलाको २२५ रुपैयाँले घटेको हो ।