मंगलवार प्रतिनिधि सभाअन्तर्गतको अर्थ समितिमा ‘अर्थ सम्बन्धी केही नेपाल कानूनलाई संशोधन र खारेज गर्ने विधेयक, २०८३’ माथिको दफावार छलफलका क्रममा उनले भारत भ्रमणबाट फर्केका अर्थमन्त्रीसँग नेपालको दीर्घकालीन विकास रणनीतिबारे प्रश्न गरेका हुन् । भारतले सन् २०४७ सम्म विकसित राष्ट्र बन्ने लक्ष्यसहित विस्तृत कार्ययोजना तयार गरेको उल्लेख गर्दै कँडेलले नेपालले अघि सारेको ‘समुन्नत नेपाल’ को अवधारणाको आधार र कार्यान्वयन योजना कहाँ छ भन्ने प्रश्न गरे ।
उनले राष्ट्रिय योजना आयोगसँग समेत यसबारे बुझ्दा ‘समुन्नत नेपाल’ सम्बन्धी नयाँ दस्तावेज नरहेको जानकारी पाएको बताए । यसअघि सरकारले अघि सारेको ‘समृद्ध नेपाल, सुखी नेपाली’ को अवधारणा १५ औँ र १६ औँ योजनामा समेटिएको उल्लेख गर्दै उनले त्यसलाई छाडेर नयाँ अवधारणा अघि सार्नुको औचित्यबारे स्पष्ट पार्न आग्रह गरे । कँडेलले भारत भ्रमणका क्रममा भएका सहमति तथा छलफलका विषयमा पनि अर्थमन्त्रीसँग जवाफ मागे ।
भैरहवा विमानस्थलका लागि दोहोरो हवाई रुट उपलब्ध गराउने विषयलाई सकारात्मक रूपमा लिँदै उनले भारतीय सञ्चारमाध्यममा आएको नेपालको १५० किलोमिटर भूमि भारतले किनेको भन्ने समाचारको सत्यताबारे स्पष्ट पार्न आग्रह गरे। त्यस्तै, बागडोगरा विमानस्थलसँग सम्बन्धित विषयमा भइरहेको चर्चाबारे पनि सरकारको धारणा माग गरे । उनले सुनकोशी–सप्तकोसी आयोजना र यसअघि चर्चामा रहेको सुनकोसी–कमला डाइभर्सन आयोजनाबीचको सम्बन्धबारे समेत अर्थमन्त्रीसँग स्पष्ट पार्न आग्रह गरे । भारतसँगको १८४ अर्ब रुपैयाँ ऋणको विषयमा त्यसको अवधि, ब्याजदर र भुक्तानीका शर्तबारे जानकारी माग गरे । भारतीय रुपैयाँमै भुक्तानी गर्ने व्यवस्थालाई सकारात्मक रूपमा लिँदै उनले ऋणको वित्तीय पक्षबारे विस्तृत जानकारी आवश्यक रहेको बताए ।
उनले भने, ‘अर्थमन्त्रीज्यू भारत भ्रमण सम्पन्न गरी फर्किनुभएको छ । भ्रमणका समग्र उपलब्धिबारे विस्तृत जानकारी आउन बाँकी भएपनि केही महत्वपूर्ण विषयमा स्पष्टता चाहन्छु । पहिलो, भैरहवाका लागि दोहोरो हवाई रुट प्राप्त भएको विषय सकारात्मक छ। तर भारतीय सञ्चारमाध्यममा भारतले नेपालको १५० किलोमिटर भूमि खरिद गरेको भन्ने समाचार आएको छ । यसको वास्तविकता के हो ? साथै, बागडोगरा विमानस्थलसँग सम्बन्धित विषयमा पनि स्पष्ट पारिदिनुहुन अनुरोध गर्दछु । दोस्रो, सुनकोशी–सप्तकोसी आयोजना र हामीले छलफल गर्दै आएको सुनकोशी–कमला डाइभर्सन आयोजना एउटै हुन् वा फरक हुन् ? यसबारे स्पष्ट जानकारी चाहन्छु । तेस्रो, विकसित भारत र समुन्नत नेपालको साझा भिजनको कुरा आएको छ । भारतले सन् २०४७ सम्म विकसित भारत बनाउने विस्तृत कार्ययोजना बनाएको छ । तर नेपालको समुन्नत नेपालसम्बन्धी स्पष्ट दस्तावेज र कार्ययोजना देखिएको छैन । हामीसँग पहिले नै १५ औँ योजनामा अघि सारिएको समृद्ध नेपाल, सुखी नेपालीको दीर्घकालीन सोच छ, जसलाई १६औँ योजनाले पनि निरन्तरता दिएको छ । त्यसैले नयाँ अवधारणाको स्पष्ट कार्ययोजना के हो र यसले हाम्रो विद्यमान राष्ट्रिय लक्ष्यसँग कसरी तादात्म्य राख्छ भन्ने स्पष्ट हुनुपर्छ । भारतबाट प्राप्त भनिएको १८४ अर्ब रुपैयाँ ऋणको ब्याजदर, भुक्तानी अवधि र अन्य सर्तहरू के–के हुन् ? भारतीय रुपैयाँमै भुक्तानी गर्ने व्यवस्था सकारात्मक भए पनि ऋणका समग्र सर्तबारे स्पष्ट जानकारी चाहन्छु । यी विषयमा माननीय अर्थमन्त्रीज्यूबाट स्पष्ट जवाफको अपेक्षा गर्दछु ।’
भारत भ्रमणका क्रममा भएका विषयमा आधिकारिक जानकारी र सञ्चारमाध्यममा आएका समाचारबीच फरक हुनसक्ने उल्लेख गर्दै कँडेलले अर्थमन्त्रीबाट वास्तविक अवस्था स्पष्ट हुने अपेक्षा व्यक्त गरे ।