सुवास निरौला
विमानभित्र राष्ट्रिय पोसाकमा सजिएर उभिएका तीन प्रमुख पात्र— प्रधानमन्त्री बालेन्द्र शाह, अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनाल। प्रधानमन्त्री शाहले आफ्नो सामाजिक सञ्जालमा उक्त तस्बिर सार्वजनिक गर्दै क्याप्सन लेखे—‘देश उभो लाउने टोली ! निक्कै मिहिनेती मान्छेहरु!’
सामाजिक सञ्जालमा यो तस्बिरले व्यापक चर्चा र हजारौँ ‘रियाक्सन’ पायो। जनस्तरमा आशा र उत्साहको लहर देखिनु स्वाभाविक थियो, किनकि मुलुक लामो समयदेखि राजनीतिक अस्थिरता, सुशासनको अभाव र आर्थिक शिथिलताको दुष्चक्रमा फसेको थियो। तर, भावना र राजनीतिक भाष्यभन्दा अर्थतन्त्रको विज्ञान नितान्त फरक हुन्छ। अर्थतन्त्र प्रचारबाजी वा सामाजिक सञ्जालका ‘भाइरल’ तस्बिरले होइन, बजारमा देखिने उत्पादन, रोजगारी, नागरिकको क्रयशक्ति, सरकारी खर्चको गुणस्तर र लगानीको वातावरणले निर्देशित गर्छ।

नयाँ सरकारले सत्ता सम्हालेको आठ महिना पुगेको छ। अर्थ मन्त्रालयको कमान्ड लामो समयदेखि अन्तर्राष्ट्रिय विकास अर्थतन्त्र र नीति निर्माणमा दखल राख्ने डा. स्वर्णिम वाग्लेको हातमा छ भने आर्थिक कूटनीतिको संयोजन परराष्ट्रमन्त्री शिशिर खनालले गरिरहेका छन्। त्यस्तै, कार्यकारी नेतृत्वमा लोकप्रिय प्रधानमन्त्री शाह स्वयं छन्। यस्तो पृष्ठभूमिमा प्रश्न उठ्नु स्वाभाविक छ— के तथ्यांकहरूले साँच्चिकै देश उभो लागिरहेको पुष्टि गर्छन् ? भाषण, सम्झौता र प्रतिबद्धतालाई थाती राखेर कार्यभार सम्हाल्नुअघि र पछिका प्रमुख आर्थिक सूचकहरूको तुलनात्मक विश्लेषण गर्दा अर्थतन्त्र सुधारको मार्गमा छ कि पुरानै संरचनागत समस्याको गोलचक्करमा? यो बुझ्न सरकारको आठमहिने आर्थिक कार्यसम्पादनको तथ्यपरक रिपोर्ट कार्ड हेर्नु आवश्यक हुन्छ।
बाह्य क्षेत्र : विरासतको सहजता कि नयाँ सरकारको जादु?
सरकार पक्षबाट बाह्य क्षेत्रमा हासिल भएका सूचकहरूलाई सबैभन्दा ठूलो उपलब्धिका रूपमा प्रस्तुत गर्ने गरिएको छ। विदेशी मुद्रा सञ्चिति, शोधनान्तर बचत र विप्रेषण आप्रवाहको वर्तमान आँकडा हेर्दा बाह्य क्षेत्र निकै सुविधाजनक अवस्थामा देखिन्छ। तर, तथ्यांकको गहिराइमा पुग्दा यो नयाँ सरकारको नीतिको जादु नभई अघिल्लो सरकारकै पालादेखि सुरु भएको बाह्य अनुकूलताको निरन्तरता मात्र भएको स्पष्ट हुन्छ।
नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार, नयाँ सरकार गठन हुनुअघि (मध्य मार्च २०२६ सम्म) नै नेपालको विदेशी मुद्रा सञ्चिति २३ अर्ब ८ करोड अमेरिकी डलर पुगिसकेको थियो। उक्त सञ्चितिले १८.५ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त थियो। त्यतिबेला शोधनान्तर बचत ६ खर्ब ५८ अर्ब ३५ करोड र चालु खाता बचत ५ खर्ब ५२ अर्ब ८५ करोड रुपैयाँ थियो। विप्रेषण आप्रवाह ३७.७ प्रतिशतले बढेर १४ खर्ब ४९ अर्ब ६५ करोड रुपैयाँ नाघेको थियो।
अर्थात्, नयाँ सरकारले जिम्मेवारी सम्हाल्दा मुलुकको बाह्य क्षेत्र पहिले नै मजबुत र सुरक्षित थियो। सरकार गठनपछिको आठ महिनामा (मध्य अक्टोबर २०२६ सम्म) विदेशी मुद्रा सञ्चिति बढेर २७ अर्ब ३९ करोड अमेरिकी डलर (करिब ४१ खर्ब ६१ अर्ब रुपैयाँ) पुगेको पक्कै हो। तर, सञ्चितिको आकार बढे पनि आयात धान्ने क्षमता भने १८.५ महिनाबाट घटेर १७.२ महिनामा झरेको छ। यसले के देखाउँछ भने, आयातको दायरा फराकिलो बन्दै जाँदा र बाह्य भुक्तानीको चाप बढ्दै जाँदा सञ्चितिको गुणस्तर र पर्याप्तता सूचकमा संकुचन आएको छ।
चालु आर्थिक वर्षको पहिलो तीन महिनामा विप्रेषण आप्रवाह ५ खर्ब ५० अर्ब रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा करिब ४ खर्ब ७ अर्ब रुपैयाँ थियो। त्यसैगरी चालु खाता बचत २ खर्ब ३८ अर्बबाट बढेर २ खर्ब ७९ अर्ब पुगेको छ। यो वृद्धि नेपाली श्रमिकले विदेशमा बगाएको पसिना र अन्तर्राष्ट्रिय विनिमय दरमा आएको उतारचढावको प्रतिफल हो। देशभित्रै रोजगारी सिर्जना हुन नसकेर वैदेशिक रोजगारीमा जाने युवाको लर्को कायमै रहँदा बढेको विप्रेषणलाई सरकारको आर्थिक नीतिको सफलता मान्नु आर्थिक दृष्टिकोणले गलत हुन्छ।
महँगीको मार : भान्सा महँगिँदा सर्वसाधारणको ढाड सेकियो
अर्थतन्त्रको वास्तविक अवस्था मन्त्रालयका कोठामा बसेर बनाइने प्रतिवेदनले भन्दा सर्वसाधारणको भान्साले छिटो महसुस गर्छ। यो मोर्चामा सरकार पूर्ण रूपमा असफल देखिएको छ।
राष्ट्र बैंकको पछिल्लो प्रतिवेदन अनुसार, मध्य अक्टोबर २०२६ मा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति (महँगी) ६.३७ प्रतिशत पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रास्फीति १.४७ प्रतिशतको न्यून विन्दुमा थियो। नयाँ सरकार गठन हुनुअघि मध्य मार्चमा मुद्रास्फीति ३.६२ प्रतिशत थियो। आठ महिनाको अन्तरालमा महँगी झन्डै दोब्बरले उकालो लागेको छ।
अझ डरलाग्दो पक्ष खाद्य तथा पेय पदार्थ समूहको मूल्यवृद्धि हो, जुन ८.०४ प्रतिशत पुगेको छ। चामल, दाल, तेल, तरकारी र फलफूलजस्ता आधारभूत उपभोग्य वस्तुको मूल्य आकासिँदा न्यून तथा मध्यम वर्गीय परिवारको वास्तविक आय घटेको छ। बजार अनुगमन, आपूर्ति व्यवस्थापन र मूल्य नियन्त्रणमा सरकारको उपस्थिति कतै देखिएको छैन। बैंकमा ब्याजदर घटे पनि उपभोग्य कर्जा र उत्पादनमूलक कर्जा प्रवाह हुन नसकेको अवस्थामा महँगी बढ्नुले अर्थतन्त्र 'स्ट्यागफ्लेसन' (आर्थिक शिथिलताका बीच उच्च महँगी) तर्फ उन्मुख त भइरहेको छैन भन्ने गम्भीर प्रश्न जन्माउछ। के यसलाई उभो लाग्दै गरेको भन्न मिल्दैन।
राजस्व संकलन : सुधारको संकेत, तर संरचनागत समस्या यथावत्
सरकारी वित्तको पाटोमा केही सकारात्मक सुधार भने देखिएको छ। सरकार गठन हुनुअघि आर्थिक वर्ष २०८२/८३ को पहिलो आठ महिनामा कुल राजस्व संकलन ७ खर्ब ४७ अर्ब २८ करोड रुपैयाँ मात्र थियो, जसको वार्षिक वृद्धिदर ३.७ प्रतिशतमा सीमित थियो। तर, डा. स्वर्णिम वाग्लेले अर्थ मन्त्रालय सम्हालेपछिको पहिलो तीन महिनामा राजस्व संकलन २ खर्ब ९८ अर्ब ६१ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा २ खर्ब ४९ अर्ब ५ करोड रुपैयाँ संकलन भएको तुलनामा यो १९.९ प्रतिशतको सन्तोषजनक वृद्धि हो। मूल्य अभिवृद्धि कर (भ्याट), भन्सार महसुल र अन्तःशुल्क संकलनमा चुहावट नियन्त्रणका केही प्रयासले राजस्व बढाउन मद्दत गरेको देखिन्छ।
यद्यपि, राजस्व संकलन बढ्नु मात्रै आन्तरिक अर्थतन्त्र चलायमान भएको प्रमाण हुन सक्दैन। नेपालको राजस्व अझै पनि आयातमा अत्यधिक निर्भर छ। बजारमा आन्तरिक उत्पादन, उद्योगहरूको क्षमता विस्तार र नयाँ उद्यमशीलताबाट राजस्व उठेको हो कि उपभोग्य वस्तुको आयात बढ्दा भन्सार विन्दुमा राजस्व उठेको हो भन्ने पक्ष महत्त्वपूर्ण हुन्छ। नेपालको विद्यमान कर संरचनामा देखिएको आयात-निर्भरतालाई तोड्ने कुनै ठोस नीतिगत हस्तक्षेप आठ महिनामा देखिन सकेको छैन।
पूँजीगत खर्च : पुरानै रोग दोहोरिँदा विकास ठप्प
नेपालको सार्वजनिक वित्त व्यवस्थापनको सबैभन्दा ठूलो क्यान्सर ‘पूँजीगत खर्च’ हुन नसक्नु हो। नयाँ सरकार आउँदा अर्थतन्त्रका जानकार अर्थमन्त्री भएकाले यो रोगको शल्यक्रिया हुने धेरैको अपेक्षा थियो। तर, व्यवहारमा अवस्था उस्तै निराशाजनक छ।
सरकार गठन हुनुअघि आठ महिनामा पूँजीगत खर्च विनियोजित बजेटको जम्मा १९.२४ प्रतिशत (७८ अर्ब ४९ करोड रुपैयाँ) मात्र भएको थियो। नयाँ सरकार आएपछि पनि विकास खर्चको गतिमा कुनै गुणात्मक फड्को मार्न सकिएको छैन। चालु आर्थिक वर्षको पहिलो त्रैमास बितिसक्दा पनि विकास बजेट खर्चको अवस्था विगतकै जस्तो सुस्त छ।
ठेक्का प्रक्रियाको ढिलासुस्ती, मुआब्जा विवाद, वन तथा वातावरणीय स्वीकृतिका झन्झट र मन्त्रालयहरूबीचको समन्वय अभाव पुरानै शैलीमा कायम छन्। सरकारले उठाएको राजस्व राज्यको ढुकुटी वा बैंक खातामा थन्किने तर पूर्वाधार निर्माणमा खर्च नहुने प्रवृत्तिले बजारमा तरलता भए पनि निर्माण क्षेत्र, सिमेन्ट-छड उद्योग र श्रम बजार पूर्ण रूपमा ठप्प प्रायः छन्। पूँजीगत खर्च बढाउन नसक्नु ‘देश उभो लाउने टोली’को सबैभन्दा कमजोर कार्यसम्पादन कडी साबित हुन्छ।
लगानी र औद्योगिक वातावरण : प्रतिबद्धताको कागज, लगानीमा खडेरी
अर्थतन्त्र उभो लाग्नका लागि निजी क्षेत्रको आत्मविश्वास र वैदेशिक प्रत्यक्ष लगानी (FDI) अनिवार्य पूर्वसर्त हुन्। उद्योग विभागको चालु आर्थिक वर्षको कात्तिकसम्मको चारमहिने प्रतिवेदनले देखाएको तथ्यांक बाहिरबाट हेर्दा आकर्षक देखिए पनि भित्री यथार्थ फरक छ।
चार महिनामा ४९७ परियोजनाका लागि १९ अर्ब ५५ करोड २८ लाख रुपैयाँ बराबरको वैदेशिक लगानी स्वीकृत भएको छ र यसबाट ६ हजार २०१ जनालाई रोजगारी दिने प्रतिबद्धता जनाइएको छ। यसमध्ये पर्यटन क्षेत्रमा ८ अर्ब ६६ करोड र ऊर्जामा ४ अर्ब ५ करोड रुपैयाँको प्रस्ताव छ। परियोजना संख्याका आधारमा सूचना प्रविधि (IT) क्षेत्रमा २७२ वटा साना परियोजना दर्ता भएका छन्।
तर, आर्थिक पत्रकारिताको आधारभूत मान्यता के हो भने—‘प्रतिबद्धता’ र ‘वास्तविक प्राप्ति’ एउटै होइनन्। नेपालमा उद्योग विभागमार्फत स्वीकृत हुने विदेशी लगानीको मुश्किलले ३० देखि ३५ प्रतिशत रकम मात्र वास्तविक रूपमा भित्रिने गरेको ऐतिहासिक कटु सत्य छ। कम्पनी दर्ता हुनु वा लगानीको आशय देखाइनुले मात्रै अर्थतन्त्रमा पूँजी निर्माण हुँदैन।
अझ गम्भीर कुरा, विभागको अघिल्लो वर्ष र चालु वर्षको मासिक लगानी प्रतिबद्धताको तुलनात्मक ग्राफ हेर्दा अघिल्लो वर्षका सुरुवाती महिनाहरूको तुलनामा चालु वर्षको वृद्धिदरमा कुनै उत्साहजनक छलाङ देखिँदैन। देशभित्र उद्योगी-व्यवसायीहरूको मनोबल अझै खस्किएको छ, बैंकहरूमा खर्बौं रुपैयाँ लगानीयोग्य रकम थुप्रिए पनि निजी क्षेत्र कर्जा लिन तयार छैन।
आर्थिक वृद्धि र कूटनीति : समझदारीका पाना कि वास्तविक उपलब्धि?
समग्र आर्थिक वृद्धिको प्रक्षेपणले पनि सरकारको गतिलाई उत्साही बनाउँदैन। नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/८३ को आर्थिक वृद्धिदर ३.८५ प्रतिशतमा सीमित हुने अनुमान गरेको छ, जब कि अघिल्लो आर्थिक वर्षमा यो ४.४३ प्रतिशत थियो। नयाँ सरकारले अर्थतन्त्रलाई गतिशील बनाएर ६-७ प्रतिशतको आर्थिक वृद्धिको बाटो समात्न सक्ने कुनै स्पष्ट आधार अहिलेसम्म तयार पार्न सकेको छैन।
अर्कोतर्फ, परराष्ट्रमन्त्री शिशिर खनालको कूटनीतिक सक्रियता र भारतसँग ऊर्जा, पारवहन, नयाँ हवाई प्रवेशमार्ग तथा पूर्वाधार सहुलियत ऋणसम्बन्धी भएका पछिल्ला सहमतिहरू सकारात्मक पहल हुन्। तर, कूटनीतिक समझदारी (MoU) मा हस्ताक्षर हुनु र त्यसबाट देशको अर्थतन्त्रमा वास्तविक लाभ भित्रिनु बीच लामो प्रक्रियागत दूरी हुन्छ। विगत तीन दशकमा भएका दर्जनौँ यस्ता द्विपक्षीय सम्झौताहरू कार्यान्वयनको अभावमा थन्किएका छन्। बन्दरगाह पहुँचको लागत घट्नु, विद्युत् व्यापारको दीर्घकालीन सम्झौता कार्यान्वयन भएर नगद प्रवाह हुनु र हवाई रुटबाट प्रत्यक्ष उड्डयन लाभ प्राप्त नहुन्जेलसम्म यस्ता कूटनीतिक पहलहरूलाई सरकारको आर्थिक उपलब्धिको खातामा जोड्न हतार हुनेछ।
तस्बिरको मोहभंग र आगामी अग्निपरीक्षा
प्रधानमन्त्री बालेन्द्र शाहको राजनीतिक नेतृत्व, डा. स्वर्णिम वाग्लेको प्राज्ञिक-आर्थिक दक्षता र शिशिर खनालको कूटनीतिक पृष्ठभूमि कागजमा एउटा ‘ड्रिम टिम’ जस्तो देखिन्छ। जनताले उनीहरूबाट उच्च आशा राख्नु पनि अस्वाभाविक थिएन। तर, आठ महिनाको वस्तुनिष्ठ रिपोर्ट कार्डले के देखाउँछ भने— सरकारको कार्यसम्पादन पुरानै आर्थिक यथास्थितिको निरन्तरताभन्दा माथि उठ्न सकेको छैन।
बाह्य क्षेत्रको सहजता पूर्ववर्ती सरकारकै अनुकूलताको देन हो, जसको जग रेमिट्यान्समा निर्भर छ। तर, सरकारको वास्तविक नियन्त्रण रहने आन्तरिक अर्थतन्त्र— महँगी नियन्त्रण, पूँजीगत खर्च, रोजगारी सिर्जना, औद्योगिक उत्पादन र निजी क्षेत्रको मनोबल— यी सबै मोर्चामा सरकार रक्षात्मक अवस्थामा छ।
मुलुक उभो लाग्ने कुरा सामाजिक सञ्जालका आकर्षक तस्बिर, भावनात्मक क्याप्सन वा मन्त्रीहरूका बौद्धिक अभिव्यक्तिले निर्धारण गर्दैन। यसका लागि किसानले समयमा मल र बीउ पाउनुपर्छ, उद्योगीले निर्धक्क लगानी गर्ने वातावरण बन्नुपर्छ, विकास बजेट समयमै खर्च भएर बाटोघाटो बन्नुपर्छ र आम नागरिकको भान्सा सस्तो हुनुपर्छ।
सरकार गठन भएकाे आठ महिना पुगेकाे छ। अबको समय ‘देश उभो लाउने टोली’का लागि सामाजिक सञ्जालमा तस्बिर पोस्ट गर्ने होइन, अर्थतन्त्रका यी निर्मम तथ्यांकहरूलाई सुधारेर नतिजा देखाउने वास्तविक अग्निपरीक्षाको समय हो। अन्यथा, इतिहासले अर्को एउटा तथ्य दर्ता गर्नेछ— अर्थतन्त्र भाषण र तस्बिरले चल्दैन, परिणामले मात्र चल्छ।