मंसिर लागेयता मात्रै नभई समग्र कात्तिक महिनादेखि नै सुनको मूल्य निरन्तर ओरालो लागिरहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले (मंसिर ९ गते, बुधबार)का लागि छापावाल सुनको मूल्य प्रतितोला २ लाख ४१ हजार ४०० रुपैयाँ निर्धारण गरेको थियाे। यो मूल्य अघिल्लो कारोबार दिन (मंसिर ८ गते, मंगलबार) को प्रतितोला २ लाख ४७ हजार ९०० रुपैयाँको तुलनामा एकैदिन ६ हजार ५०० रुपैयाँले कम हो।
कात्तिकदेखि नै मूल्यमा भारी गिरावट : तोलामै ४८ हजारभन्दा बढी सस्तियो
तथ्याङ्कअनुसार स्थानीय बजारमा कात्तिकको सुरुवातदेखि नै सुनको मूल्य निरन्तर घट्दो क्रममा देखिएको छ। चालु आर्थिक वर्षको कात्तिक १ गते प्रतितोला २ लाख ८९ हजार ७०० रुपैयाँमा कारोबार भएको सुन कात्तिक २ गते बढेर २ लाख ९० हजार २०० रुपैयाँ पुगेको थियो। कात्तिक १ गतेको मूल्यसँग (मंसिर ९ गते) को मूल्य तुलना गर्दा सुन प्रतितोला ४८ हजार ३०० रुपैयाँले सस्तिएको छ। त्यस्तै, कात्तिक २ गते कायम भएको २ लाख ९० हजार २०० रुपैयाँको उच्च विन्दुबाट हेर्दा सुनको मूल्यमा प्रतितोला ४८ हजार ८०० रुपैयाँको भारी गिरावट आइसकेको छ।
अझ मंसिर महिना लागेपछि मात्रै पनि मूल्यमा तीव्र संकुचन आएको छ। मंसिर १ गते प्रतितोला २ लाख ६७ हजार २०० रुपैयाँ रहेको सुन ९ दिनको अन्तरालमै २५ हजार ८०० रुपैयाँले घटिसकेको छ। मंसिर ४ गते २ लाख ४५ हजार ४००, मंसिर ६ गते २ लाख ४२ हजार ६०० रुपैयाँ हुँदै मंसिर ७ र ८ गते सामान्य बढे पनि पुनः ओरालो लागेर २ लाख ४१ हजार ४०० रुपैयाँमा झरेको हो।
विवाहको सिजन र मूल्य गिरावटले दैनिक २० किलोसम्म माग
तिहार र छठ पर्व सकिएलगत्तै मंसिर महिनासँगै लगन सुरु हुनु र अर्कोतर्फ अन्तर्राष्ट्रिय बजारको प्रभावले स्थानीय बजारमा मूल्य उच्च दरमा घट्नुले मागमा अप्रत्याशित उछाल ल्याएको छ। मूल्य सस्तिएको मौका पारेर तत्काल विवाह हुनेहरू मात्र नभई पछि विवाहको योजना बनाएका उपभोक्ताहरूले समेत अग्रिम रूपमा सुनका गहना बनाउन थालेका छन्।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष अर्जुन रसाइलीले बजारमा सुनको माग अत्यधिक बढेको बताएका छन्। "अहिले बैंकहरूले ल्याएको सुनको डिमान्ड व्यवसायीहरूबाट अत्यधिक आइरहेको छ, त्यसैले बजारमा बिक्री ह्वात्तै बढेको मान्नुपर्छ," अध्यक्ष रसाइलीले भने, "तिहार सकियो, सुनको भाउ पनि ठ्याक्कै घट्यो। नेपालीहरूको बानी सस्तो हुँदा पहिल्यै जोहो गर्ने भएकाले विवाह पछि हुनेहरूले पनि अहिले नै गहना बनाउन थालेका छन्।" उनका अनुसार हाल बजारमा दैनिक १५ देखि २० किलो सुनको वास्तविक बिक्री भइरहेको छ। पछिल्लो आठ दिनमा बैंकहरूले ल्याएको करिब ३०० किलो सुन व्यवसायीहरूले तत्काल उठाएका छन्। "आठ दिनमा आएको ३०० किलो सुन सबै खपत हुनुले दैनिक माग कति तीव्र छ भन्ने प्रस्ट पार्छ," उनले भने।
व्यवसायीको जोखिम र ५० किलोको कोटा पुर्याउन आग्रह
मूल्य लगातार घट्दा व्यवसायीहरूलाई पुरानो स्टकमा घाटा हुने जोखिम रहे तापनि त्यसलाई पूर्ति गर्न नयाँ सस्तो सुनको कारोबार बढाउनुपर्ने बाध्यता छ। "व्यवसायीलाई पुरानो सुनमा घाटा त हुन्छ नै, तर नयाँ सुन किनेर त्यसैबाट घाटा रिकभर गर्ने हो," अध्यक्ष रसाइलीले स्पष्ट पारे, "त्यसका लागि व्यवसायीले जति बेच्छन्, त्यति नै नयाँ सुन किन्न पाउनुपर्छ।"
यसअघि बजारमा सुन नबिकेपछि बैंकहरू डराएर दैनिक २५ किलोको दरले मात्र आपूर्ति गरिरहेका थिए। तर, अहिलेको मागलाई २५ किलोले धान्न नसकेपछि (मंगलबार) मात्रै बैंकर्स संघलाई पुरानै दरमा ५० किलो सुन ल्याउन आग्रह गरिएको उनले बताए। "पहिले सुन नउठेपछि बैंकहरूले २५ किलो मात्र ल्याइरहेका थिए, तर अबको चाप धान्न ५० किलो ल्याउनुपर्छ भनेर हामीले अनुरोध गरेका छौँ," उनले थपे।
चार महिनामा २११ किलो मात्रै आयात : अघिल्लो वर्षभन्दा ७६ प्रतिशत कम
बजारमा अहिले मागको तीव्र चाप देखिए पनि चालु आर्थिक वर्षको पहिलो चार महिनामा भने सुनको औपचारिक आयात निकै दयनीय अवस्थामा रहेको भन्सार विभागको तथ्याङ्कले देखाएको छ। भन्सार विभागका अनुसार चालु आर्थिक वर्ष २०८३/८४ को साउनदेखि कात्तिक मसान्तसम्म कुल २११ किलो मात्र सुन आयात भएको छ, जसको मूल्य ४ अर्ब २२ करोड ८८ लाख रुपैयाँ रहेको छ।
गत आर्थिक वर्ष २०८२/८३ को सोही अवधिमा भने ९०२ किलो सुन आयात भएको थियो। यस हिसाबले चालु वर्षको पहिलो चार महिनामा सुन आयात ७६.६ प्रतिशतले घटेको थियो। सुरुवाती महिनाहरूमा मूल्य उच्च हुनु र उपभोक्ताको क्रयशक्ति कमजोर हुँदा आयात सुस्त रहे पनि मंसिर लागेपछि भने आयातको स्थिति फेरिएको छ।
बैंकर्स संघको भनाइ : मंसिरमा आपूर्ति तीव्र, १०० किलो बाटोमा
यता, नेपाल बैंकर्स संघले भने बजारको मागअनुसार नै सुनको आयात भइरहेको जनाएको छ। बैंकर्स संघकी एक अधिकारीका अनुसार साउनदेखि मंसिर ४ गतेसम्म कुल २७६ किलो सुन भित्रिइसकेको छ।
मंसिर लागेयता मात्रै बैंकहरूले १०० किलो सुन ल्याइसकेका छन् भने थप १०० किलो सुन आजभोलिमै नेपाल आइपुग्ने प्रक्रियामा छ। "आयात गर्न मिल्ने दैनिक कोटा २५ किलो भए पनि सधैँ लजिस्टिक झन्झट हुने भएकाले बैंकहरूले एकैपटक ५० किलो मगाउने गर्छन्, "संघकी ती अधिकारीले बताइन्, "हामीले बागमती प्रदेशभित्र ५० किलो र बागमतीबाहिर ५० किलो गरी १०० किलो सुन मगाइरहेका छौँ, थप १०० किलो पनि छिट्टै आउँदै छ।"
अहिले दैनिक २५ किलोको आयात दरलाई निरन्तरता दिँदै बजारको आवश्यकताअनुसार आपूर्ति व्यवस्था मिलाइएको बैंकर्स संघको भनाइ छ। यद्यपि, लगनको समयमा बजारमा कृत्रिम अभाव हुन नदिन र कालोबजारी वा अवैध सुनको कारोबार रोक्न केन्द्रीय बैंक तथा वाणिज्य बैंकहरूले कोटा प्रणालीलाई अझ लचिलो बनाउनुपर्ने माग व्यवसायीहरूले गरेका छन्।