दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Nov 26, 2026 05:55 AM Merolagani



मंसिर १० गते, बिहीबार, दुई कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। यस दिन एनएमबि बैंक र ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ यी कम्पनीहरुले भोली अर्थात मंसिर ११ गते बुकक्लोज गर्दैछन्। यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

एनएमबि बैंक लिमिटेड (NMB) ले मंसिर २५ गते, शुक्रबार, ३१ औँ वार्षिक साधारण सभा डाकेको छ।

सभाले हाल कायम चुक्ता पूँजीको ७ प्रतिशत (कर प्रयोजनार्थसहित) का दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। यसका साथै सभाले एनएमबि अविमोच्य असञ्चिति अग्राधिकार शेयरका लागि ८.२५ प्रतिशतका दरले नगद लाभांश (कर सहित) वितरण गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

त्यस्तै, ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था GILB) ले मंसिर २३ गते, बुधबार, आईएमई हस्पिटालिटी प्रा.लि.,स्ट्रीट नं. ३, लेकसाइड, पोखरा, कास्कीमा १४ औँ वार्षिक साधारण सभा डाकेको छ। सो सभा बिहान ९ बजे शुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको ६ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थसहित ३.५० प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। त्यस्तै, सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, सञ्चालक समितिमा सर्वसाधारण शेयरधनी समूहबाट प्रतिनिधित्व गर्ने २ जना सञ्चालकहरुको निर्वाचन गर्ने, स्वतन्त्र सञ्चालकको नियुक्ति अनुमोदन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।