होटल संघ नेपाल (हान) को संयोजनमा नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाटा), ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) लगायतका प्रमुख पर्यटन संस्थाहरूले भारतीय पर्यटकलाई लक्षित गरी ‘एकीकृत बहुगन्तव्यीय भ्रमण प्याकेज’ (मल्टी-डेस्टिनेसन टुर प्याकेज) निर्माणको काम सुरु गरेका छन्।
जानकी दर्शनपछि काठमाडौं, पोखरा र मुक्तिनाथ यात्रा
भारत भ्रमण दलमा सहभागी हानका अध्यक्ष विनायक शाहका अनुसार जनकपुर प्रवेश गर्ने पर्यटकको बसाइ लम्ब्याउनु र उनीहरूको प्रतिव्यक्ति खर्च बढाउनु अहिलेको मुख्य आवश्यकता हो।
"जानकी मन्दिरको दर्शन र पूजाआजा एक वा दुई घण्टामा सकिन सक्छ। त्यसपछि के त ? उहाँहरूलाई जनकपुरबाट काठमाडौं ल्याउनु पर्यो, पोखरा, मुक्तिनाथ, लुम्बिनी र चितवनसम्म लैजान सक्नुपर्यो," अध्यक्ष शाहले भने, "धार्मिक भावनाले नेपाल आउने पर्यटकलाई प्राकृतिक तथा साहसिक पर्यटनसँग जोड्ने गरी भ्रमणबाट फर्किएलगत्तै हामीले प्याकेज निर्माणको गृहकार्य अघि बढाएका छौं।"

अयोध्या र जनकपुर जोड्ने ‘सरयू–कमला एक्सप्रेस’ रेल सेवाको उद्घाटन भइसकेको छ। नियमित रूपमा सञ्चालन हुने यो रेल सेवाले ठूलो संख्यामा भारतीय तीर्थालुलाई जनकपुर भित्र्याउने आधार तयार गरेको छ। तर, रेल सेवा सञ्चालन हुनु मात्रै पर्यटन क्षेत्रका लागि पर्याप्त नहुने व्यवसायीहरूको बुझाइ छ। जनकपुर आउने पर्यटकहरू सोही दिन वा भोलिपल्टै भारत फर्किने प्रवृत्ति रहेमा स्थानीय अर्थतन्त्र र राष्ट्रिय पर्यटनले अपेक्षित लाभ लिन सक्दैन। त्यसैले उनीहरूलाई कम्तीमा ५ देखि ७ दिन नेपालमै अड्याउने गरी यातायात, होटल र आन्तरिक उडानलाई जोडेर ‘सर्किट प्याकेज’ बनाउन लागिएको हो।
लखनउ–भैरहवा हवाई रुट : कार्यान्वयन नभई उपलब्धि मान्न हतार
भ्रमणका क्रममा नेपालको पर्यटन क्षेत्रले लामो समयदेखि उठाउँदै आएको भैरहवा–लखनउ हवाई रुटलाई दुईतर्फी बनाउने सहमति भएको छ। हाल एकतर्फी रहेको काठमाडौं–भैरहवा–लखनउ रुटलाई दुवैतर्फबाट सञ्चालन गर्न दिने सहमति संयुक्त वक्तव्यमा समेटिनुलाई व्यवसायीहरूले सकारात्मक रूपमा लिएका छन्।
यस सहमतिले लामो समयदेखि पूर्ण क्षमतामा चल्न नसकेको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र समग्र लुम्बिनी क्षेत्रको पर्यटन प्रवर्द्धनमा नयाँ ऊर्जा थप्ने अपेक्षा छ। यद्यपि, सहमति कागजमा सीमित नरहेर प्राविधिक गाँठो फुकाउनु अहिलको मुख्य चुनौती हो।
अध्यक्ष शाहका अनुसार सहमति हुनु प्रारम्भिक चरण मात्रै हो। "अहिले पनि भैरहवा–लखनउ हवाई रुटमा समझदारी भएको हो। तर त्यहाँ नियमित उडान भएन र विमान अवतरण गरेन भने सहमतिको के अर्थ रहन्छ ?," उनले प्रश्न गरे, "उडान र अवतरणको उचाइ, हवाई क्षेत्र (एयरस्पेस) व्यवस्थापन र व्यावसायिक उडान तालिका जस्ता प्राविधिक विषय टुंग्याउन दुवै देशका नागरिक उड्डयन प्राधिकरण र सरकार सक्रिय हुनैपर्छ।"
क्षमता ३५ लाखको, विमानस्थलको सीमा १२ लाख
पर्यटन व्यवसायीहरूका अनुसार नेपालको पर्यटन प्रवर्द्धनमा प्रमुख बाधक प्रचारप्रसार भन्दा पनि भरपर्दो ‘कनेक्टिभिटी’ (हवाई तथा स्थल यातायात सञ्जाल) बन्दै आएको छ।
निजी क्षेत्रले होटल, रिसोर्ट तथा हस्पिटालिटी पूर्वाधारमा लगानी बढाएर वार्षिक करिब ३५ लाख पर्यटकलाई सेवा दिन सक्ने क्षमता बनाइसकेको दाबी हानको छ। तर, देशको मुख्य प्रवेशद्वार मानिएको काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको वार्षिक क्षमता भने सीमित छ। काठमाडौंले वार्षिक १२ देखि १३ लाखभन्दा बढी बाह्य पर्यटक व्यवस्थापन गर्न नसक्ने भएकाले भैरहवा र पोखरा विमानस्थललाई भारतका प्रमुख सहरहरूसँग हवाई सञ्जालले जोड्नु अपरिहार्य भइसकेको छ।
रामायण, बौद्ध र शिव-शक्ति सर्किटको आर्थिक सम्भावना
भ्रमणका क्रममा दुई देशबीच रामायण सर्किटसँगै बौद्ध तथा शिव–शक्ति सर्किट विकास गर्ने विषय संयुक्त वक्तव्यमा समेटिएको छ। यसले जनकपुर, लुम्बिनी, पशुपतिनाथ, मुक्तिनाथ र वराहक्षेत्र जस्ता नेपालका विशिष्ट धार्मिक गन्तव्यहरूलाई भारतका धार्मिक केन्द्रहरूसँग रणनीतिक रूपमा जोड्ने ढोका खोलेको छ।
शाहले यसपटकको भ्रमणमा राजनीतिक विषयभन्दा आर्थिक र व्यावहारिक एजेन्डाले प्राथमिकता पाएको बताए। "पहिले भ्रमणहरूमा राजनीतिक र सांस्कृतिक विषय धेरै हाबी हुन्थे। यसपालि आर्थिक एजेन्डा, विशेषगरी पर्यटनलाई दुई देशको समृद्धि र जनस्तरको सम्बन्ध विस्तार गर्ने माध्यमका रूपमा गम्भीरतापूर्वक छलफल गरिएको छ," उनले भने।
भारतीय व्यवसायीहरू पनि नेपालसँग मिलेर ‘क्रस-बोर्डर टुरिजम’ विस्तार गर्न उत्सुक देखिएका छन्। व्यवसायीहरूले यसपटक आफ्नै खर्चमा सरकारी प्रतिनिधिमण्डलको अंग बनेर भ्रमण गरेका थिए, जसलाई निजी क्षेत्रले राज्यद्वारा गरिएको सम्मान र साझेदारीको सुखद सुरुवात मानेको छ।