भोलिपल्ट फेरि बढ्यो। त्यसपछि अर्को दिन घट्यो। अनि दुई दिन लगातार उकालो लाग्यो।
यो सामान्य उतारचढाव मात्र थिएन। यसले विश्व सेयर बजारको एउटा पुरानो मान्यतालाई नयाँ पुस्तासामु चर्चित बनाइदियो—Buy the Rumour, Sell the News अर्थात् हल्लामा किन्ने, समाचार सार्वजनिक भएपछि बेच्ने।
विश्वभर चर्चा कमाएको भिडियो गेम Grand Theft Auto VI (GTA-6) ले अहिले सेयर बजारमा यही मनोविज्ञानको जीवन्त उदाहरण प्रस्तुत गरेको छ।
यसको रोचक पक्ष के हो भने गेमले बिक्रीको कीर्तिमान बनायो, तर त्यसको सफलताको अनुमानमा पहिले नै सेयर किनिसकेका केही लगानीकर्ताले वास्तविक बिक्री सुरु भएपछि नाफा सुरक्षित गर्न थाले।
यसले एउटा गम्भीर प्रश्न उठाएको छ, सेयर बजारमा कम्पनीको सफलता महत्त्वपूर्ण हो कि त्यो सफलताबारे लगानीकर्ताले पहिले नै बनाइसकेको अपेक्षा ?
एउटा गेम, अर्बौं डलरको कारोबार र सेयर बजारको अनौठो प्रतिक्रिया
नोभेम्बर १९, २०२६ मा विश्वप्रसिद्ध गेम GTA-6 सार्वजनिक भयो। यसलाई निर्माण गर्ने कम्पनी Rockstar Games हो भने यसको मूल कम्पनी Take-Two Interactive हो। Take-Two को सेयर अमेरिकाको Nasdaq बजारमा TTWO संकेतबाट कारोबार हुन्छ।

नोभेम्बर २० मा कम्पनीले सार्वजनिक गरेको आधिकारिक घोषणाअनुसार GTA-6 ले पहिलो दिनमै ३ अर्ब ७९ करोड अमेरिकी डलरको खुद्रा बिक्री गरेको थियो। सार्वजनिक हुनुअघि नै ३ करोड २५ लाख प्रति बिक्री भएको कम्पनीको दाबी थियो। कम्पनीले यसलाई मनोरञ्जन उद्योगकै इतिहासमा सबैभन्दा ठूलो सार्वजनिक सुरुवातको रूपमा प्रस्तुत गर्यो।
अझ बजार अनुसन्धान संस्था Alinea Analytics ले पहिलो चार दिनमा ४ करोड ४९ लाख प्रति बिक्री भएको र चार अर्ब डलरभन्दा बढी कारोबार भएको अनुमान सार्वजनिक गर्यो। यो दोस्रो तथ्य कम्पनीको आधिकारिक बिक्री विवरण नभई बाह्य अनुसन्धान संस्थाको अनुमान हो।
तर अर्बौं डलरको सफलताभन्दा बढी चर्चा सेयर बजारको प्रतिक्रियाले पायो । गेम सार्वजनिक हुनुअघि सकारात्मक अपेक्षाले बढेको सेयर सार्वजनिक हुने दिन घट्यो। यही घटनालाई वित्तीय सञ्चारमाध्यमले Sell the News को उदाहरणका रूपमा व्याख्या गरे।
नोभेम्बर १३ देखि २५ सम्म Take-Two को सेयरमा भएको उतारचढावले लगानीकर्ताको मनोविज्ञान बुझ्न रोचक आधार दिएको छ। नोभेम्बर १६ र १७ मा सेयर लगातार घट्यो। नोभेम्बर १८ मा गेमको समीक्षा सार्वजनिक भयो। Metacritic मा ९९ अंकसहित अत्यन्त राम्रो समीक्षा आएपछि सेयर ६.२२ प्रतिशत बढ्यो। तर नोभेम्बर १९ मा गेम सार्वजनिक हुँदा सेयर ३.६७ प्रतिशत घट्यो।
नोभेम्बर २० मा सामान्य सुधार देखियो। नोभेम्बर २३ मा फेरि सामान्य गिरावट आयो। त्यसपछि नोभेम्बर २४ र २५ मा क्रमशः ५.२८ र ३.१४ प्रतिशत बढ्यो।
अर्थात् गेम सार्वजनिक भएको दिनको गिरावटपछि पनि बजारले कम्पनीलाई पूर्ण रूपमा अस्वीकार गरेको थिएन। नोभेम्बर २५ सम्मको मूल्य २२७.३४ डलर पुगेको थियो, जुन नोभेम्बर १३ को २२७.८२ डलरको नजिक हो।
यसले देखाउँछ—सेयर बजारमा एउटा घटनाको प्रभाव बुझ्न एक दिनको मूल्य मात्र होइन, घटनाअघिको अपेक्षा र त्यसपछिको कारोबारसमेत अध्ययन गर्नुपर्छ।
स्मरण रहोस ‘Buy the Rumour, Sell the News’ नयाँ सिद्धान्त होइन। सेयर बजारमा लामो समयदेखि प्रयोग हुँदै आएको लगानीसम्बन्धी उक्ति हो। तर GTA-6 को घटनाले यसलाई विश्वव्यापी रूपमा फेरि चर्चामा ल्याएको छ।
यसको आधारभूत मान्यता निकै सरल छ। सेयर बजार भविष्यमा हुने घटनाको मूल्य अहिले नै निर्धारण गर्ने प्रयास गर्छ। कुनै कम्पनीको नाफा बढ्ने, नयाँ उत्पादन सार्वजनिक हुने, लाभांश घोषणा हुने वा सरकारको नीति अनुकूल आउने अपेक्षा बन्यो भने लगानीकर्ताले समाचार आउनुअघि नै सेयर किन्न थाल्छन्। त्यसपछि माग बढ्छ र सेयर मूल्य उकालो लाग्न सक्छ।
तर समाचार सार्वजनिक हुँदा त्यो कुरा बजारले पहिले नै मूल्यमा समावेश गरिसकेको हुन सक्छ। यस्तो अवस्थामा लगानीकर्ताले थप मूल्यवृद्धिको सम्भावना कम देखेर सेयर बेच्न सक्छन्।
यसलाई तीनवटा उदाहरणबाट बुझ्न सकिन्छ।
हल्लादेखि बिक्रीसम्मको बजार मनोविज्ञान
Rumour : अपेक्षा निर्माण
कुनै कम्पनीको सेयर वा नयाँ प्रडक्ट आउँदैछ, करोडौँ प्रति बिक्री हुनेछ र कम्पनीको आम्दानी बढ्नेछ भन्ने अनुमान फैलिन्छ। शेयर खरिद गर्न हतारिन्छन् ।
Expectation : मूल्य बढ्छ
माग बढेपछि कम्पनीको सेयर मूल्यमा भविष्यको सम्भावित सफलता समावेश हुन थाल्छ।
News : वास्तविक घटना
सेयर वा नयाँ प्रडक्ट सार्वजनिक हुन्छ र बिक्रीको तथ्यांक आउन थाल्छ।
Sell : नाफा सुरक्षित
पहिले नै सेयर किनिसकेका लगानीकर्ताले नाफा सुरक्षित गर्न बेच्न सक्छन्। बिक्रीको दबाब आउन सक्छ ।
यसको अर्थ राम्रो समाचार आएपछि सेयर घट्छ भन्ने होइन। समाचारले बजारको अपेक्षा पार गर्यो भने सेयर थप बढ्न पनि सक्छ।
मुख्यकुरा समाचार राम्रो छ कि नराम्रो भन्ने मात्र होइन, त्यो समाचार बजारले पहिल्यै कति अपेक्षा गरेको थियो भन्ने हो।
GTA-6 को घटनामा यो सिद्धान्त कसरी लागू भयो ?
यसलाई बुझ्न तीनवटा महत्त्वपूर्ण घटनालाई जोड्नुपर्छ।
पहिलो : गेम सार्वजनिक हुने अपेक्षा।
GTA-5 को सफलतापछि लगानीकर्ताले नयाँ संस्करणबाट ठूलो आम्दानी हुने अपेक्षा गरेका थिए। गेम सार्वजनिक हुनुअघि नै यसको चर्चा विश्वव्यापी बनेको थियो।
दोस्रो : समीक्षाबाट सकारात्मक संकेत।
नोभेम्बर १८ मा गेमको समीक्षा सार्वजनिक भयो । Metacritic मा ९९ अंक आएपछि लगानीकर्ताले उत्पादनको गुणस्तरबारे सकारात्मक संकेत पाए। त्यही दिन Take-Two को सेयर ६.२२ प्रतिशत बढ्यो।
तेस्रो : वास्तविक बिक्री सुरु।
नोभेम्बर १९ मा गेम सार्वजनिक भयो। त्यही दिन सेयर ३.६७ प्रतिशत घट्यो।
यस घटनाबारे Yahoo Finance मा प्रकाशित विश्लेषणले Mizuho Securities का विश्लेषक Jordan Klein को भनाइ उद्धृत गरेको छ। उनका अनुसार केही हेज फन्डले गेम सार्वजनिक हुने दिन Sell the News को सम्भावनालाई ध्यानमा राखेर कारोबार गरिरहेका थिए।
तर गिरावटको कारण यही मात्र थिएन। त्यही दिन अमेरिकी सेयर बजारसमेत कमजोर थियो। त्यसैले सम्पूर्ण गिरावटलाई GTA-6 को प्रभाव भन्न मिल्दैन।
अर्कोतर्फ, गेम सार्वजनिक हुनुअघिको मूल्यवृद्धिले पनि लगानीकर्ताको अपेक्षा पहिल्यै मूल्यमा समावेश भएको संकेत दिन्छ।
यसरी GTA-6 को घटनाले यो सिद्धान्त बुझाउने राम्रो उदाहरण प्रस्तुत गरेको छ।
एउटा रोचक विरोधाभास : गेमले कमायो, तर लगानीकर्ता सशंकित
GTA-6 को बिक्री सफल हुनु Take-Two का लागि ठूलो उपलब्धि हो । तर लगानीकर्ताले एउटा अर्को प्रश्न उठाइरहेका छन्—यो आम्दानी कति वर्षसम्म कायम रहन्छ ?
कम्पनीले गेम निर्माणमा ठूलो रकम लगानी गरेको छ। त्यसैले बिक्रीबाट आएको कुल रकम नै नाफा होइन। त्यसैगरी पहिलो दिनको बिक्रीले मात्रै भविष्यको आम्दानी निर्धारण गर्दैन।
लगानीकर्ताले अहिले मुख्यतः चारवटा विषय हेरिरहेका छन्।
- GTA Online: गेमको अनलाइन संस्करणबाट नियमित आम्दानी कति हुन्छ?
- PC संस्करण: कम्प्युटर प्रयोगकर्तामाझ विस्तार हुँदा कति नयाँ बिक्री हुन्छ?
- खेलाडीको निरन्तरता: प्रारम्भिक उत्साहपछि पनि कति मानिसले गेम खेलिरहन्छन्?
- कम्पनीको नाफा: उत्पादन, प्रचार, वितरण र अन्य खर्च कटाएपछि कति आम्दानी बाँकी रहन्छ?
Take-Two को वित्तीय विवरणमा पनि लगानीकर्ताको ध्यान यतैतिर छ। कम्पनीले आर्थिक वर्ष २०२७ का लागि ८ अर्बदेखि ८ अर्ब २० करोड डलरसम्म Net Bookings हुने प्रक्षेपण राखेको थियो।
यसैले बजारले GTA-6 को प्रारम्भिक बिक्रीभन्दा पनि आगामी वर्षहरूमा कम्पनीको आम्दानी कस्तो हुन्छ भन्ने प्रश्नको उत्तर खोजिरहेको छ।
इतिहासमा पनि यस्तै भएको थियो : GTA-5 ले दिएको अर्को पाठ
GTA-6 को घटनालाई बुझ्न सन् २०१३ मा सार्वजनिक भएको GTA-5 को सेयर बजार यात्रा पनि महत्त्वपूर्ण छ।
GTA-5 सार्वजनिक भएको दिन सन् २०१३ सेप्टेम्बर १७ मा Take-Two को सेयर करिब दुई प्रतिशत घटेको थियो।
तर भोलिपल्ट कम्पनीले पहिलो दिनमै ८० करोड डलरभन्दा बढीको बिक्री भएको घोषणा गर्यो। सार्वजनिक भएको एक वर्षपछि कम्पनीको सेयर ३२.५ प्रतिशत बढेको थियो।
यसले एउटा महत्त्वपूर्ण तथ्य देखाउँछ—कुनै कम्पनीको उत्पादन सार्वजनिक हुने दिन सेयर घट्दैमा त्यसको भविष्य खराब हुन्छ भन्ने छैन।
कहिलेकाहीँ लगानीकर्ताले समाचारपछि होइन, समाचारको प्रभाव आगामी वर्षहरूमा कसरी देखिन्छ भन्ने आधारमा लगानी गरिरहेका हुन्छन्।