सुवास निरौला
सरकारले आवश्यक कानूनी र नीतिगत प्रबन्ध नै नगरी निजी कम्पनीलाई अन्तरदेशीय तथा आन्तरिक विद्युत व्यापारका लागि आशयपत्र (Letter of Intent - LOI) वितरण गरेको पाइएको छ।
संसदबाट नयाँ विद्युत ऐन पारित नभएको र निजी क्षेत्रलाई व्यापारको इजाजत दिने कुनै स्पष्ट कानूनी आधार नभएको अवस्थामा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले हचुवाको भरमा यस्ता अनुमति बाँडेको हो। कानूनी हैसियतविहीन यस्तो ‘कागजी अनुमति’ लिएर निजी क्षेत्रका प्रवर्द्धकहरू अहिले भारतीय बजारमा विद्युत खरिदकर्ता (बायर) खोज्न धाइरहेका छन्। तर, नेपालकै कानूनले निजी क्षेत्रको व्यापारलाई नचिन्ने भएकाले भारतीय कम्पनीहरूसँग औपचारिक र कानूनी रूपमा बाध्यकारी सम्झौता हुन सकेको छैन।
ऊर्जा मन्त्रालयका सल्लाहकार एवम् स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान) का पूर्वअध्यक्ष गणेश कार्कीले कानूनबिनै निजी क्षेत्रको दबाब थेग्न नसकेर मन्त्रालयले एलओआई बाँडेको स्वीकार गरेका छन्। “विद्युत व्यापारको त एलओआई दियो, तर कानून त छैन,” मन्त्रालयको आन्तरिक तयारी र कार्यशैलीबारे कार्कीले भने, “यो त धेरै कराएकाले जाऊ घुमेर आऊ, बजारमा बेच्न सक्छौ कि सक्दैनौ कुरा गर मात्रै भन्या हो। अहिले त तपाईंसँग एउटा कम्पनी छ र त्यहाँ एप्लाई गर्नुभयो भने दिइहाल्छ।” उनका अनुसार हालसम्म २४ देखि ३० वटा कम्पनीले यस्तो एलओआई लिइसकेका छन्। तर, यसको कुनै कानूनी वैधता नभएकाले हाललाई यो औपचारिकता र अध्ययानका लागि मात्र सीमित छ।
पछि चाहिनेछ १ अर्ब रुपैयाँसम्मको पूँजी, मापदण्ड कडा
अहिले कम्पनी दर्ता गरेर निवेदन दिएकै भरमा मन्त्रालयले एलओआई थमाइदिए पनि भोलि कानूनी ढाँचा बनेपछि अधिकांश कम्पनी प्रतिस्पर्धाबाट बाहिरिने निश्चित देखिएको छ। सरकारले आगामी दिनमा जारी गर्ने ऐन वा कानूनमा विद्युत व्यापारको पूर्ण अनुमतिपत्र (लाइसेन्स) लिनका लागि निकै कडा मापदण्ड राख्ने तयारी गरेको बताइएको छ। “ऐन बनिसकेपछि चाहिँ यति सजिलो दिँदैन,” कार्की स्पष्ट पार्छन्, “किनभने यो त ठूलो पीपीए गर्नुपर्ने कम्पनी होला, बिजुली भोलि बेच्नुपर्ने होला। ५०–६० करोड वा १ अर्ब रुपैयाँको चुक्ता पूँजी भएका कम्पनी होलान्। यति बिजुली बेच्नैपर्ने भनेर ६–७ वटा कडा क्राइटेरिया राख्छ। त्यो पूरा गरेपछि मात्रै फुलफ्लेजमा लाइसेन्स दिन्छ।” यसले गर्दा अहिले झोलामा एलओआई बोकेर हिँडेका अधिकांश कम्पनीहरू वित्तीय क्षमता र प्राविधिक योग्यता नपुगेर स्वतः खारेज हुने वा बाहिरिने जोखिम छ।
भारतीय बजारमा अन्योल, B2B सम्झौताको खोजी
हालै भारत भ्रमणका क्रममा ऊर्जा क्षेत्र र निजी लगानीबारे छलफल भए पनि भारत सरकारले थप परिमाणको बिजुली किन्ने औपचारिक ग्यारेन्टी गरेको छैन। यद्यपि, भारतले आफ्नो ऊर्जा पूर्वाधारमा १८४ अर्ब भारु खर्च गर्ने बजेट विनियोजन गरेकाले प्रसारण पूर्वाधारमा केही आशा भने पलाएको छ।
नेपाल र भारत दुवै देशका निजी क्षेत्रबीच सिधै (Business-to-Business - B2B) व्यापार गर्न भारतीय लगानीकर्ता इच्छुक देखिएका छन्। “सरकार–सरकारले कति हजार किन्ने र बेच्ने भनिरख्नै परेन,” कार्की भन्छन्, “हामी पनि निजी क्षेत्र हौँ, उता पनि निजी क्षेत्रलाई खुला गरेर कानून राम्रोसँग बनाउने हो भने लगानी पनि आउँछ र बिजुली पनि बिक्छ।” तर, नेपालमै कानूनी बाटो नखुल्दासम्म भारतीय क्रेताहरू नेपाली निजी कम्पनीसँग दीर्घकालीन सम्झौता गर्न हच्किरहेका छन्।
अध्यादेशमार्फत गाँठो फुकाउने तयारी
मन्त्रालयले कानूनी रिक्तता पूर्ति गर्न ५९ वटा ऐन संशोधन गर्ने गरी ल्याउन लागिएको पूर्वाधार सम्बन्धी अध्यादेशमा विद्युत व्यापारको विषय पनि समावेश गरेको छ। उक्त अध्यादेश जारी भएपछि निजी क्षेत्रलाई विद्युत व्यापार, नेपाल विद्युत प्राधिकरणको लाइन प्रयोग गर्दा लाग्ने ‘ह्विलिङ चार्ज’ र निजी क्षेत्र आफैँले प्रसारण लाइन निर्माण गर्न पाउने कानूनी बाटो खुल्नेछ। यसका साथै आयोजनाहरूको वन क्षेत्रको जग्गा प्राप्ति सहजीकरण, ‘वान डोर पोलिसी’ र अनुमतिपत्रको म्याद थपसम्बन्धी व्यवस्था पनि सोही अध्यादेशमार्फत सम्बोधन गर्ने तयारी छ।
पूँजी बजारमा भ्रम छरेर लाभ लिने दाउ
कानूनबिनै बाँडिएको एलओआईको दुरुपयोग पूँजी बजारमा समेत हुन थालेको छ। धेरैजसो जलविद्युत प्रवर्द्धकहरूले सहायक कम्पनी खडा गरी एलओआई लिएका छन् र त्यसैलाई देखाएर दोस्रो बजारमा सूचीकृत मातृ कम्पनीको शेयर मूल्य अस्वाभाविक रूपमा प्रभावित पार्ने प्रयास गरिरहेका छन्।
विद्युत व्यापारको कुनै निश्चित कानूनी ढाँचा, प्रसारण पूर्वाधार र वित्तीय पूँजी नभएका कम्पनीहरूको कागजी अनुमतिलाई देखाएर शेयर बजारमा भ्रम छर्नु लगानीकर्ताका लागि जोखिमपूर्ण भएको विश्लेषकहरू बताउँछन्।नयाँ कानून नआउँदै राज्यले यसरी हचुवाका भरमा बाँडेको आशयपत्रले एकातिर जलविद्युत क्षेत्रमा पुनः ‘झोले प्रवृत्ति’ लाई प्रश्रय दिएको छ भने अर्कातिर भोलि मापदण्ड नपुगेर लाइसेन्स नपाउँदा कम्पनीहरू राज्यविरुद्ध कानूनी उपचारमा जाने र थप नीतिगत उल्झन निम्तिने खतरा बढाएको छ।