बिहीवार काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले उक्त आकासे पुल निर्माणको शिलान्याश गरेकी हुन् । पुल निर्माणको शिलान्याश गर्दै उनले देशभरका बिरामीले स्वास्थ्य सेवा लिन आउने पहिलो ठाउँ वीर अस्पताल भएको बताइन् ।
देशभरबाट बिरामी आउने भएकाले नयाँ र पुरानो भवनबीच सहज आवतजावतको व्यवस्था गर्न पुल निर्माण गर्न लागिएको उनको भनाइ छ । उनले अस्पतालको नयाँ र पुरानो भवनबीच सडक रहेको तथा अत्याधिक भीडभाड हुने भएको कारण बिरामीले भोग्नुपरेको समस्या समाधान गर्न तथा अस्पतालको सेवा प्रवाहलाई सहज बनाउन पुल निर्माणको आवश्यकता परेको बताइन् । उनले पुल निर्माण भएसँगै सेवा लिन आउने बिरामी तथा चिकित्सकहरुलाई समेत आवतजावत गर्न सजिलो हुने विश्वास व्यक्त गरिन् ।
उनले भनिन्, ‘देशकै पुरानो अस्पताल त्यसमाथि पनि सबैको सहज पहुँच भएको अस्पताल जहाँ हरेक वर्गले स्वास्थ्य सेवा लिने ठाउँ पनि वीर अस्पताल हो । यो कोर एरियाका धेरै मान्छेहरु वीर अस्पतालमा सेवा लिन जानुहुन्छ । त्यति मात्र नभएर देशभरीका बिरामीहरुले उपचारको लागि आउने पहिलो ठाउँ पनि वीर अस्पताल नै हो । यो अस्पतालमा बिरामीको घुइँचो कति हुन्छ भन्ने कुरा संख्यामा भन्नु नै पर्दैन । यो क्षेत्र सबै हिसाबले अत्यन्त व्यस्त पनि भएको तथा अस्पतालको नयाँ र पुरानो भवन जोड्ने बीचमा सडक भएको कारण समस्या भएको छ । त्यसो भएको हुनाले बिरामीले दुःख र विभिन्न समस्या भोग्नुपरेको छ । अस्पतालले सही सेवा दिन सक्यो भने केही सेकेण्डले पनि बिरामी बाँचेको कुरा हामीले सुन्ने गरेका छौँ । त्यसको लागि पनि अहिले हामी सबैलाई लागेको व्यवधान चिर्नुपर्छ भन्ने हामी सबैलाई लाग्यो । अस्पतालबाट समेत पुलको माग भएको कारण पनि हामीले यो कार्यको थालनि गरेका हौँ ।’
पुल चार करोड ७१ लाख ३४ हजार ७ सय २७ रुपैयाँमा निर्माण गरिने छ । निर्माण आगामी कात्तिक ३० गतेसम्म सम्पन्न गर्ने लक्ष्य छ । अस्पतालका दुई भवनबीच महाबौद्धतर्फ जाने मूल सडक रहेकाले मेडिकल वार्डबाट शल्यक्रिया वार्डमा जान बिरामीले सडक पार गर्नुपर्ने हालको बाध्यता पुल र लिफ्ट सञ्चालनमा आएपछि अन्त्य हुनेछ ।