निष्कृय कर्जा अनुपातमा सानिमा सबैभन्दा अब्बल बन्दा एनसीसी देखियो कमजोर

Aug 24, 2017 merolagani



सञ्चालनमा रहेका २८ वाणिज्य बैंकमध्ये अधिकांस बैंकले गत आर्थिक बर्षमा खराब कर्जा घटाउन सफल देखिएका छन् । जसमध्ये ११ वाणिज्य बैंकको खराब कर्जा भने अघिल्लो आर्थिक बर्षको तुलनामा बढेको छ । १७ बैकले अघिल्लो आर्थिक बर्षको  तुलनामा  गत आवमा निष्कृय कर्जा अनुपात घटाएका छन् । यसबीचमा एकदर्जन वाणिज्य बैंकहरुको खराबकर्जा एक प्रतिशत भन्दा तल छ भने चार बैंकको मात्रै तीन प्रतिशत माथि रहेको छ । 

गत आर्थिक बर्षमा २८ बाणिज्य बैंकमध्ये सानिमा बैंकको निष्कृय कर्जा सबैभन्दा कम ०.०१ प्रतिशत  छ । राष्ट्र बैंकको अग्रसरतामा चार विकास बैंकलाई मर्ज गरेको नेपाल क्रेडिट एण्ड कर्मस बैंकको निष्कृय खराब कर्जा अनुपात सबैभन्दा बढी ४.८० प्रतिशतमा पुगेकाे छ ।  

 अघिल्लाे अार्थिक बर्ष एनसीसीकाे निष्कृय कर्जा अनुपात ०.९० प्रतिशत रहेकाे थियाे । एपेक्स बैंककाे खराब कर्जा अनुपातका कारण एनसीसीकाे निष्कृय कर्जा अनुपात उल्लेख्य बढेकाे हाे । सानिमाले  गत अावमा कर्जा लगानी २६.७२ प्रतिशत र एनसीसीले ९३.५२ प्रतिशतले बढाएका छन् ।

सानिमा बैंक र एसबिआई बैंक निष्कृय कर्जा अनुपातका आधारमा दुबै आर्थिक बर्षमा क्रमश पहिलो र दोस्रो स्थानमा नै रहेका छन् । अघिल्लो आर्थिक बर्षको तुलनामा एनबी बैंक, नेपाल बैंक, एभरेष्ट, लक्ष्मी, सनराइज, इन्भेष्टमेन्ट, मेगा, कुमारी, सेञ्चुरी, सिभिल र एनसीसी बैंकको निष्कृय कर्जा अनुपात  बढेको छ । 

अघिल्लो आर्थिक बर्षमा ग्राण्ड बैंकलाई मर्ज गरेर सबैभन्दा बढी ८.३८ प्रतिशत निष्कृय कर्जा अनुपात रहेको प्रभुले गत आर्थिक बर्षमा निष्कृय कर्जा अनुपात घटाएपनि एनसीसीभन्दा एक स्थान अगाडि २७ औं नम्बरमा रहेको छ । प्रभुले गत आर्थिक बर्षमा २८.५५ प्रतिशतले कर्जा लगानी वृद्धि गरेको छ। 

अघिल्लो आर्थिक बर्षमा १.११ प्रतिशत निष्कृय कर्जा अनुपात रहेर १२ औं नम्बरमा रहेको एनआइसी एशिया बैंक गत बर्ष ०.३६ प्रतिशत सहित चौथो स्थानमा आइपुगेको छ । एनआईसीले अघिल्लो आर्थिक बर्षको तुलनामा कर्जा लगानी २२.४७ प्रतिशतले बढाएको छ ।

समग्रमा गत आर्थिक बर्षमा २८ बटै बैंकको निष्कृय कर्जा अनुपात राष्ट्र बैंकले तोकेको पाँच प्रतिशत तल रहेको छ । जसमध्ये १२ बैंकले एक प्रतिशत तल निष्कृय कर्जा कायम गरेका छन् । एक प्रतिशतदेखि तीन प्रतिशतको बिचमा १२ बैंकको निष्कृय कर्जा अनुपात रहेको छ ।

नेपाल बैंक, सिभल, प्रभु र एनसीसी बैंक गरी चार बैंकको निष्कृय कर्जा अनुपात तीन प्रतिशत बढी रहेको छ ।  लगानीकाे प्रतिफल  सरकारी बैंककाे धेरै भएपनि निष्कृय कर्जा अनुपातका अाधारमा उनीहरू निजी बैंककाे तुलनामा कमजाेर देखिन्छन्। 

सबैभन्दा बढी १२३ प्रतिशतले कर्जा लगानी बढाएको जनता बैंकको निष्कृय कर्जा अनुपात २.०९ प्रतिशत रहेको छ । अघिल्लो आर्थिक बर्षमा २८ बाणिज्य बैंकको क्रममा १६ नम्बरमा रहेको प्राईम बैंक गत बर्ष आठ नम्बरमा उक्लेको छ ।

अघिल्लो आर्थिक बर्षमा १३ खर्ब ८१ अर्ब ८९ करोड ६१ लाख रुपैयाँ कर्जा प्रबाह गरेका २८ बाणिज्यले गत बर्ष १७ खर्ब २३ अर्ब ११ करोड ८१ लाख रुपैयाँ कर्जा लगानी गरेका छन् । यो औषतमा २४.६९ प्रतिशत कर्जा लगानी वृद्धि हो ।




६२ कम्पनीले गरे लाभांश घोषणा, कसले कति दिए धेरै, कुन क्षेत्र अगाडि?

Oct 25, 2026 09:53 AM

नेपाल स्टक एक्सचेन्जमा सूचीकृत विभिन्न कम्पनीहरूले चालु आर्थिक वर्षका लागि आफ्ना सेयरधनीहरूलाई लाभांश घोषणा गर्ने क्रम तीव्र बनाएका छन्। सूचीकृत कम्पनीहरूमध्ये वाणिज्य बैंक, विकास बैंक, वित्तीय संस्था, जलविद्युत्, उत्पादनमूलक तथा सामूहिक लगानी कोष (म्युचुअल फन्ड) हरूले प्रतिफल घोषणा गरिसकेका छन्।