तर, ‘इगो’का कारण प्रधानमन्त्री ओलीसँग सोझै भेट्न अन्कनाइरहेका उनी ओली आफैले बोलाएमा भेटेर सम्वन्ध सुधार गर्न तयार देखिएका छन् । स्रोतकाअनुसार त्यस्तो अवस्था सृजना गरिदिन उनले अनुरोध गरेअनुसार नै उपप्रमुख सुनिता डंगोलले सामाजिक सञ्जालमा सोमबार लामो सन्देश लेखेकी छन् ।
उनले संविधान र कानुनले तोकेको परिधिभित्र रहेर, खुला छलफल गरी संयमित भई बजेट ल्याउने प्रक्रियामा सहभागी हुन सबै जनप्रतिनिधिलाई आग्रह गरेकी छन् । साथै प्रमुख प्रशासकीय अधिकृतलाई जनप्रतिनिधिका प्रश्नबाट भाग्न नदिएर बैठकमै सामना गर्न दिन पनि आग्रह गरेकी छन्। ‘आइतबार मात्रै पनि मेयरज्यू, प्रवक्ता तथा केही कार्यपालिका सदस्यज्यूहरूसँगको अनौपचारिक भेटघाटमा समेत बोर्ड बैठक र नगरसभा छिटो सम्पन्न गर्ने विषयमा विस्तृत छलफल गरेको छु। उहाँहरूबाट पनि मैले सकारात्मक संकेत पाएको छु ’ डंगोलको अपिलमा भनिएको छ ।
मेयर साह निकट स्रोतकाअनुसार सरकारलाई थर्काएर, धम्काएर, गलाएर प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई हटाउने प्रयास सफल नहुने देखिपछि उनी अहिले एमाले नेतृत्वसँग सम्वन्ध सुधार गर्ने प्रयासमा लागेका छन् । त्यसमा उपमेयर डंगोलले महानगरको हितको लागि म सहयोग गर्न तयार छु भनेपछि महानगरपालिका भित्रको समस्या समाधान हुने सम्भावना बढेको छ ।
पूर्व राष्ट्रपति विद्या भण्डारीले सरकारी सेवा सुविधा त्यागेर एमाले राजनीतिमा सक्रिय भएको घोषणा गरे लगत्तै अन्तरंग भेटवार्ता गरेका बालेनले पछिल्लो केही दिन यता उपमेयर डंगोलसँग पटक पटक अनौपचारिक छलफल गरेका छन् । त्यस्तै अरु केही नेताहरुसँग पनि छलफल गरेको बताइएको छ ।
स्रोतकाअनुसार ती भेटघाटहरुमा बालेन संघीय सरकार र उपप्रमुख डंगोललगायत महानगरका अन्य जनप्रतिनिधिसँग मिलेर अगाडि बढ्न तयार रहेको बताएका छन् । तर, प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंको बारेमा आफूले निकै कडा बोलिसकेकोले उनीसँग काम गर्न नसक्ने आफ्नो वाध्यता बुझिदिन उनले अनुरोध गर्ने गरेका छन् । गुरागाईलाई सरुवा गरिदिने शर्तमा अरु सबै कुरामा आफू सम्झौता गर्न तयार रहेको जानकारी बालेनले दिएका छन् । तर, सरकार भने आर्थिक वर्षको अन्तिममा र बजेट ल्याउने तयारी चलिरहँदा प्रमुख प्रशासकीय हटाउँदा त्यसको दीर्घकालीनरुपमा असर पर्न सक्ने भन्दै कुनै पनि हालतमा अहिले गुरागाईलाई सरुवा गर्न नसकिने अडानमा रहेको छ ।
स्रोतका अनुसार सरकारले कुनै पनि हालतमा गुरागाईलाई सरुवा गर्न नमानेपछि बालेनको तर्फबाट ‘गुरागाईलाई बिरामी विदा बस्न लगाएर नुरनिधि न्यौपानेलाई निमित्त प्रशासकीय अधिकृत दिएर बजेट ल्याउने र केही समयपछि गुरागाई फर्किएर अहिले जस्तै गरि काम गर्नेसम्मको प्रस्ताव गरिएको छ । ‘सम्भवतः यसमै कुरो मिल्छ होला, त्यहीअनुसार यही साता भित्र गुरागाई उपचारको लागि दिल्ली वा वैंग्लोरतिर गए आश्चर्य हुँदैन’ स्रोतले मेरो लगानीसँग भन्यो ।