बोर्डले जारी गरेको संशोधित निर्देशिका साउन १ गते देखि लागु हुने जनाएको छ। संशोधन अनुसार अब वैदेशिक रोजगारीमा रहेका आम सर्वसाधारणले प्राथमिक निष्कासन गरेकाे चार दिन भित्रै निवेदन दिनु पर्ने छ। खोलिएको चार दिन भित्र पर्याप्त निवेदन नपरे मात्रै थप ११ दिन समय बढाउन सकिने छ। कुल निष्कासन १५ दिनको हुने छ। तर निष्कासन खुला भएको चार दिनमा नै माग भन्दा बढी आवेदन परे सोही दिन निष्कासन बन्द हुने छ।
यसैगरी बोर्डले निर्देशिका संशोधन गर्दै बैंक तथा वित्तीय संस्थाहरूलाई अविमोच्य असंचिति अग्राधिकार शेयर (परपेचिएल नन् क्युमिलेटिभ प्रिफ्रेन्स शेयर) निष्कासन गर्ने नयाँ व्यवस्था गरेको छ।
नेपाल राष्ट्र बैंकबाट अविमोच्य असंचिति अग्राधिकार शेयर निष्कासनका लागि स्वीकृति पाएको बैंक तथा वित्तीय संस्थाले मात्र यस्तो शेयर निष्कासनका लागि बोर्डमा आवेदन दिन सक्नेछ। शेयर निष्कासन गर्न चाहने बैंक तथा वित्तीय संस्थाले अंकित मूल्य १०० सय रुपैयाँ कायम गरी निष्कासन गर्नु पर्नेछ।
शेयर निष्कासन गर्ने बैंक तथा वित्तीय संस्थाले परिपत्र विधिमार्फत ५० जना भन्दा कम हुने गरी संस्थागत लगानीकर्तालाई मात्र निष्कासन गर्न सक्नेछ। तर निष्कासित शेयरमा सर्वसाधारण लगानीकर्ता, बोर्डबाट अनुमति पत्र प्राप्त धितोपत्र व्यवसायी तथा सामूहिक लगानी कोषले लगानी गर्न पाउने छैनन्।
शेयर निष्कासन गर्दा सम्भावित संस्थागत लगानीकर्तालाई धितोपत्रसम्बन्धी विशेषता सहित जोखिम उद्घोषण विवरण उपलब्ध गराउनुपर्नेछ। साथै, लगानीकर्ताबाट उक्त विवरण पढेको बुझेको भन्ने ब्यहोरा खुलाई लिखित रूपमा कागजात समेत निवेदनसाथ संलग्न गर्ने व्यवस्था गर्नुपर्नेछ।
शेयर निष्कासन गर्ने बैंक तथा वित्तीय संस्थाले वितरणयोग्य मुनाफा आर्जन गरेको अवस्थामा नियमन निकायबाट रोक लगाएको अवस्थामा बाहेक यस्तो शेयरको लाभांश वितरण नगर्ने निर्णय गर्न पाउने छैन। निष्कासन भएको धितोपत्रको फिर्ता वा साधारण शेयरमा परिवर्तन सम्बन्धी व्यवस्था नेपाल राष्ट्र बैंकले तोकिदिए बमोजिम हुने निर्देशिकामा उल्लेख छ।
अविमोच्य असञ्चिति अग्राधिकार शेयर भनेको के हो ?
अविमोच्य असञ्चिति अग्राधिकार शेयर भनेको अवधि नतोकिएको शेयर हो। यस्तो शेयरमा निश्चित लाभांश दिनै पर्छ भन्ने बाध्यता हुँदैन। कुनै वर्ष लाभांश नदिए पनि शेयरधारकले लाभांश दाबी गर्न पाउँदैन। र संस्थाले पछि दिनै पर्छ भन्ने पनि हुँदैन। यो शेयर पछि साधारण शेयरमा पनि परिवर्तन हुन सक्छ। तर त्यो राष्ट्र बैंकले तोकेको नियम अनुसार हुने छ।
यो शेयर बैंकिङ–वित्तीय क्षेत्रको पूँजी व्यवस्थापनका लागि एउटा लचिलो उपकरणको रूपमा प्रयोग गर्ने गरिन्छ। नेपाल राष्ट्र बैंकले विशेष गरी बैंक र वित्तीय संस्थाहरूलाई पूँजी कम भएमा पूँजी हस्तान्तरण ( टायर- क्यापिटल) सुधार गर्न यो उपकरण अपनाउन अनुमति दिएको छ। जसले गर्दा बैंक वित्तीय संस्थालाई यसले सहयोग गर्ने छ। तर आम सर्वसाधारणको लागि भने यो शेयरको कुनै औचित्य हुँदैन। किनकी उनीहरूले यो शेयर किन्नै पाउँदैनन्।