शेयर बजारमा असार मसान्तको भन्दा बढी प्रेसर ब्रोकर कम्पनीको, जलविद्युतको भोल्युम ‘ड्राइ’ हुने क्रम सोमबार पनि रोकिएन

Jul 07, 2025 06:11 PM merolagani



सुवास निरौला

गत हप्ताको आइतबारदेखि लगातार बढिरहेको शेयर बजारमा सोमबार भने ब्रेक लागेको छ। गत हप्ता भरिमा बढेर सेन्चुरी मारिसकेको सूचक सोमबार भने फराकिलो अंकले घटेको छ।

आइतबार मात्रै सूचक २७०६.३६ अंकमा बन्द भएको थियो। सोमबार सूचक घटेर २६८४.०१ अंकमा ओर्लिएको छ।

पछिल्लो समय असार मसान्त निक्कै नजिक आएकोले पनि सूचकमा दबाब परेको विश्लेषण शेयर बजारमा भइरहेको छ। कर तिर्नु पर्ने लगायत बैंक वित्तीय संस्थाबाट लिएको ऋणको व्याज समेत भुक्तान गर्नु पर्ने भएकोले असार मसान्तको शेयर बजारमा प्रभाव पर्ने गर्छ। तर अहिले असार मसान्तको प्रेसर सँगै ब्रोकर कम्पनीको उधारो सेटलमेन्टको प्रेसर समेत शेयर बजारमा परेकोले सोमबार थप सूचकमा दबाब देखिएको बताइएको छ।

“असार मसान्तमा शेयर बजारमा प्रेसर पर्नु कुनै नौलो कुरा होइन। सोमबारको गिरावटलाई भने अन्तिम प्रेसरको रुपमा लिन सकिन्छ। आउने केही दिन बेचेको शेयरको पैसाले व्याज वा कर तिर्न सकिन्छ। त्यसैले पनि बजार घटेको हुन सक्छ। अर्को तर्फ असारमा सबैले हिसाब क्लोज गर्ने गर्छन्। त्यसमा ब्रोकर कम्पनी पनि पर्छन्। कतिपय ब्रोकरले उधारो कारोबारको सेटलमेन्ट गर्न प्रेसर दिएका कारण पनि लगानीकर्ताले हिसाब मिलानकै लागि भएपनि शेयर बिक्री गरिरहेका छन्। त्यसले पनि शेयर बजार घटेको हो। अहिले व्याज र करको भारी भन्दा बढी ब्रोकरको हिसाब मिलानले लगानीकर्तालाई बढी तनाव दिएको छ। त्यसैगरि गएको आइतबारदेखि बढेको बजार यो हप्ताको आइतबारसम्म बढ्यो। ६ कारोबार दिनमा ११० अंक बढेको बजारमा थोरै प्रोफीट बुकले पनि काम गर्‍यो। यिनै कारणले सोमबार शेयर बजार घटेको हो ” लगानीकर्ता सन्तोष भट्टराईले मेरो लगानीसँग भने।

सोमबार शेयर बजार २२.३५ अंकले घट्यो। यसैगरी कारोबार रकम पनि सोमबार खुम्चियो। आइतबार ९ अर्ब ५० करोडको शेयर कारोबार भएकोमा सोमबार कारोबार रकम घटेर आठ अर्ब ३७ करोडमा खुम्चिएको छ। आठ अर्ब ३७ करोडको शेयर कारोबार हुँदा जलविद्युत क्षेत्रको मात्रै दुई अर्ब ८६ करोडको मात्रै शेयर किनबेच भयो। जुन कुल कारोबारको ३४.१६ प्रतिशत हो।

आइतबार कुल कारोबारको ३५ प्रतिशत शेयर जलविद्युतको मात्रै भएको थियो। तर पछिल्लो समय जसरी जलविद्युत क्षेत्रमा लगानीकर्ताले लगानी बढाउँदै लगेका थिए। अहिले भने त्यस क्षेत्रमा लगानी घटाउँदै लगेका छन्। लगानीकर्ताहरूले पछिल्ला केही दिन देखि भने वित्त कम्पनी र विकास बैंकमा तुलनात्मक रुपमा लगानी बढाएका थिए। जलविद्युत क्षेत्रलाई छोडेर अरू सेक्टरमा लगानी बढाएका लगानीकर्ताले समेत अहिले खासै लाभ लिन नसकेकोले पुन यही क्षेत्रमा लगानीकर्ता फर्किने अनुमान गरिएको छ।

“जलविद्युत क्षेत्रको मात्रै कुल कारोबारमा ७० प्रतिशतसम्म हिस्सा हुने गरेकोमा अहिले ३४ प्रतिशतमा झरेको छ। यो भनेको आधा भन्दा बढी भोल्युम ड्राइ भएको छ। यो अवधिमा लगानीकर्ताले अरू नै सेक्टरमा लगानी बढाए। तर जसरी सम्भावना खोज्दै लगानीकर्ता अरू सेक्टरमा गएका थिए उनीहरूले पनि भनेजस्तो लाभ भने ती सेक्टरबाट लिन सकेका छैनन्। जसले गर्दा फेरि पनि लगानीकर्ता पुन जलविद्युतमा नै फर्किने सम्भावना छ। कुनै पनि कम्पनीको शेयरको भोल्युम अत्यधिक ड्राइ भयो भने त्यो कम्पनीको शेयर किन्न सुरु गर्नु पर्छ भन्ने मान्यता हुन्छ। त्यस्तै अहिले समग्र जलविद्युत क्षेत्रकै भोल्युम अत्यधिक ड्राइ भएर गएको छ। फेरि कुल कारोबारमा ३४ प्रतिशत कारोबार पनि कम होइन। त्यस कारण जलविद्युतमा फुन चार्म देखिन सक्छ,” भट्टराईले भने।




हाइड्रोपावर समूहबाट निस्कँदै लगानीकर्ता, कुन सेक्टरमा बढाउँदैछन् लगानी ? तथ्यांक यस्तो छ

Jul 05, 2025 05:39 PM

गत हप्ता नेप्से परिसूचकले सेन्चुरी मारेर २७ सय माथि टिक्न सफल भएको छ । नेप्सेले सेन्चुरी मार्दै गर्दा लगानीकर्ता भने हाइड्रोपावरबाट सिफ्ट भएर अन्य क्षेत्रतिर गएको देखिएको छ । हाइड्रोपावरबाट लगानीकर्ता विस्तारै विकास बैंक, फाइनान्स र इन्स्योरेन्स समूहमा सरेको तथ्यांकले देखाएको छ ।