नेप्सेमा अन्तिम समयमा करेक्सन, कारोबार रकम २१ अर्बभन्दा बढी

Jul 20, 2025 03:22 PM Merolagani



साताको पहिलो कारोबार दिन नेप्से परिसूचक सामान्य अंक बढेर बन्द भएको छ। पछिल्ला ३ कारोबार दिनदेखि बढेर बन्द भएको नेप्से, यस दिन अन्तिम समयमा करेक्सन भइ सामान्य अंक बढेर बन्द भएको हो।

आइतबार नेप्से परिसूचक ०.३२ अंक बढेर २८७०.९५ विन्दुमा पुगेको छ। यस दिन सेन्सेटिभ इण्डेक्स २.४६ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.४४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.०५ अंक घटेको छ।

नेप्से सामान्य अंक बढेपनि यस दिन कारोबार रकम भने उच्च बढेको छ। अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार साढे १६ अर्बको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३१६ स्टकको १ लाख ७८ हजार १७६ पटकको कारोबारमा २१ अर्ब ४६ करोड ४९ लाख ९४ हजार रुपैयाँबराबरको ५ करोड १६ लाख ५८ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन ४ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन उन्नती सहकार्य लघुवित्त वित्तीय संस्था, सान्भि इनर्जी, ट्रेड टावर र शिव श्री हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यस्तै, यस दिन विन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको शेयरमूल्य करिब १० प्रतिशत बढेको छ। कारोबारमा आएको समृद्धि फाइनान्सको शेयरमूल्य यस दिन सर्वाधिक ८.८८ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन नेपाल पुनर्बीमा कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीकाे यस दिन ९८ करोड ५५ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन बुटवल पावर कम्पनीको ६४ करोडभन्दा बढीको शेयर किनबेच भएको छ भने हिमालयन रि इन्स्योरेन्सको कारोबार रकम साढे ५६ करोड नाघेको छ।

१३ उपसमूहमध्ये यस दिन ५ उपसमूहको परिसूचक बढेको छ भने ८ उपसमूहको परिसूचक घटेको छ। यस दिन अन्य उपसमूहको परिसूचक सर्वाधिक ३.३६ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन होटल तथा पर्यटन, जीवन बीमा र निर्जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको वित्त उपसमूहको परिसूचक यस दिन सर्वाधिक २.२६ प्रतिशत घटेको छ।




दीपेन्द्र अग्रवाल पक्राउ पर्नुको कारण यस्तो रहेछ, ब्रोकर र अग्रवाल बीच उधारो सेटलमेन्टको पुरानै लफडा

Jul 21, 2025 05:08 PM

सोमबार शेयर कारोबारी दीपेन्द्र अग्रवाललाई प्रहरीले पक्राउ गर्‍यो। पक्राउ गर्नुको कारण प्रहरीले ठगी गरेको आरोप भनेर प्रतिक्रिया दियो। सोही कारण उनी अहिले प्रहरी हिरासतमा छन्। के कति कारणले प्रहरीले पक्राउ गरेको हो भने अहिलेसम्म प्रहरीले थप केही बताएको छैन। उसले अनुसन्धान भइरहेको भनेर मात्रै भनेको छ।