बुधबार नेप्से परिसूचक ५.१७ अंक बढेर २९७८.८८ विन्दुमा पुगेको छ। त्यस्तै, यस दिन फ्लोट इण्डेक्स ०.०६ अंक बढेको छ भने सेन्सेटिभ इण्डेक्स ०.१५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.२२ अंक घटेको छ।
नेप्से बढेपनि यस दिन कारोबार रकम भने सामान्य घटेको छ। मंगलबार २० अर्ब ८ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३१९ स्टकको १ लाख ७० हजार ३१८ पटकको कारोबारमा १९ अर्ब ५७ करोड ५२ लाख रुपैयाँबराबरको ४ करोड ४८ लाख ६६ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
यस दिन दुई स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन ट्रेड टावर र सान्भि इनर्जीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। यस दिन ट्रेड टावरको शेयरमूल्य ५३ रुपैयाँ ५० पैसा बढेर ५८९ रुपैयाँ ३० पैसामा अन्तिम कारोबार भएको छ भने सान्भि इनर्जीको शेयरमूल्य ४७ रुपैयाँ ७० पैसा बढेर ५२५ रुपैयाँ ४० पैसामा अन्तिम कारोबार भएको छ। त्यस्तै, यस दिन ग्रीन भेन्चर्सको शेयरमूल्य करिब साढे ९ प्रतिशत बढेको छ। कारोबारमा आएको भुगोल इनर्जी डेभलपमेन्टको शेयरमूल्य यस दिन सर्वाधिक ५.३२ प्रतिशत घटेको छ।
कारोबार रकमका आधारमा यस दिन हिमालयन रि इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ७८ करोड १० लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन शिवम सिमेन्ट्को ७५ करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ भने नेपाल इन्फ्रास्ट्रक्चर बैंक र बुटवल पावरको कारोबार रकम ६२ करोड नाघेको छ।
१३ उपसमूहमध्ये यस दिन ७ उपसमूहको परिसूचक बढेको छ भने ६ उपसमूहको परिसूचक घटेको छ। यस दिन वित्त उपसमूहको परिसूचक सर्वाधिक ३.२३ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक १.१० प्रतिशत घटेको छ।