कुन बैंकको सवारीसाधन खरिद कर्जा कति ? कुन बैंकले दिँदैछ सस्तोमा अटो लोन ?

Aug 07, 2025 06:07 AM MeroLagani



नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चर्स एशोसिएशन (नाइमा) द्वारा आयोजना गरिएको ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ बुधबारबाट शुरु भएको छ । सवारी साधनहरुको प्रदर्शनी शुरु भएसँगै बैंकहरु समेत सवारी कर्जा विस्तारको विज्ञापन गर्न अगाडि बढेका छन्।

बैंकमा तरलता प्रशस्त भएको एवम् व्याज दर पनि घटेको मौका पारेर गरिएको प्रदर्शनीको क्रममा बैंकहरुको हायर पर्चेज कर्जा समेत बढ्ने विश्वास गरिएको छ । मेरो लगानीले वाणिज्य बैकहरु मध्ये कुन बैंकले सस्तो दरमा कर्जा दिएको छ र कुन बैंकको हायर पर्चेज कर्जाको स्थिति कस्तो छ भनेर विश्लेषण गरेको छ ।

बैंकको ब्याजदरको आधार दर अर्थात् बेस रेट नै ५ वर्ष यताकै सस्तो भएको छ । अहिले बैंकको बेस रेट औसतमा ६ प्रतिशत छ । त्यसैले ऋण लिँदा एकल अंककै ब्याजदरमा पाइन्छ । अहिले बैंकहरुले बेस रेटमा न्यूनतम शून्य दशमलब २५ देखि ५ प्रतिशतसम्म प्रिमियम थपेर हायर पर्चेज कर्जा दिइरहेका छन् ।

२०८२ जेठ मसान्तसम्मको तथ्यांक अनुसार वाणिज्य बैंकहरुले १ अर्ब १५ अर्ब ७ करोड रुपैयाँ बराबरको हायर पर्चेज कर्जा प्रवाह गरेका छन् जुन गत वर्षको सोही अवधिको तुलनामा ६ प्रतिशतले बढी हो । त्यसमध्ये सबैभन्दा बढी ग्लोबल आईएमई बैंकले यस्तो कर्जा प्रवाह गरेकाे छ । बैंकले जेठ मसान्तसम्म १५ अर्ब ६८ करोड रुपैयाँ बराबरको हायर पर्चेज कर्जा प्रवाह गरेकाे छ । गत वर्ष बैंकले १३ अर्ब ८१ करोड रुपैयाँको कर्जा प्रवाह गरेको थियो ।

बैंकले अहिले बेस रेटमा साढे १ देखि साढे ३ प्रतिशतसम्म प्रिमियम लिएर कर्जा प्रवाह गरिरहेका छन् ।

त्यस्तै धेरै हायर पर्चेज कर्जा प्रवाह गर्ने दोस्रो बैंकमा नबिल बैंक रहेको छ । बैंकले बेस रेटमा २ देखि ४ प्रतिशतसम्म प्रिमियम थपेर अटो कर्जा अर्थात हायर पर्चेज कर्जा प्रवाह गरिरहेको छ । बैंकले २०८२ जेठ मसान्तसम्म ११ अर्ब २६ करोड रुपैयाँ बराबरको कर्जा प्रवाह गरेको छ ।

यता सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले ९ अर्ब २७ करोड, कृषि विकास बैंकले ४ अर्ब ४२ करोड तथा नेपाल बैंकले २ अर्ब ५५ करोड रुपैयाँ बराबरको सवारी साधन कर्जा प्रवाह गरेको तथ्यांक छ ।

एभरेष्ट बैंकले ७ अर्ब ६ करोड, सानिमा बैंकले ५ अर्ब ७८ करोड, एनएमबी बैंकले ६ अर्ब ७२ करोड, हिमालयन बैंकले ६ अर्ब ६२ करोड प्राइम कमर्सियल बैंकले ५अर्ब ९७ करोड, प्रभु बैंकले ५ अर्ब ७२ करोड र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ५ अर्ब १४ करोड रुपैयाँ बराबरको सवारी साधन कर्जा प्रवाह गरेका छन् । यता ५ अर्ब भन्दा मुनिको हायर पर्चेज कर्जा प्रवाह गर्ने बैंकमा कुमारी बैंक, सिटिजन्स बैक, सिद्धार्थ बैंक, माछापुच्छे बैंक, लक्ष्मी सनराइज बैंक, सिद्धार्थ बैंक, एनआईसी एसिया बैंक र स्ट्यान्डर्ड चार्टर्ड बैंक रहेको छ । हायर पर्चेज कर्जामा सबैभन्दा कम कर्जा प्रवाह गर्ने बैंकमा स्टयान्डर्ड चार्टर्ड बैंक रहेको छ ।

गत वर्षको तुलनामा हायर पर्चेज कर्जा धेरै बढाउने बैंकमा एभरेष्ट बैंक रहेको छ । बैंकले गत वर्ष ३ अर्ब ४८ करोडको मात्रै हायर पर्चेज कर्जा दिएकोमा यस वर्षको जेठ सम्ममा ७ अर्ब ६९ करोड रुपैयाँ पुर्याएको छ ।

एभरेष्ट पछि क्रमशः राष्ट्रिय वाणिज्य बैंक, नेपाल एसबीआई बैंक, कृषि विकास बैंक, सानिमा बैंक, एनएमबी बैंक, ग्लोबल आईएमई बैंक, नेपाल बैंक, नबिल बैंक र प्राइम कमर्सियल बैंकले हायर पर्चेज कर्जा विस्तार गरेको तथ्यांक छ ।

यता एनआईसी एसिया बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक, कुमारी बैंक, लक्ष्मी सनराइज बैंक, माछापुच्छे बैंक, हिमालयन बैंक, सिद्धार्थ बैंक, प्रभु बैंक नेपाल इन्भेष्टमेन्ट मेगा बैंक र सिटिजन्स बैंकले भने हायर पर्चेज कर्जा घटाएका छन् ।




कुमारी बैंकको वित्तीय विवरणमा देखियो नाफा वृद्धिदर ४५ हजार ८२९ प्रतिशत, कारण यस्तो

Aug 07, 2025 07:31 AM

कुमारी बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४५ हजार ८२९ प्रतिशत बढेको देखिएको छ।