बुलिस ट्रेन्ड सुरु नहुँदै शेयर बजार बियरिस मुडमा, यस कारणले बजार घटिरहेको ब्रोकर, विश्लेषक र लगानीकर्ताको तर्क

Aug 05, 2025 06:42 PM merolagani



सुवास निरौला   

गत असार १२ गते नेपाल स्टक एक्सचेन्जको कारोबार मापक सूचक २५९५.७६ अंकको तल्लो बिन्दुमा थियो। त्यस पछि बढ्न थालेको शेयर बजारले गत साउन १३ गते ३००२.०७ अंक भेट्टायो।

करिब एक महिनाको अवधिमा सूचकले ४०६.३१ अंकको वृद्धि कायम गर्‍यो। जुन १५.६५ अंकको वृद्धि थियो। तल्लो बिन्दुबाट सूचकले २० प्रतिशतको वृद्धि कायम गरेपछि बजार बुलिस ट्रेन्डमा प्रवेश गर्ने अन्तर्राष्ट्रिय मान्यता छ। सोही अनुरूप बजारले चाँडै २० प्रतिशतको वृद्धि कायम गर्ने अनुमान दोस्रो बजारमा हुन थालेको थियो। तर प्राविधिक द्रिष्टिकोणबाट बजार माथिल्लो बिन्दुको रेसिस्टेन्स जोनमा पुगेको थियो।

उक्त जोनलाई तोड्न सके मात्रै बजार माथि उक्लने अनुमान प्राविधिक विश्लेषकहरूले गरिरहेका थिए। तर बजार १५ प्रतिशतको वृद्धि पछि माथि उक्लिन सकेन बजारमा बियरिस ट्रेन्ड सुरु नहुँदै करेक्सन देखिन थाल्यो। तीन हजारको बलियो रेसिस्टेन्सलाई तोड्न नसकेपछि बजार घट्दो लयमा देखिन थालेको छ। पछिल्लो समय सूचक माथिल्लो बिन्दुबाट सूचक १६८.०७ अंकले घटेर २८३४ अंकमा खुम्चिएको छ। जुन माथिल्लो बिन्दुबाट ५.५९ प्रतिशतले घटिसकेको छ।

बजारमा बियरिस ट्रेन्ड सुरु हुनु भन्दा अघि नै सूचक किन बियरिस मुडमा देखिएको हो भन्ने विषयमा कसैसँग ठोस कारण देखिएन। दोस्रो बजारका प्राविधिक विश्लेषक देखि ब्रोकर र आम लगानीकर्ताले आ-आफ्नै तर्क अघि सारेका छन्।

प्राविधिक विश्लेषकका अनुसार तीन हजारको बिन्दु बलियो रेसिस्टेन्सको रुपमा थियो। उक्त रेसिस्टेन्स तोड्ने प्रयास बजारले नगरेको होइन। तर बजारमा उक्त रेसिस्टेन्सलाई तोड्न जुन भोल्युम आउनु पर्ने थियो त्यो आउनै सकेन। यस अघि तीन हजारको बिन्दु पुग्दा बजारको भोल्युम करिब ३० अर्बको थियो। तर यस पटक भोल्युम २५ अर्ब भन्दा माथि जान सकेन। जसले गर्दा उक्त रेसिस्टेन्स बजारले तोड्न सकेन। सोही कारण बजार शक्ति सञ्चय गर्न पुनः तल आएको हो। केही समय रेष्ट गरेर पुनः बजार उक्त रेसिस्टेन्स तोड्न माथि उक्लिने अनुमान गर्न सकिन्छ।

ब्रोकर कम्पनीका सञ्चालकहरू के कारणले बजार घटेको भन्ने यकिन गर्न सकिरहेका छैनन्। उनीहरूका अनुसार शेयर बजार घट्नु पर्ने कुनै कारण नै छैन। तर दोस्रो बजारमा सकारात्मक कुरालाई भन्दा बढी नकारात्मक कुरालाई लगानीकर्ताले जोड दिन थालेको कारण बजार घटेको उनीहरूको अनुमान छ। “दोस्रो बजार घट्नु पर्ने कारण नै छैन। तर सकारात्मक कुरा भन्दा बढी नकारात्मक कुरामा लगानीकर्ताले जोड दिए। सोही कारण बजार घटेको हो,” एक ब्रोकरले मेरो लगानीसँग भने।

ती ब्रोकरका अनुसार सबैभन्दा पहिले त लघुवित्त लाभांश क्याप अहिले नखुल्ने कुरा आयो। त्यस पछि दोहोरो आइजिनको कुरा आयो। फेरि बैंक वित्तीय संस्थाले नगद मात्रै दिने भन्ने कुरा आयो। जसले गर्दा त्यसलाई नकारात्मक तरिकाले प्रचार गरियो। जबकि सबै कुरा बजारको हितमा नै छ।

लघुवित्तले लाभांश दिनु भन्दा अघि नै केन्द्रीय बैंकले त्यसलाई पुनरावलोकन गर्ने भनेकै छ। त्यसलाई नकारात्मक रुपमा लिनु पर्ने नै होइन। बैंक वित्तीय संस्थाले नगद दिँदा दोस्रो बजारमा थप शेयर आउँदैन। त्यसले सप्लाई कम गर्छ भने बजारमा पैसा आउँदा त्यसले थप शेयर किन्ने क्षमता बढाउँछ। त्यो पनि नकारात्मक छैन्। अझै दुई वटा नै आइजिन आउने भए पनि त्यसले संस्थापक शेयरलाई फरक पार्ने हो। पब्लिक शेयरको डिमाण्ड त झन् बढ्नु पर्ने हो। त्यसले गर्दा अहिले घट्नु पर्ने कारण नै छैनन्। बरु जति कारण देखाइएको छ। ती सबैलाई गलत प्रचार गरिएकोले गर्दा लगानीकर्ता अत्तालिएका मात्रै हुन्।

लगानीकर्ता दीपेन्द्र अग्रवाल भने शेयर बजारमा नेशनल आइडी जोडेको कारण शेयर बजार घटेकाे बताउँछन्। “अहिलेको प्रेसर भनेको नेशनल आइडिको हो। त्यो बाहेक अरू कारण मैले देखेको छैन,” अग्रवालले भने।

आम लगानीकर्ता भने तीन हजारको बिन्दु पुग्नु र कारोबार रकम २५ अर्ब पुगेपछि एकाएक ब्रोकर कम्पनीले लिमिट टाइट गरिदिए। जसले गर्दा बजार घट्न पुगेको बताउँछन्। “असारसम्म क्लोजिङ भनेर ब्रोकरले लिमिट टाइट गरे। बजार घट्यो। त्यसबेला ब्रोकर आफैले शेयर किने। साउन लागेपछि लिमिट खुला गरे अनि असारमा आफैले किनेको शेयर लगानीकर्तालाई भिडाए। त्यसपछि तीन हजार टेकेपछि फेरि आफैले लिमिट टाइट गरेर शेयर बजार घटाउँदै छन्। सोही कारण बजार घटेको हो,” एक लगानीकर्ताले भने।     




माछापुच्छ्रे बैंकको नाफा २ अर्ब नाघ्यो, वितरणयोग्य मुनाफा कति?

Aug 05, 2025 07:03 AM

माछापुच्छ्रे बैंक लिमिटेड (MBL) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकले सो अवधिसम्ममा २ अर्बभन्दा बढी नाफा कमाएको छ।