‘उज्यालो नेपाल पार्टी’ खोल्ने तयारीमा रहेका कुलमानलाई रुपन्देही-३ मा उम्मेदवार बनिदिन तीन पार्टीको प्रस्ताव

Aug 04, 2025 06:25 PM mero lagani



आम निर्वाचन २०८४ लाई लक्षित गर्दै आफै राजनीतिक पार्टी खोल्ने तयारीमा लागेका नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङलाई रुपन्देही ३ को उप निर्वाचनमा उम्मेदवार बनिदिन ३ वटा राजनीतिक पार्टीले प्रस्ताव राखेका छन् । 

आफ्नो पार्टीको तर्फबाट उम्मेदवार बनिदिन भन्दै तारन्तार दबाब दिएपछि कुलमान भने असमन्जस्यमा परेका छन् ।

केही समय पहिले मध्यपूर्वका विभिन्न देशहरुमा रहेका नेपालीहरुसँग भेटघाट गरेका कुलमान त्यहाँबाट फर्किएर अमेरिका पुगेका छन् । करिब २ सातामा अमेरिकामा रहेका नेपालीहरुसँग छलफल गरेपछि उनी इंग्ल्याण्ड, स्कटल्याण्ड, पोर्चुगललगायतका युरोपेली देश जाने भएका छन् । त्यसपछि बल्ल उनी नेपाल फर्किनेछन् ।

उनी विदेशमा रहेका नेपालीहरुसँग आफूले पार्टी खोल्न उपयुक्त हुन्छ कि हुँदैन र पार्टी खोलेमा तपाईले के सहयोग गर्नुहुन्छ भन्दै सुझाव माग्ने गरेका छन् । धेरैले उनलाई अरु पार्टीमा नलागी आफै पार्टी खोल्न सुझाव दिने गरेका छन् ।

कुलमान निकट स्रोतका अनुसार विदेशिएका नेपालीले उनलाई ‘उज्यालो नेपाल’ नामबाट पार्टी खोल्न सुझाव दिएका छन् । र, कुलमानले पनि त्यसलाई सकारात्मक रुपमा लिएका छन् । अर्थात् कुलमानले पार्टी खोलेमा त्यही नाम राखिने लगभग निश्चित छ ।

कुलमानले त्यही सन्दर्भमा डा. सन्दुक रुइत, महावीर पुन, बालेन, हर्क साम्पाङदेखि डा. मुकुल ढकाललगायतका व्यक्तिहरुसँग पटक पटक छलफल गरेका छन् । रुइत र पुनले आफूहरु पार्टीमा नलाग्ने तर आवश्यक परे आन्तरिक रुपमा सहयोग गर्न तयार रहेको आश्वासन दिएका छन् । आफै पार्टी खोल्ने प्रयासमा लागेका बालेन र हर्कले भने आफ्नै नेतृत्वमा आउन कुलमानलाई प्रस्ताव गरेको बताइएको छ ।

यता, आफै पार्टी खोल्ने सोँचमा पुगेका कुलमानलाई रुपन्देही ३ आगामी कात्तिकमा हुने उप निर्वाचनमा आफ्नो पार्टीको तर्फबाट उम्मेदवार भइ दिन माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीले पटक पटक प्रस्ताव गरिसकेका छन् । तर, कुलमानले भने कसैलाई पनि निधो दिएका छैनन् ।

‘ती पार्टीहरुमा जाँदा आफ्नो हैसियत के हुन्छ ? वा नयाँ पार्टी गठन गर्दा चलाउन कत्तिको सहज हुन्छ भन्ने बारेमा अहिले उहाँले गम्भिर रुपले आत्म चिन्तन गरिरहनु भएको छ । विदेशमा रहेका नेपालीहरुसँगको अन्तरकृयाहरुमा पनि उहाँले तिनै विषयमा सुझाव माग्नु भएको छ । रुपन्देहीको उपनिर्वाचनको लागि मनोनय दर्ता गर्ने दिनभन्दा केही दिन अगाडि नै उहाँले आफ्नो कुरा स्पष्ट पार्नुहुनेछ,’ कुलमानका एक निकट सहयोगीले मेरो लगानीसँग भने ।

कार्तिक १७ गते हुने उपनिर्वाचनको लागि असोज २१ गते उम्मेदवारी दर्ता गरिने निर्वाचन आयोगको कार्यक्रम छ ।




माछापुच्छ्रे बैंकको नाफा २ अर्ब नाघ्यो, वितरणयोग्य मुनाफा कति?

Aug 05, 2025 07:03 AM

माछापुच्छ्रे बैंक लिमिटेड (MBL) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकले सो अवधिसम्ममा २ अर्बभन्दा बढी नाफा कमाएको छ।