अब भने कम्पनीले दोस्रो चरणमा १३ करोड ५४ लाख २३ हजार ५०० रुपैयाँबराबरको १३ लाख ५४ हजार २३५ कित्ता शेयर निष्काशन गरेको हो। सोमध्ये कम्पनीले आफ्ना कर्मचारीहरुका लागि ३० हजार ९५ कित्ता र सामूहिक लगानी कोषहरुका लागि ७५ हजार २३६ कित्ता शेयर छुट्याएको छ। सर्वसाधारण लगानीकर्ताले बाँकी रहेको १२ करोड ४८ लाख ९० हजार ४०० रुपैयाँबराबरको १२ लाख ४८ हजार ९०४ कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन्।
आईपीओमा कसरी आवेदन दिने?
कम्पनीले आज अर्थात साउन २६ गतेदेखि आईपीओ निष्काशन गरेको हो। सो आईपीओमा साउन २९ गतेसम्म आवेदन दिन सकिनेछ। सो अवधिसम्ममा माग अनुसार पर्याप्त आवेदन नपरे निष्काशन अवधि भदौ ९ गतेसम्म लम्बिनेछ।
कम्पनीको आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ। त्यसैगरी, सिडिएससीले सञ्चालन गरिरहेको मेरोशेयर वेबसाइट तथा मोबाइल एपबाट पनि आवेदन दिन सकिनेछ।
कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ। त्यसैगरी, कम्पनीको प्रत्याभूतिकर्ता एनआईएमबि एस क्यापिटल लिमिटेड रहेको छ।
कति कित्ता आवेदन दिने?
कम्पनीको आईपीओमा इच्छुक लगानीकर्ताले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ। सोभन्दा बढीका लागि अधिकतममा ५० हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ।
आईपीओको बाँडफाँट प्रचलित ‘धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका, २०७४’ सम्बन्धी व्यवस्था अनुसार गरिनेछ। मागभन्दा बढी आवेदन परेमा कम्पनीको शेयर बाँडफाँट गोलाप्रथा प्रक्रियामार्फत गरिनेछ। यस अनुसार १ लाख २४ हजार ८९० जना आवेदकले १० कित्ताका दरले कम्पनीको शेयर प्राप्त गर्न सक्नेछन्। यसरी बाँडफाँट गर्दा ४ कित्ता शेष रहन्छ जुन सोही १ लाख २४ हजार ८९० जनामा नै बाँडफाँट गरिनेछ। र सो थप एक कित्ता शेयर प्राप्त गर्न लगानीकर्ताले २० कित्ताका लागि आवेदन दिनु पर्नेछ।
औषत जोखिम जनाउने रेटिङ्ग
साधारण शेयर निष्काशनको लागि धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ मा भएको व्यवस्था बमोजिम कम्पनीको इस्यूअर रेटिङ्ग गराउनुपर्ने भएकोले ‘क्रेडिट रेटिङ्ग नियमावली, २०६८’ को नियम ३ बमोजिम नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त क्रेडिट रेटिङ्ग संस्था इक्रा नेपाल, काठमाडौँबाट रेटिङ्ग गराएको छ।
इक्राले कम्पनीलाई इक्रा एनपी इस्यूअर रेटिङ्ग सिंगल बी प्लस प्रदान गरेको छ। यसले कम्पनीको वित्तीय दायित्व समयमा नै पुरा गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ।
इक्राले कम्पनीलाई २०८२ असार १७ गते क्रेडिट रेटिङ्ग सम्बन्धी रेटिङ्ग ग्रेड प्रदान गरेको थियो। सो रेटिङ्गको वैद्यता २०८३ असार १२ गतेसम्म रहनेछ।
कस्तो कम्पनी हो?
नेपालमा रहेको अपार जलश्रोतको उपयोग गरी जलविद्युत आयोजनाहरुको पहिचान गरी सम्भाव्यता अध्ययन, निर्माण र सञ्चालन गर्ने हेतुले निजी क्षेत्रका उद्यमिहरु मिलेर २०७१ माघ १२ गते नेपाल सरकार कम्पनी रजिष्ट्रारको कार्यालयमा माबिलुङ्ग इनर्जी प्राइभेट लिमिटेड कम्पनीको रुपमा दर्ता भई कारोबार सञ्चालन गर्दै आएको थियो। कम्पनीमा आयोजना प्रभावित क्षेत्र (उद्योग प्रभावित क्षेत्र) का बासिन्दा तथा सर्वसाधारणहरुको जनसहभागिता विस्तार गर्ने हेतुले २०७६ फागुन १२ गते पब्लिक लिमिटेड कम्पनीमा परिणत भई माबिलुङ्ग इनर्जी लिमिटेडको नाममा कारोबार सञ्चालन गर्दै आएको छ।
कम्पनीको रजिष्टर्ड कार्यालय ललितपुर वडा नं. १०, कुपण्डोलमा रहेको छ। आवश्यकता अनुसार स्वीकृति लिई स्वदेश तथा विदेशमा पनि शाखा कार्यालय खोल्न वा मूल कार्यालय सार्न सकिनेछ। कम्पनीको जलविद्युत उत्पादन केन्द्र संखुवासभा जिल्ला, मादि नगरपालिमा वडा नं.७ मा रहेको छ।
हाल कम्पनीमा १५ जना संस्थापक शेयरधनीहरु छन्। कम्पनीका संस्थापक शेयरधनीहरु विद्युत, बैंक÷वित्तीय क्षेत्र, बीमा, स्वास्थ्य, शैक्षिक क्षेत्र एवं व्यापार/व्यवसायको साथै व्यवस्थापन क्षेत्रमा लामो समयदेखि दखल भएका प्रतिष्ठित व्यक्तित्वहरु रहेका छन्।
कम्पनीले संखुवासभा जिल्लाको माथिल्लो पिलुवाखोला—३ जलविद्युत आयोजनाबाट ४.९५ मेगावाट जलविद्युत उत्पादन गर्ने उद्देश्य अनुरुप जलविद्युत आयोजनाको निर्माण, उत्पादन तथा सञ्चालन गर्न विद्युत उत्पादनको अनुमतिपत्र नेपाल सरकार उर्जा मन्त्रालयबाट २०७७ साउन ९ गतेका दिन प्राप्त गरेको थियो।
कम्पनीले निर्माण गरेको ४.९५ मेगावाटको माथिल्लो पिलुवाखोला–३ जलविद्युत आयोजनाको कुल अनुमानित लागत १ अर्ब १३ करोड ६० लाख रुपैयाँ रहेको छ भने प्रतिमेगावाट अनुमानित लागत २२ करोड ९५ लाख रुपैयाँ रहेको छ। सो जलविद्युत आयोजनाको विद्युत अनुमतिपत्र ३१ बाँकी रहेको छ। सो आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ९.४३ वर्ष रहेको छ भने डिस्काउण्टमा लगानी फिर्ता हुने अवधि १७.०९ वर्ष रहेको छ।
आईपीओ जारी गर्नुको उद्देश्य
कम्पनीको प्रबन्ध–पत्रमा रहेको जारी पूँजीको ४८.९९९८ प्रतिशत शेयर सर्वसाधारणमा बिक्री गर्नुपर्ने प्रावधान अनुरुप १८ करोड ९० लाख ५३ हजार रुपैयाँ शेयर पूँजी बराबर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा, सर्वसाधारण नेपाली नागरिकहरुलाई बिक्री गरी कम्पनीको चुक्ता पूँजी ३८ करोड ५८ लाख २४ हजार रुपैयाँ पुर्याउने र कम्पनीमा सर्वसाधारण शेयरधनीको प्रतिनिधित्व सुनिश्चित गर्ने धितोपत्र जारी गर्नुको मुख्य उद्देश्य रहेको छ।
त्यसैगरी, कम्पनीको प्रबन्ध–पत्र तथा नियमावलीमा उल्लेख गरिएका उद्देश्यहरु अनुरुप गर्नुपर्ने कार्यहरुको लागि आवश्यक पर्ने पूँजी संकलन गर्न र कर्जा भुक्तानी र वित्तीय अवस्था सुधार गर्नका लागि पनि कम्पनीले आईपीओ जारी गरेको हो।
आईपीओबाट प्राप्त रकम कहाँ प्रयोग गरिन्छ?
आईपीओ निष्काशनबाट संकलन भएको १८ करोड ९० लाख ५३ हजार रुपैयाँमध्ये १४ करोड ९९ लाख रुपैयाँ कम्पनीले बैंकको ऋण भुक्तानी गर्नका लागि प्रयोग गर्नेछ। त्यस्तै, बाँकी रहेको रकम कम्पनीले सिभिल निर्माण, हाइड्रो मेकानिकल कार्यको निर्माण र प्रशारण लाइनको निर्माणमा खर्च गर्नेछ।
कम्पनीले लक्ष्मी सनराइज बैंकबाट ४८ करोड ९४ लाख रुपैयाँ र हिमालयन बैंकबाट २५ करोड ३ लाख ७७ हजार रुपैयाँ कर्जा लिएको छ।

वित्तीय अवस्था
गत आर्थिक वर्षको चैत मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको सञ्चित नाफा १ करोड २४ लाख २२ हजार रुपैयाँ रहेको छ। सो अवधिसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १०६ रुपैयाँ ९५ पैसा रहेको छ।
अघिल्लो आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीको वास्तविक सञ्चित नाफा १ करोड १६ लाख ४ हजार रुपैयाँ थियो। सो अवधिसम्ममा कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थ १०५ रुपैयाँ ९० पैसा थियो भने प्रतिशेयर आम्दानी १ रुपैयाँ ५२ पैसा थियो।
गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीले १ करोड १२ लाख ७८ हजार रुपैयाँ सञ्चित नाफा कमाउने प्रक्षेपण गरेको छ। सो अवधिसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १०२ रुपैयाँ ९२ पैसा रहने प्रक्षेपण गरेको छ भने प्रतिशेयर आम्दानी ८ पैसा ऋणात्मक हुने प्रक्षेपण गरिएको छ।

सञ्चालक समितिको संरचना
कम्पनीको नियमावलीको नियम २७ मा भएको व्यवस्था अनुसार ५ जना सञ्चालक सदस्य रहेको सञ्चालक समिति रहने व्यवस्था छ। जसमध्ये संस्थापक शेयरधनीहरुबाट निर्वाचित ३ जना, स्वतन्त्र सञ्चालक १ जना र सर्वसाधारण शेयरधनीहरुबाट निर्वाचित १ जना रहने व्यवस्था रहेको छ।
कम्पनीको सञ्चालक समितिको अध्यक्षमा होम बहादुर श्रेष्ठ रहेका छन्। त्यस्तै, कम्पनीका अन्य सञ्चालकमा आँचल मास्के र शिव राज भण्डारी रहेका छन्। अध्यक्ष श्रेष्ठ एशियन लाइफ इन्स्योरेन्स कम्पनीका प्रतिनिधि हुन् भने सञ्चालक भण्डारी गुहेश्वरी मेर्चन्ट बैंकिङ्ग एण्ड फाइनान्सका प्रतिनिधि हुन्।
भावी योजना तथा रणनीति
कम्पनीको उद्देश्य माबिलुङ्ग इनर्जी लिमिटेडबाट ४.९५ मेगावाट निर्माण गरी सञ्चालन गर्ने रहेको छ। हाललाई कम्पनीको भावी योजना माथिल्लो पिलुवाखोला—३ जलविद्युत आयोजनाबाट ४.९५ मेगावाट निर्माण कार्य सम्पन्न गरेर यस आयोजनालाई सुचारु रुपमा सञ्चालन गर्ने र आयोजना निर्माणको क्रममा लिएका ऋण सुविधाहरु भुक्तानी गर्ने रहेको छ।
कम्पनीको मुख्य उद्देश्य नेपालको जलविद्युत विकासमा एक अग्रणी कम्पनीको रुपमा स्थापित गर्नु रहेको छ। नयाँ जलविद्युत आयोजनाहरुको सम्भावयता अध्ययन गरी अन्य जलविद्युत आयोजनाहरु समेत निर्माण गर्ने, सरकारी निकायहरुसँग भएको सम्झौता बमोजिम देशमा रहेको जलश्रोतको अधिकतम उपयोग गरी विद्युत उत्पादन गर्ने कम्पनीको उद्देश्य रहेको छ। कम्पनीले आफनो उद्देश्य प्राप्तिका लागि व्यवसायिक रूपमा सम्भाब्य देखिएको जलविद्युत आयोजनाहरुमा लगानी गर्ने योजना बनाएको छ।
ओपनिङ्ग रेञ्ज कति?
आईपीओ बाँडफाँटपश्चात कम्पनीको शेयर दोस्रो बजारमा कारोबार हुनका लागि नेप्सेमा सूचीकृत हुन्छ। पहिलो कारोबारका लागि नेप्सेले ओपनिङ्ग रेञ्ज प्रदान गर्दछ। नेप्सेले वास्तविक प्रतिशेयर नेटवर्थका आधारमा कम्पनीलाई ओपनिङ्ग रेञ्ज दिन्छ। कम्पनीले वास्तविक नेटवर्थको ३ गुणासम्म ओपनिङ्ग रेञ्ज प्राप्त गर्दछ।
आर्थिक वर्ष २०८०/८१ मा कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थ १०५ रुपैयाँ ९० पैसा रहेको छ। यस अनुसार नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि १०५ रुपैयाँ ९० पैसादेखि ३१७ रुपैयाँ ७० पैसासम्मको ओपनिङ्ग रेञ्ज प्रदान गर्ने देखिन्छ।