अघिल्लाे आर्थिक वर्षको तथ्यांक संशोधन गर्दा प्रभु बैंकको नाफामा देखियो ९६५ प्रतिशतको वृद्धिदर

Aug 13, 2025 06:43 AM Merolagani



प्रभु बैंक लिमिटेड (PRVU) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा उल्लेख्य बढेको छ।

गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकले ५ अर्ब ४४ करोड रुपैयाँ खुद नाफा कमाएको छ। हाल प्रकाशित वित्तीय विवरण अनुसार बैंकको यो नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ९६५.४१ प्रतिशत बढी हो।

हाल प्रकाशित वित्तीय विवरणमा अघिल्लो आर्थिक वर्षको खुद नाफा ५१ करोड ८ लाख रुपैयाँ मात्र छ। जसका कारण नाफा वृद्धिदर उल्लेख्य देखिएको हो। बैंकले गत वर्ष प्रकाशित गरेको विवरण अनुसार २०८१ असार मसान्तसम्ममा बैंकको खुद नाफा ४ अर्ब ४८ करोड रुपैयाँ थियो।

बैंकले इम्पेरमेन्ट चार्जमा हेरफेर गरेका कारण खुद नाफामा उल्लेख्य वृद्धि देखिएको हो। गत वर्ष प्रकाशित विवरण अनुसार २०८१ असार मसान्तसम्ममा बैंकको इम्पेरमेन्ट चार्ज ५५ करोड ६८ लाख रुपैयाँ थियो। तर हाल प्रकाशित विवरण अनुसार सोही अवधिसम्ममा बैंकको यस्तो चार्ज ४ अर्ब ७१ करोड रुपैयाँ रहेको छ। यही कारण बैंकको नाफा घट्न गई हालको नाफा वृद्धिदर बढी देखिएको हो।

२०८२ असार मसान्तसम्ममा बैंकको प्रतिशेयर आम्दानी २३ रुपैयाँ १२ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १६२ रुपैयाँ र मूल्य आम्दानी अनुपात ९.६ गुणा रहेको छ। सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ४ करोड रुपैयाँ रहेको छ भने वितरणयोग्य प्रतिशेयर आम्दानी ४ रुपैयाँ ४४ पैसा रहेको छ।




सोलु हाइड्रोपावरको आईपीओ बाँडफाँट

Jan 26, 2026 04:34 PM

सोलु हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । कम्पनीकाे शेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको कार्यालयमा आईपीओ बाँडफाँट भएको हो।