बेलायत र युरोपको थोक बजारमा कारोबारको सुरुवाती समयमा ग्यासको मूल्य करिब २५ प्रतिशतले बढेको थियो। यद्यपि पछि यसमा केही गिरावट आयो। युरोपमा ग्यासको मूल्य अमेरिका-इजरायल र इरानबिचको युद्ध सुरु हुनुभन्दा अघिको तुलनामा अहिले दोब्बर बढी भएको छ। तेलको मूल्यमा पनि वृद्धि देखिएको छ। ब्रेन्ट क्रुड को मूल्य १० प्रतिशतले बढेर एक समय प्रति ब्यारल ११९ डलर नाघेको थियो। बेलायतमा ग्यासको मूल्य हाल करिब २५ प्रतिशतले बढेर १७५ पेन्स प्रति 'थर्म' पुगेको छ।

बुधवार साँझ विश्वकै ठुलो प्राकृतिक ग्यास क्षेत्रमध्ये एक, इरानको 'साउथ पार्स' ग्यास केन्द्रमा हमला भएपछि मूल्यमा यो उछाल आएको हो। यसको बदलामा इरानले कतारमा रहेको एक प्रमुख तरल प्राकृतिक ग्यास निर्यात केन्द्रलाई निशाना बनाएको छ। जसबाट "ठुलो क्षति" भएको बताइएको छ। यसले विश्वव्यापी ऊर्जा आपूर्तिमा चिन्ता बढाएको छ।
कतारको 'रास लाफान' मा भएको यो हमला, इजरायलले इरानको साउथ पार्स ग्यास क्षेत्रमा रहेको पेट्रोकेमिकल कम्प्लेक्समा हमला गरेको रिपोर्टहरू सार्वजनिक भएपछि भएको हो। यस पछिल्लो समाचारले शेयर बजारलाई पनि प्रभावित पारेको छ। लामो समयसम्म द्वन्द्व चल्दा अर्थतन्त्रमा पर्न सक्ने प्रभावलाई लिएर लगानीकर्ताहरू चिन्तित छन्। जापानको निक्केई सूचकाङ्क ३.४ प्रतिशतले घट्यो भने बिहीबार बिहान लन्डनको FTSE 100 मा १.७% प्रतिशतको गिरावट देखियो।
'द इकोनोमिस्ट' का कमोडिटी सम्पादक म्याथ्यु फाभासले बिबिसीको 'टुडे' कार्यक्रममा बोल्दै ग्यासको मूल्यमा भएको यो वृद्धि "अत्यधिक" भएको बताएका छन्। उनले भने, "कतारको ग्यास केन्द्रमा भएको आक्रमणका कारण यस्तो भएको हो। यो केन्द्र केही हप्तामा पुनः सञ्चालन हुने आशा थियो, तर कैयौँ मिसाइल प्रहार र प्रत्यक्ष क्षतिका कारण अब यो महिनौँसम्म बन्द रहन सक्छ। यी केन्द्रहरूले विश्वको कुल LNG आपूर्तिको पाँचौँ हिस्सा ओगट्छन्। त्यसैले बजारले दीर्घकालीन अवरोधको अनुमान गरिरहेको छ।" यद्यपि, उनले अहिलेको मूल्य रुस-युक्रेन युद्धपछिको उच्चतम विन्दुभन्दा अझै धेरै तल रहेको पनि बताए।
इरानको सेनाले आफ्नो ऊर्जा पूर्वाधारमा भएको हमलाको "निर्णायक कारबाही" गर्ने चेतावनी दिएको छ। 'तास्निम' समाचार एजेन्सीका अनुसार इरानले भनेको छ, "यदि हाम्रो देशको इन्धन, ऊर्जा र ग्यास पूर्वाधारमा 'अमेरिकी-सियोनवादी' शत्रुले हमला गरेमा, हामी शत्रुमाथि शक्तिशाली प्रत्याक्रमण मात्र गर्ने छैनौँ। बरु त्यो आक्रमणको उद्गम स्थलमा पनि कडा प्रहार गर्नेछौँ।"
कतारले पनि सोही ग्यास क्षेत्रमा काम गर्छ, जसलाई उसले 'नर्थ डोम' भन्छ। विश्वको २० प्रतिशत LNG उत्पादन गर्ने कतारले द्वन्द्वका कारण मार्चको सुरुमै उत्पादन रोकेको थियो। कतारको आन्तरिक मन्त्रालयले बुधवार राति रास लाफानमा लागेको आगो नियन्त्रणमा लिएको र कोही पनि घाइते नभएको जानकारी दिएको छ।
बीपीका पूर्व रणनीति प्रमुख किन बटलरले भने, "यो हमलाले विश्व बजारमा LNG को आपूर्ति निश्चित रूपमा कटौती गर्नेछ। अबको डर भनेको बजारले परिस्थिति अझ खराब हुने अपेक्षा गर्नु हो। उनको विचारमा, राष्ट्रपति ट्रम्पले एउटा यस्तो समस्याको बाकस खोल्नुभएको छ। जसले गर्दा यस क्षेत्रको दैनिक घटनाक्रममा उहाँको नियन्त्रण गुमेको छ।"
ह्वाइट हाउसले तेलको बढ्दो मूल्यलाई मध्यनजर गर्दै सन् १९२० को 'जोन्स एक्ट' लाई ६० दिनका लागि निलम्बन गरेको छ। यो कानुनले अमेरिकी बन्दरगाहहरूबिच सामान ओसारपसार गर्न अमेरिकी जहाज मात्र प्रयोग गर्नुपर्ने नियम राखेको थियो। यसको निलम्बनले गैर-अमेरिकी जहाजहरूलाई पनि तेल र ग्यास ढुवानी गर्न अनुमति दिनेछ। जसले आपूर्ति सहज बनाउने अपेक्षा गरिएको छ।
यसैबिच, इरानले आफ्नो आन्तरिक माग पूरा गर्न इराकलाई दिँदै आएको ग्यास आपूर्ति पनि बन्द गरेको छ। तथ्याङ्क अनुसार इरानले आफ्नो कुल ग्यास उत्पादनको ९४ प्रतिशत आन्तरिक रूपमै खपत गर्ने गर्दछ।