यस दिन नेप्से परिसूचक १९.७० अंक बढेर २८५१.०९ विन्दुमा पुगेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ३.२६ अंक बढेको छ भने फ्लोट इण्डेक्स १.२४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.०२ अंक बढेको छ।
नेप्से बढेपनि यस दिन कारोबार रकम भने घटेको छ। अघिल्लो कारोबार दिन अर्थात सोमबार करिब १३ अर्ब रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३३९ स्टकको १ लाख ३७ हजार ८५७ पटकको कारोबारमा ११ अर्ब ११ करोड २४ लाख १८ हजार रुपैयाँबराबरको २ करोड ७९ लाख ४२ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
यस दिन ५ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन रिलायन्स स्पिनिङ्ग मिल्स, भुजुङ्ग हाइड्रोपावर, सुपर खुदी हाइड्रोपावर, रिज लाइन इनर्जी र होटल फरेष्ट इनको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। त्यस्तै, यस दिन सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकको शेयरमूल्य करिब १० प्रतिशत बढेको छ भने अन्य स्टकहरुको मूल्य वृद्धिदर ४ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको सप्तकोशी डेभलपमेन्ट बैंकको शेयरमूल्य सर्वाधिक ८.९६ प्रतिशत घटेको छ।
कारोबार रकमका आधारमा यस दिन रिडी हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ४८ करोड ४८ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन अपि पावर कम्पनीको करिब ४१ करोड रुपैयाँको शेयर किनबेच भएको छ भने एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको कारोबार रकम साढे ३७ करोड रुपैयाँ नाघेको छ।
१३ उपसमूहमध्ये यस दिन ११ उपसमूहको परिसूचक बढेको छ भने २ उपसमूहको परिसूचक घटेको छ। यस दिन उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक १.९४ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन वित्त उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ भने होटल तथा पर्यटन उपसमूहको परिसूचक १ प्रतिशत बढेको छ। यस दिन म्युचुअल फण्ड र अन्य उपसमूहको परिसूचक सामान्य घटेको हो।