निर्वाचनको परिणामसँगै आशावादी भएको बजारमा पुनः करेक्सन हुन सुरु गरेको हो । बजार करेक्सन हुनुमा लगानीकर्ताहरुले आ-आफ्नै तर्क दिने गरेका छन् । नाफा सुरक्षा गर्न खाेज्दा र चैत मसान्तको प्रभावलगायतले बजार घट्न पुगेकाे लगानीकर्ता बुझाई छ ।
दोस्रो बजारमा एक पक्षले जोखिम देख्दा अर्को पक्षले सम्भावना देख्छ । बजारको अवस्थालाई लगानीकर्ताले बुझ्नु पर्छ । पछिल्लो समय समग्रमा लगानी अनुकुल रहेको लगानीकर्ता ललित ढुङ्गाना (रमेश) बताउँछन् । तीनै ढुङ्गानासँग सुधा देवकोटाले गरेको कुराकानीः
नयाँ सरकार बनेपनि बजार खासै बलियो देखिएको छैन। नयाँ उचाइको प्रतिक्षामा रहेका लगानीकर्ताहरु घट्दो दबाबमा छन्। के बजारले सरकारलाई नपत्याएको हो ?
शेयर बजार स्वभावैले निकै संवेदनशील हुन्छ। हाम्रो जस्तो विकासोन्मुख देशमा शेयर बजारलाई सानो सानो कुराले पनि प्रभाव पारेको हुन्छ। पछिल्लो समय बजारमा जुन उत्साह देखियो। त्यो स्थिर सरकार बन्ने अपेक्षाले हो । तर, एउटा कुरा के बुझ्नुपर्छ भने, बजारले सुखद समाचारहरूलाई अगाडि नै ‘प्राइस इन’ गरिसकेको हुन्छ। नयाँ सरकार बन्ने र अर्थतन्त्र बुझेका मानिसहरू नेतृत्वमा आउने खबरले बजार अघि नै राम्रो अंक सहितको वृद्धि भएको हो ।

शेयर बजारमा लगानीकर्ताहरुले आफू अनुकुलको रणनीति बनाएका हुन्छन। पछिल्लो राजनीतिक परिस्थितिमा बजारमा ट्रेडरहरूले ‘प्रोफिट बुकिङ’ गर्न खोज्दा केही गिरावट देखिएको हो। केही प्राविधिक र केही मनोवैज्ञानिक कारणले लगानीकर्ता अलिकति अत्तालिएको जस्तो देखिएको छ। समग्रमा बजारको लय सकारात्मक छ। मंगलबारको कारोबारलाई हेर्दा बजारले फेरि गल्ती सच्याएर वृद्धिको गति लिने संकेत गरेको देखिन्छ। त्यसैले, अहिलेको घटबढलाई एउटा स्वाभाविक प्रक्रियाका रूपमा लिनुपर्छ। यसमा लगानीकर्ताहरु डराउनु पर्ने कुनै कारण छैन।
बजार यो तीन हजार तल्लो विन्दुमा पहिलेदेखि नै पुग्ने फर्कने गरेको छ । तर नयाँ सरकार गठन हुँदा पनि बजारमा खासै ठूलो उत्साह देखिएन। तपाई यसलाई कसरी बुझ्नु हुन्छ?
सरकार र शेयर बजार बीचमा अन्तरसम्बन्ध रहेको हुन्छ । सरकारका गतिविधिले शेयर बजारमा धेरै ठूलो प्रभाव पारेको हुन्छ। विगतमा हुने गरेका सरकार परिवर्तन र राजनीति अस्थिरता अन्त्य भएको छ। नेपालको इतिहासमा विरलै मात्र यस्तो शक्तिशाली र दुई–तिहाइ नजिकको सरकार बनेको छ। यो लगानीकर्ताका लागि मात्र होइन, आम नागरिकका लागि पनि एउटा ठूलो अवसर हो। यो सरकारलाई लगानीकर्ताले विश्वास नगर्ने भन्ने कुरै हुँदैन। अहिलेको सरकारमा पढेलेखेका युवा, विज्ञ र आफ्नो क्षेत्रमा स्थापित भएका व्यक्तिहरूको सहभागिता छ।
जनताले चुनेर राष्ट्रिय स्वतन्त्र पार्टीलाई सरकारमा पठाएको छ । अहिलेका नेतृत्वकर्ताहरूलाई काम नगर्ने छुट छैन। किनकि विगतका शासकहरूका गल्तीले गर्दा मुलुकमा समस्या भएको थियो । अहिलेको सरकारले अर्थतन्त्रको मेरुदण्डका रूपमा रहेको पूँजी बजारलाई उपेक्षा गर्नै सक्दैन। अर्थमन्त्रीका रूपमा डा. स्वर्णिम वाग्ले जस्तो व्यक्तित्व हुनुहुन्छ। उहाँको भिजनले बजारलाई दीर्घकालीन रूपमा सकारात्मक प्रभाव पार्ने विश्वास गर्न सकिन्छ। अर्थमन्त्रीले अर्थतन्त्र सुधारका लागि बनेका समितिहरूको सुझाव कार्यान्वयन गर्ने प्रतिबद्धता जनाउनु भएको छ। पूँजी बजारको सुधार मुख्य प्राथमिकतामा छ। सरकारसँग लगानीकर्ताले कुनै शंका गर्नुपर्ने कुनै कारण छैन।
बैंक तथा वित्तीय संस्थाहरूसँग अधिक तरलता छ। असार मसान्त नजिकिँदै गर्दा के संस्थागत लगानीकर्ताहरू अब बजारमा आक्रामक रूपमा प्रवेश गर्ने सम्भावना देख्नुभएको छ?
हो, अहिलेको समय लगानीको लागि अत्यान्त महत्वपूर्ण छ। हरेक कम्पनीले आर्थिक वर्षको अन्त्यमा प्रगति विवरण देखाउनु नै पर्ने हुन्छ। अहिले बैंकहरूसँग लगानी गर्ने ठाउँ छैन। तर निक्षेपको ब्याज तिर्नु पर्दा खर्च बढेको छ। यस्तो अवस्थामा उनीहरूले लगानीका लागि सुरक्षित र मुनाफा दिने क्षेत्र खोजेका छन्। बैंकहरुको लागि अहिले लगानी गर्न पूँजी बजार अहिले सबैभन्दा उपयुक्त क्षेत्र हो। पूँजी बजारमा बैंक तथा वित्तीय संस्थाले लगानी गर्नका लागि नेपाल राष्ट्र बैंकले नीतिगत सहजिकरण गर्दै संस्थागत लगानीकर्ता (मार्केट मेकर)का रूपमा काम गर्न अझै सहज वातावरण सिर्जना गर्नुपर्छ।
समग्र परिस्थितिलाई मध्यनजर गरेर हेर्दा, आगामी हप्ताहरू लगानीकर्ताका लागि इतिहासकै ठूलो अवसर बन्न सक्ने देखिन्छ। बैंकको ब्याजदर न्यून विन्दुमा छ। प्रणालीमा तरलता पर्याप्त छ। कम्पनीहरूको प्रतिफल घोषणा गर्ने समय नजिक छ। यी तीनै कुराको संयोगले बजारलाई ठूलो राहत दिनेछ। स्मार्ट लगानीकर्ताहरूले यो अवसरलाई पक्कै पनि सदुपयोग गर्नेछन्। अबको हप्तादेखि बजारले राम्रो गति लिने छ।
सरकारले सार्वजनिक गरेको सय कार्ययोजनामा शेयर बजार’ विषयमा उल्लेख नभएको भन्दै लगानीकर्ताहरु असन्तुष्टि जनाएका छन्। के सरकारको प्राथमिकतामा शेयर बजार नपरेकै हो त?
मैले अघिपनि भनि सकेको छु । शेयर बजार संवेदनशील हुन्छ । शेयर बजारसँग सरोकार राख्ने व्यक्तिहरुका अभिव्यक्तिबाट बजार धेरै प्रभावित हुने गरेको हुन्छ । पहिलादेखि नै अर्थमन्त्रीले बोल्दा नै बजारमा घटबढ हुने गरेको थियो । तर, वास्तविक सुधार भनेको शब्दमा होइन ।नीतिमा हुनुपर्छ। अहिलेको सरकारको कार्ययोजनामा अर्थतन्त्र सुधारका जुन बुँदाहरू छन् । ती कार्यान्वयन हुनु शेयर बजारका लागि सुखद पक्ष हो। अर्थतन्त्र बलियो हुनु भनेकै शेयर बजार बढ्नु हो।
अहिलेका अर्थमन्त्री अर्थतन्त्रलाई राम्रोसँग बुझेको हुनुहुन्छ । अर्थमन्त्रीले पूँजी बजार सुधारका लागि सुझाव प्रतिवेदनमा उल्लेख भएका कुराहरु कार्यान्वयन गर्ने प्रतिवद्धता दिनु भएको छ । त्यसैले शेयर बजारका लगानीकर्ताले मन्त्रिपरिषदको निर्णयमा शेयर बजार सम्बोधन भए नभएको शब्दै खोजेर बस्नुभन्दा पनि नीतिगत स्थायित्व र कार्यान्वयनको पक्षलाई हेर्नुपर्छ। सरकारले बजारलाई अर्थतन्त्रको ऐनाका रूपमा बुझेकाे छ र सोही अनुसारको व्यवहार गर्नेमा म पूर्ण रुपमा विश्वस्त छु।
बजारमा गैर–आवासीय नेपाली (एनआरएन)हरूलाई पनि पूँजी बजारमा लगानी गर्न सहज गराउने कुरा छ । यसले बजारमा कति प्रभाव पार्छ ?
पूँजी बजारको लागि यो गेम–चेन्जर अस्त्र हो। धेरै समय पहिलेदेखि एनआरएनलाई बजारमा लगानी गर्न छुट दिने कुरा गरियो तर कार्यान्वयन भएको छैन। विदेशमा रहेका नेपालीहरूसँग ठूलो पूँजी छ। विकसित मुलुकमा कर बढी र मुनाफाको मार्जिन कम छ। तर, नेपालमा अनलाइन प्रविधिको विकासले गर्दा विदेशमै बसेर खाता खोल्न र कारोबार गर्न सकिने अवस्था छ। यदि सरकारले कानुनी जटिलता फुकाएर एनआरएनलाई सहजै प्रवेश दिने हो भने ठूलो विदेशी मुद्रा भित्रिनेछ। उनीहरू आफ्नो देश बन्दैछ भन्ने विश्वासमा लगानी गर्न आतुर छन्। पूँजी बजार त्यसको सबैभन्दा छिटो र भरपर्दो माध्यम बन्न सक्छ।
नियमनकारी निकाय 'इन्ट्रा डे’ कारोबार खुला गर्ने तयारीमा छ । यसले बजारमा कस्ताे प्रभाव पार्ला?
पूँजी बजारको लागि यो महत्वपूर्ण छ। यस्तो प्रकारको कारोबारमा सम्भावना र जोखिम दुवै भएको हुन्छ। त्यसको लागि नियामक निकायले नेपाली बजारको अवस्था र त्यसमा प्रयोग हुने प्रविधिलाई सुधार गर्नु जरुरी हुन्छ। यस्तो प्रकृतिको कारोबार गराउनु पर्छ। तर नियामक निकायले बजार अनुगमको पक्ष पनि बलियो बनाउनु पर्छ। बजारको कारोबार प्रणालीमा एकरूपता छैन। अहिले ब्रोकर अनुसार फरक–फरक टिएमएस हुने व्यवस्थाले पहुँचमा असमानता ल्याएको छ। नेप्सेले नै आफ्नो प्रणालीलाई अपग्रेड गरेर सबैलाई समान पहुँच दिनुपर्छ। त्यस्तै, संस्थापक र सर्वसाधारण शेयरको कारोबारलाई वर्गीकरण गर्नुपर्ने आवश्यकता छ।
मार्जिन लेन्डिङको हकमा,यसलाई अझ व्यावहारिक बनाउनुपर्छ। यो लगानीकर्ताहरुको माग नै हो । दोस्रो बजारमा कारोबार गर्ने लगानीकर्ताहरुको लागि सकारात्मक पक्ष हो। बैंकसम्म पहुँच नभएका तर वित्तीय ज्ञान भएका लगानीकर्ताले ब्रोकरमार्फत सहजै ऋण पाउने व्यवस्था धेरै प्रभावकारी हुने देखिन्छ । यो व्यवस्थामा सबै खाल लगानीकर्ताहरुलाई कर्जा प्राप्त गर्न सक्ने गरि व्यवस्था लागु गर्नुपर्छ । इन्ट्रा डे कारोबारको सुविधा केहि पछि धकेल्दा पनि हुन्छ । पहिले परिक्षण गरेर कार्यान्वयनमा ल्याउनु पर्छ। मार्जिन ल्याडिङ सुरु हुँदैछ । त्यसले बजारमा तरलताको प्रवाह गराउने सम्भावना देखिन्छ।
अन्त्यमा, आम लगानीकर्ताहरु यो बजार प्रति के कस्ता जिम्मेवारी रहेका हुन्छन ?
दोस्रो बजारमा लगानी गर्ने लगानीकर्ताहरु अति धैर्य भएर कारोबार गर्नुपर्ने हुन्छ। लगानीकर्ताहरू सानो कुरामा अत्तालिने र सानै कुरामा धेरै हौसिने गर्नु हुँदैन। बजारको विश्लेषण गर्दा लामो समयको फ्रेममा हेर्नुपर्छ। पछिल्लो १० वर्षमा खाद्यान्न, लत्ताकपडा र घरजग्गाको भाउ कति गुणा बढ्यो? तर, राम्रा कम्पनीहरूको शेयर मूल्य अझै पनि तल्लो विन्दुमै छ। यसको अर्थ बजारमा वृद्धि हुने ठाउँ धेरै छ।
पूँजी बजार सबैभन्दा पारदर्शी र विश्वसनीय क्षेत्र हो। यदि प्रणालीमा सुधार र नीतिगत स्पष्टता हुने हो भने नेप्से १० हजारको विन्दुमा पुग्नु कुनै असम्भव कुरा होइन। त्यसैले, हल्लाको पछि नलागी कम्पनीको आधारभूत अध्ययन गरेर धैर्यताका साथ लगानी गर्नु पर्छ । अहिले बजारबाट भाग्ने होइन। बुद्धिमानीपूर्वक प्रवेश गर्ने र होल्ड गर्ने समय हो।