बैंकमा बढ्दो खराव कर्जा र घट्दो नाफा: सीईओ घिमिरेको अग्निपरीक्षा

Apr 06, 2026 05:30 PM MeroLagani



गोविन्द घिमिरेले एनएमबी बैंकको प्रमुख कार्यकारी अधिकृतको रूपमा जिम्मेवारी लिएको झन्डै एक वर्ष पुगेको छ । उनले २०८२ वैशाखमा कार्यभार सम्हालेका थिए। 

लामो समयदेखि एनएमबी बैंकसँग आबद्ध उनले यसअघि नायव प्रमुख कार्यकारी अधिकृत र प्रमुख व्यवसाय अधिकृत जस्ता महत्वपूर्ण भूमिका निर्वाह गरेकाले बैंकको आन्तरिक कार्यप्रणाली र संस्कृतिबारे उनमा गहिरो ज्ञान छ। उनले आफ्नो कार्यकालमा बैंकलाई थप डिजिटल, समावेशी र दिगो बनाउने हिसाबले काम गरेको देखिन्छ। प्रविधिमा आधारित सेवाहरूको विस्तार र दिगो बैंकिङ अभ्यासहरूलाई उनले प्राथमिकतामा राखेका छन् । 

बैंक आफ्नो कर्पोरेट, रिटेल र एसएमई बैंकिङमा बलियो उपस्थितिका साथ अघि बढिरहेको छ। बैंकको कुल सम्पत्ति र दायित्वको संरचनामा स्थिरता कायम राख्न उनको नेतृत्वमा प्रयास भइरहेको देखिन्छ। उनको कार्यकालमा बैंकले परम्परागत बैंकिङ सेवालाई आधुनिक र प्रविधिमैत्री बनाउने चुनौती र अवसर दुवैलाई व्यवस्थापन गरिरहेको छ। उनको नेतृत्व शैली स्पष्ट रणनीतिक दृष्टिकोणमा आधारित मानिन्छ, जसले बैंकको समग्र व्यावसायीक छविलाई सकारात्मक राख्न मद्दत गरेको छ।

खराब कर्जामा चाप

पछिल्लो समय नेपालको समग्र बैंकिङ क्षेत्रले भोगिरहेको मुख्य समस्या खराब कर्जा हो। एनएमबी बैंकमा पनि यो प्रवृति देखिएको छ। आर्थिक वर्ष २०८१/८२ दोस्रो त्रैमासमा ३.९६% थियो। चालु आवको दोस्रो त्रैमासको वित्तीय विवरण अनुसार यो बढेर ४.५६% छ। खराब कर्जा बढ्दा बैंकले सम्भावित जोखिमका लागि राख्नुपर्ने रकम बढ्न गई नाफामा प्रत्यक्ष असर परेको छ। यसले गर्दा बैंकको नाफा कमाउने क्षमतामा केही गिरावट आएको तथ्यांकले देखाउँछ। खराब कर्जा बढेका कारण गत वर्ष ३४ करोड ४ लाख रुपैयाँ प्रोभिजन गरिएकोमा चालु आवमा यो रकम बढेर १ अर्ब ५५ करोड रुपैयाँ पुगेको छ जसले बैंकको नाफा घट्न गएको छ। विगतका वर्षहरूमा बैंकले वार्षिक २.५ अर्बदेखि ३ अर्ब रुपैयाँसम्म खुद नाफा आर्जन गर्ने गरेको थियो। आर्थिक वर्ष २०८०/८१ को अन्त्य र २०८१ को सुरुवाती त्रैमासहरूमा नाफामा करिब १५% देखि २०% सम्मको संकुचन देखिएको छ। कुनै समय २० रुपैयाँ भन्दा माथि रहेको प्रतिशेयर आम्दानी अहिले घटेर १७ रुपैयाँको वरपर खुम्चिएको छ।

बढ्दो निक्षेप र घट्दो कर्जा

बैंकले अहिले आक्रामक रूपमा कर्जा लगानी गर्नुभन्दा पनि सञ्चालन खर्च घटाउने र निक्षेप व्यवस्थापनमा जोड दिएको देखिन्छ। विगतमा वार्षिक १०–१५% को दरले कर्जा बढ्ने गरेकोमा हाल यो दर १०% भन्दा तल झरेको छ। चालु आवको दोस्रो त्रैमाससँग अघिल्लो आवको दोस्रो त्रैमास तुलना गर्दा पनि निक्षेप १८ प्रतिशतले बढ्दा कर्जा विस्तार भने ९ प्रतिशतले बढेको छ । अहिले बैंकको निक्षेप २ सय ९१ अर्ब ४४ करोड छ भन कर्जा लगानी २ सय ३९ अर्ब ४७ करोड रुपैयाँ छ ।

खुद ब्याज आम्दानीमा गिरावट

बैंकको मुख्य व्यवसाय भनेकै निक्षेपकर्तालाई दिने ब्याज र ऋणीबाट लिने ब्याजकाे फरक हो । यो आम्दानी गत वर्षको ४ अर्ब २५ करोडबाट ४ अर्ब ७ करोड रुपैयाँमा झरेको छ । यसले ब्याज दरको अन्तर व्यवस्थापनमा चुनौती रहेको देखाउँछ । राष्ट्र बैंकको नीतिका कारण स्प्रेड दर ४% भन्दा तल कायम गर्नुपर्दा बैंकको शुद्ध ब्याज आम्दानीमा करिब १०% को गिरावट आएको छ।

वितरणयोग्य नाफा

सेयरधनीहरूका लागि सबैभन्दा महत्वपूर्ण पक्ष लाभांश क्षमता हो। बैंकले बोनस र नगद गरी दोहोरो अंकको लाभांश (१०% भन्दा माथि) दिने क्षमता राख्दथ्यो । खराब कर्जाका कारण ठूलो रकम प्रोभिजनिङमा गएकाले वितरणयोग्य नाफा निकै न्यून रहेको छ, जसले गर्दा यस वर्ष लाभांश वितरणमा ठूलो चुनौती हुने देखिएको छ। गत वर्ष दोस्रो त्रैमाससम्म १ अर्ब ३३ करोड रुपैयाँ वितरणयोग्य नाफा रहेकोमा चालु आवमा यो नाफा ५६ करोड ५३ लाख रुपैयाँमा सीमित भएको छ । वितरणयोग्य नाफा घट्दा बैंकको लाभांश क्षमता १०.२५ रुपैयाँबाट घटेर ५.१८ रुपैयाँ प्रति शेयरमा सीमित हुन पुगेको छ ।

पुँजी कोष

बैंकको पुँजी कोष १२.६२ प्रतिशतबाट घटेर ११.८१ प्रतिशतमा झरेको छ। यसले बैंकलाई थप नयाँ कर्जा लगानी गर्न सकस हुने देखिन्छ ।

नेपाल बंगलादेश बैंकबाट बैकिङ करियर शुरु गरेका प्रमुख कार्यकारी अधिकृत घिमिरे विगत १६ वर्षदेखि एनएमबी बैकसँगै छन् । बैंकले आफ्नै इनहाउस प्रोडक्टलाई नै सीईओको जिम्मेवारीमा ल्याएको हुँदा ठूलो नीतिगत परिवर्तन देखिदैन । अर्थतन्त्रमा आएको चुनौतीसँगै खराब कर्जाको उचित व्यवस्थापन हुन नसक्दा इम्पेरिमेन्ट चार्जमा वृद्धि भई बैंकको नाफा घट्दो क्रममा रहेको देखिएको छ ।




शेयर बजार सुधारका लागि अर्थमन्त्री वाग्लेले 'ब्रेक थ्रु' गर्दै: शेयर बजारमा तत्काल के के हुँदै छ ?

Apr 01, 2026 05:58 AM

शेयर बजार (नेप्से) परिसूचक दुई दिनमा नै एक सय १८ अंक भन्दा बढीले घटेपछि दबाबमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पूँजीबजार सुधारका लागि विशेष कार्य योजना ल्याउने तयारी गरेका छन्।