चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा आर्थिक वृद्धिदर ४.०५ प्रतिशत, ऊर्जा क्षेत्रको योगदान उच्च

Apr 06, 2026 05:51 PM Merolagani



राष्ट्रिय तथ्यांक कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासिक (कार्तिक, मंसिर र पुस) को राष्ट्रिय लेखा तथ्यांक सार्वजनिक गर्दै नेपालको आर्थिक वृद्धिदर ४.०५ प्रतिशत रहने प्रारम्भिक अनुमान गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा मापन गरिएको यो वृद्धिदरले अर्थतन्त्रका विभिन्न क्षेत्रहरू बिस्तारै चलायमान हुँदै गएको संकेत गरेको छ।

तथ्यांक अनुसार यस अवधिमा विद्युत् उत्पादन र वितरणमा भएको उल्लेख्य विस्तारका कारण विद्युत् तथा ग्यास क्षेत्रमा सबैभन्दा बढी २२.७४ प्रतिशतको उच्च वृद्धिदर हासिल भएको छ। त्यसैगरी, निक्षेप संकलन, ऋण प्रवाह र बीमा प्रिमियममा भएको सुधारले वित्तीय तथा बीमा क्षेत्रमा १२.५१ प्रतिशत र यातायात तथा भण्डारण क्षेत्रमा ९.६५ प्रतिशतको उत्साहजनक वृद्धि देखिएको छ।

अर्थतन्त्रको मुख्य हिस्सा ओगटेको कृषि, वन तथा मत्स्य क्षेत्रमा भने २.२१ प्रतिशतको सामान्य वृद्धि हुने अनुमान छ। धान उत्पादनमा केही गिरावट आए तापनि पशुजन्य उत्पादन, फलफूल र तरकारीको उत्पादनमा भएको बढोत्तरीले कृषि क्षेत्रलाई सकारात्मक दिशामा राखेको देखिन्छ। यस्तै, थोक तथा खुद्रा व्यापार क्षेत्रमा ४.११ प्रतिशत र आवास तथा भोजन सेवामा ५.१८ प्रतिशतको वृद्धिदर कायम भएको छ।

मौसमी प्रभाव समायोजित तथ्यांकलाई हेर्दा चालु आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा दोस्रो त्रैमासमा समग्र अर्थतन्त्र २.०४ प्रतिशतले बढेको छ। कुल १८ वटा औद्योगिक वर्गीकरणमध्ये १६ वटा क्षेत्रमा अघिल्लो त्रैमासको तुलनामा धनात्मक सुधार देखिएको छ। यद्यपि, निर्माण सामग्रीको आयातमा भएको कमी र केही स्वदेशी औद्योगिक वस्तुको उत्पादनमा आएको गिरावटका कारण वृद्धिदर सामान्य अवस्थामा सीमित भएको कार्यालयले जनाएको छ।

राष्ट्रिय तथ्यांक कार्यालयले सन् २०१०/११ (आर्थिक वर्ष २०६७/६८) लाई आधार वर्ष मानेर स्थिर मूल्यमा यो अनुमान तयार पारेको हो। कार्यालयका अनुसार पानी आपूर्ति तथा फोहोर व्यवस्थापन, सार्वजनिक प्रशासन र शिक्षा जस्ता केही क्षेत्रमा भने १ प्रतिशतको हाराहारीमा न्यून वृद्धि देखिएको छ। समग्रमा, ऊर्जा र वित्तीय क्षेत्रको बलियो उपस्थितिले गर्दा अर्थतन्त्र संकुचनबाट जोगिएर विस्तारको बाटोमा लागेको देखिन्छ।




शेयर बजार सुधारका लागि अर्थमन्त्री वाग्लेले 'ब्रेक थ्रु' गर्दै: शेयर बजारमा तत्काल के के हुँदै छ ?

Apr 01, 2026 05:58 AM

शेयर बजार (नेप्से) परिसूचक दुई दिनमा नै एक सय १८ अंक भन्दा बढीले घटेपछि दबाबमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पूँजीबजार सुधारका लागि विशेष कार्य योजना ल्याउने तयारी गरेका छन्।