सोमबार नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको नेतृत्वमा अर्थमन्त्रीलाई भेट्न पुगेको प्रतिनिधिमण्डलसँग अर्थमन्त्रीले सरकार राजस्व संकलनमा वृद्धि ल्याउने र कर पनि घटाउने गरी काम गरिरहेको बताएका हुन् ।
राजस्वमा वृद्धि हुने गरी करको दर घटाउन चाहेको, राजस्वको दायरा विस्तार गर्न लागेको भन्दै निजी क्षेत्रमैत्री नीति ल्याइने आश्वासन उनले दिए। सरकारले अनियमितता हटाउन आवश्यक पहल गर्ने, सडक निर्माणका लागि ठूलो लगानी गर्ने र आउँदो बजेटका सन्दर्भमा नाडासँग पुनः छलफल गर्ने अर्थमन्त्री वाग्लेको भनाइ थियो।
छलफलको क्रममा अध्यक्ष उप्रेतीले नेपालको अटोमोवाइल उद्योग फस्टाउनका लागि आयातित कच्चा पदार्थहरूमा छुट दिनुपर्ने बताएका थिए। आयातकर्तालाई केही सहज भए पनि उद्योगहरूलाई कठिनाइ भइरहेको उनको भनाइ थियो।
उप्रेतीले टायर ट्युब, ब्याट्री, लुब्रिकेन्ट्स र हेलमेट जस्ता विभिन्न अटोमोवाइल वस्तुहरू नेपालमै उत्पादन भइरहे पनि त्यसको गुणस्तर मापन गर्ने यन्त्रहरू सरकारसँग नभएकोले व्यवसायीहरूले विभिन्न समस्याहरूको सामना गर्नु परिरहेकाले सरकारले अटोमोवाइल वस्तुहरूको उत्पादनका लागि आवश्यक वातावरण तयार गरिदिन आग्रह उनले गरे।
अध्यक्ष उप्रेतीले नाडाको तर्फबाट ३६ बुँदे लिखित राय सुझावहरू समेत पेस गरेका थिए।