आईतवार निजी क्षेत्रका प्रतिनिधिहरुको भेटमा उनले सरकारको उद्देश्य निजी क्षेत्रलाई हतोत्साही बनाउने नभई नीति सुधार गर्ने रहेको बताए । उनले सरकारको सुशासन अभियानमा साथ दिन उद्योगी व्यवसायीहरुलाई आग्रह गरे । उनले सरकार उद्योगी व्यवसायीहरुसँग सहकार्य गरेर नै अगाडी बढ्न चाहेका बताए । तर अर्थतन्त्रलाई कमजोर बनाउने गतिविधिहरूमा राज्यले कडाइका साथ निगरानी राख्ने उनको भनाई छ । विगतमा राजनीतिक अस्थिरता र परिवेशका कारण व्यवसायीहरू विभिन्न शक्तिकेन्द्रको दबाबमा परेका घटनाहरूलाई सरकारले राम्रोसँग बुझेको उनले बताए । उनले अब अवस्था नदोहोरिनेमा ढुक्क हुन आग्रह गरे । सरकार सरकारले उधोगी व्यवसायीलाई नीतिले नै सुरक्षा दिने उनको भनाई छ ।
उनले भने, ‘तपाईंहरुको मनोबल अलिकति के भएको हो ? कस्तो भएको हो, अलिकति डर त्रास देखिएको भन्ने सुनेको कारणले तपाईंहरुसँग बसेर छलफल गर्न खोजेको हो । तपाईंहरु अलिकति पनि चिन्ता मान्न पर्दैन । यो सुशासनको एजेण्डालाई अलिकति द्रुत गतिमा अगाडी बढाउनको लागि केही प्रश्नहरु तपाईंकोसम्म आइपुगेछ भने त्यसलाई यहाँहरुले सहज रुपमा लिईदिनुहोला । तर हामी मिलेर नै काम गर्ने हो । सरकारको कुनै व्यवसायीलाई हतोत्साही बनाएर, उसको व्यवसायलाई धराशायी बनाएर जाने कुनैपनि उद्देश्य छैन । हामीले बोक्नुपर्ने वा अफ्ठ्यारोमा पार्नुपर्ने तपाई कोही पनि हुनुहुन्छ । त्यसैले जुन किसिमको डर भएको हो कि भन्ने तपाईंहरुमा जुन वातावरण सिर्जना भएको छ, कुनैपनि डरबाट तपाईहरु मुक्त हुनुहोला । कुनैपनि किसिमको डर कायम राख्न जरुरी छैन । तर कतिपय स्टेपहरु यसरी चालिएको छ, यो ईकोनोमीलाई नै कोल्याप्स पार्नेगरी संस्थाहरुलाई क्याप्चर गरेर हरेक ठाउँमा भएका विभिन्न गतिविधिहरुलाई राज्यले निर्ममतापूर्वक हेर्नै पर्ला नी । त्यो नगरि तपाईहरू कसरी सुरक्षित हुनुहुन्छ, अर्थतन्त्र कसरी सुरक्षित हुन्छ । कहिलेकाही परिस्थितिले, कानूनले, अफ्ठ्याराहरुले, राजनितिक परिवेश र अस्थिर राजनीतिको सिकार बनेर तपाईहरु बाध्य भएर कयौँ राजनीतिक दलका नेताको ढोका ढक्ढक्याउन बाध्य हुनुभएको छ । उनीहरुको स्वार्थ पूरा गरिदिँदा कहिलेकाही तपाईहरुले मूल्य र मान्यताको सीमारेखाहरु पार गर्नुपरेको छ । त्यो हामीले बुझेका छौँ, विर्सेका छैनौँ र विर्सिदैनौँ पनि । अब तपाईहरु निर्धक्क हुनुहोला, चिन्ता गर्नुपर्ने आश्यकता छैन ।’
उनले वर्तमान सरकार चुनावमा आफूहरुले गरेको वाचापत्रको आधारमा नै सञ्चालन हुने बताए । जनताले वाचापत्र हेरेर नै भोट दिएको उल्लेख गर्दै उनले वाचापत्रभन्दा दायाँबायाँ नजाने दाबी गरे । उनले उद्योगी व्यवसायीहरुलाई आफ्ना कमीकमजोरीलाई पनि मूल्याङ्कन गर्न आग्रह गरे। आन्तरिक लेखापरीक्षण गर्न सुझाव दिँदै उनले विगतका कमजोरी सच्याउने प्रक्रियामा राज्यसँग सहकार्य गर्न आग्रह गरे । नीतिगत सुधार, सुशासन र आर्थिक सुधार नै वर्तमान सरकारको मुख्य लक्ष्य रहेको उनको भनाई छ । उनले आर्थिक सुधारका लागि गरिने कानून कार्यान्वयनका क्रममा आवश्यक सहयोग गर्न व्यवसायीहरू तयार हुनुपर्नेमा जोड दिए । उनले विगतमा जस्तो उद्योगी व्यवसायीहरु समस्या लिएर नेताको घरघरमा पुग्न नपर्ने बताए ।
उनले भने, ‘यो सरकार वाचा पत्र हेरेर चल्छ । यही भनेर हामीले भोट मागेका हौँ । जनताले हामीलाई भोट दिएको पनि यो वाचा गरेको हुनाले हो । यसभन्दा अगाडि के भयो, त्यसको क्रिटिसिजममा मैले समय खेर फाल्नु नै छैन, तपाईंहरु सबैलाई थाहा पाएकै कुरा हो । हिजो जुन अवस्थामा राजनीति थियो, त्यो अवस्थामा तपाईँहरू बाध्य हुनुभयो, तपाईँहरूमध्ये दुई जनाले पनि मेरो घर देख्नुभएको छैन, होला । बाँकीलाई पनि भन्छु तपाईँले कहिल्यै मेरो घर देख्नु पर्दैन । तपाईँले कहिल्यै मेरो पार्टीको सदस्यता लिनुपर्दैन । तपाईं मेरो पार्टीको अफिसमा एक पाइलो टेक्नु पर्दैन । चाहिनै पर्दैन, जरुरतै छैन । पोलिसीले प्रोटेक्ट गर्ने हो । कुनैपनि जरुरत छैन, हिजो तपाईँको बाध्यताले गर्दा तपाईँहरूले गरेका सबै कामहरू गैरकानुनी भएनन् होलान्, तर गरेका सबै कामहरू कानुनको दायराभित्र परेनन् कि ? देशकाल परिस्थिति समय पोलिटिक्सले हामीले गरेका सबै कामहरू कानुनको दायराभित्र परेन् कि भन्ने कुराले तपाईँहरूलाई चिन्तित बनाएको हो न हो, यो चल्दैन र अरू राइट पनि चल्दैन, एउटा कटअफ पोइन्ट त चाहिन्छ । हामी त्यो कटअफ पोइन्टमा आइपुगेका छौँ । अब हामी यसरी जान सक्दैनौँ । मेरो यहाँहरूलाई अनुरोध के छ भने तपाईँहरूले आफैले पनि एकचोटि सबै बसेर इन्टरनल अडिट गर्नुपर्छ । हामीले पनि त केही मिस्टेक्सहरू गर्यौँ होला नि भन्ने कुराको अडिट तपाईँहरूबाट भयो भने हामीलाई सजिलो हुन्छ । पोलिसी रिफर्म गर्नुपर्ने आवश्यकता छ । जहाँ पोलिसी रिफर्म गर्नुपर्ने हुन्छ, त्यहाँ हामीलाई समस्या छैन । मलाई मेरो पार्टीलाई हाम्रा नेताहरूलाई एक रुपैयाँ पनि चाहिएको छैन, हामीले पैसा कमाउन चाहेको दिन त सकियो त देश ! पैसा कमाउन कति २०, ३०, ४० सेकेण्डभन्दा बढी त लाग्दैन होला मलाई वा हाम्रा नेताहरूले पैसा कमाउन खोज्यौँ भने तर हामी त्यहाँ बिल्कुल छैनौँ । हामी कम्प्लिट त्यहाँ छैनौँ, मैले अलिकति स्ट्रेट फरवार्ड भएर तपाईँहरूलाई भन्न खोजेको कारण के भने हाम्रो पोलिसीले तपाईँहरूलाई प्रोटेक्ट गर्छ, अलिकति पनि तपाईंहरूले डाउट मान्नुपर्दैन, नो डाउट अबाउट इट थोरै पनि डाउट तपाईंहरू नराख्नुस् । तर मुलुकले अलिकति डिपार्चर लिने यो बेलामा अलिकति गभर्नेन्सका कुराहरूलाई हामीले प्रायोरिटीमा लिएर आएको कुरामा त्यहाँ केही न केही स्टेप्सहरू चल्छन् । त्यो स्टेप्सहरू चल्दाखेरी उद्योग व्यवसाय गरिरहेका साथीहरूको उहाँहरूको केही इन्भल्भमेन्ट देखिएको खण्डमा कानुनलाई सघाउने सिलसिलामा तपाईँहरूले केही न केही मद्दत तपाईँहरूबाट राज्यले चाहन्छ, त्यहाँ केही ट्राभल हुन सक्ला । तर त्यसलाई यहाँहरूले अन्यथा नलिईकन अगाडि बढ्नुभयो भने हामी एउटा पोइन्टमा पुग्छौँ ।’
सरकारले ५–७ वर्षभित्र मध्यम आय भएको मुलुक बन्ने लक्ष्य राखेको उल्लेख गर्दै उनले उक्त लक्ष्य प्राप्तिका लागि निजी क्षेत्रको भूमिका महत्वपूर्ण हुने बताए । निजी क्षेत्रको क्षमताका आधारमा नै सरकारले लक्ष्य निर्धारण गरेको उनको भनाई छ । उनले सरकार लगानीमैत्री वातावरण बनाउन तयार रहेकोले निर्धक्क भएर व्यापार व्यासाय सञ्चालन गर्न आग्रह गरे ।