अधिवेशनले आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्नेछ । विधानको मौजुदा व्यवस्था अनुसार वर्तमान वरिष्ठ उपाध्यक्ष मोहनकुमार डाँगी यसपटक स्वतः अध्यक्षमा चयन हुँदैछन् । तर, आगामी कार्यकालदेखि भने यो व्यवस्था हटाउने कि कायम राख्ने भन्ने विषयमा इप्पानभित्र दुई धार देखिएको छ ।

विधान संशोधनको तयारी
इप्पानले यस पटकको साधारणसभाबाट विधान संशोधनको प्रस्ताव स्वीकृत गराउने तयारी गरेको छ । प्रस्तावमा आगामी कार्यकालका लागि 'वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने' व्यवस्थालाई खारेज गरी अर्को पटकदेखि अध्यक्ष पदका लागि पनि चुनावी प्रतिस्पर्धा गर्ने उल्लेख छ । यदि साधारणसभाबाट यो प्रस्ताव पारित भएमा अबको तीन वर्षपछि हुने निर्वाचनमा अध्यक्षका लागि पनि मतदान हुनेछ ।
वरिष्ठ उपाध्यक्षमा तीन आकांक्षीः फरक–फरक अडान
यसपटक वरिष्ठ उपाध्यक्ष पदका लागि तीन जना प्रबल आकांक्षी देखिएका छन्— हिम पाठक, प्रकाश दुलाल र उत्तम भ्लोन लामा । यी तीनै उम्मेदवारहरूको विधान संशोधन र नेतृत्व चयनको प्रक्रियाका बारेमा भने आफ्नै खाले तर्क र अडान छन् ।
आकांक्षीहरू प्रकाश दुलाल र हिम पाठक विधान संशोधनको पक्षमा उभिएका छन् । उनीहरूले यसपटकदेखि नै 'वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने' व्यवस्था हटाउनु पर्ने वा अर्को पटकको नेतृत्वका लागि चुनावी प्रतिस्पर्धा नै गर्नुपर्ने दाबी गरिरहेका छन् । नेतृत्वमा लोकतान्त्रिक अभ्यास हुनुपर्ने उनीहरूको तर्क छ ।
अर्का आकांक्षी उत्तम भ्लोन लामा भने अहिलेकै व्यवस्थालाई निरन्तरता दिनुपर्ने पक्षमा छन् । इप्पानको नेतृत्वमा युवाहरूको आवश्यकता रहेको र यसपटक वरिष्ठ उपाध्यक्षमा निर्वाचित हुने व्यक्ति अर्को पटक स्वतः अध्यक्ष हुने सुनिश्चितता हुनुपर्ने उनको अडान छ । लामाले अर्को पटकका लागि पनि यो व्यवस्था कायम राख्नुपर्ने धारणा राख्दै आएका छन् ।
साधारणसभाको मुख्य कार्यसूची
मंगलबार हुने साधारणसभाले विधान संशोधनको प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्नेछ । उक्त प्रस्ताव बहुमतबाट पारित भएमा इप्पानको आगामी नेतृत्व चयन प्रक्रियामा ठूलो परिवर्तन आउनेछ । स्वतः अध्यक्ष बन्ने व्यवस्था हटेको खण्डमा यसपटक वरिष्ठ उपाध्यक्षमा चुनिने उम्मेदवारले आगामी कार्यकालमा अध्यक्ष बन्नका लागि फेरि चुनावी मैदानमा उत्रनुपर्नेछ ।
ऊर्जा उद्यमीहरूको छाता संगठन इप्पानको यो अधिवेशनलाई नेपालको जलविद्युत र ऊर्जा क्षेत्रको भविष्यसँग जोडेर निकै चासोका साथ हेरिएको छ । चुनाव र विधान संशोधनको यो रस्साकस्सीले साधारणसभा थप रोचक हुने देखिएको छ ।
एनएनसीसीआईको सिको गर्दै इप्पान
केही दिन अघिमात्र नेपाल उद्योग वाणिज्य महासंघ(एफएनसीसीआई) को निर्वाचन सम्पन्न भइसकेको छ । महासंघको निर्वाचनमा पनि यसपाली वरिष्ठ उपाध्यक्ष अन्जनकुमार श्रेष्ठ स्वतः अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् । आगामी कार्यकालका लागि वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुन नहुने व्यवस्थाका लागि विधान संशोधन गर्नुपर्ने माग उठेको थियो ।
महासंघको चुनावी प्रक्रियालाई सिको गर्दै इप्पानले पनि वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्था हटाउने वा राख्ने उम्मेदवार बीच पनि मत फरक फरक छ ।