पक्राउ नगर्ने आश्वासन दिँदै धमाधम पक्राउ गर्दै सरकार, सरकारकाे नियतमाथि व्यवसायी संशकित

May 12, 2026 10:29 AM mero lagani



सोमबार नेपालकै प्रमुख निर्माण कम्पनीमध्ये एक शर्मा एन्ड कम्पनीका अध्यक्ष रमेश शर्मा पक्राउ परेका छन् ।

सोमबार नै लामा कन्स्ट्रक्सनका पीताम्बर बडु पनि पक्राउ परेका छन् ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पछिल्लो पटक शुक्रबार साँझ काठमाडौंमा आयोजित एक कार्यक्रममा ‘निजी क्षेत्रका व्यवसायीलाई थुन्ने धरपकड गर्ने कुनै सूची सरकारले बनाएको छैन् । अब कोही पक्राउ पर्दैन । तपाईंहरू हल्लाको पछि नपर्नुस्, तपाईंहरू हाम्रो साझेदार हो,’ भन्ने आश्वासन दिएको ७२ घण्टा नवित्तै दुई जना निर्माण व्यवसायीहरु सरकारी ठेक्का अलपत्र पारेको आरोपमा पक्राउ परेका छन् ।

 

यो घटना पछि निर्माण व्यवसायीहरु मात्र होइन, समग्र उद्यमी व्यवसायी सरकारी नियतप्रति झस्किएका छन् । नेपाल निर्माण व्यवसायी महासंघका पूर्वअध्यक्ष शर्मा नेपालका ‘पायोनियर’ निर्माण व्यवसायी मानिन्छन् । निर्माण व्यसाय क्षेत्रका मात्र होइन, अन्य क्षेत्रका व्यवसायीहरु पनि शर्मालाई आदर्श मान्छन् । तर, तिनै शर्मा ठेक्का अलपत्र पारेको आरोपमा पक्राउ पर्नु सामान्य घटना नभएको व्यवसायीहरुको भनाई छ ।

बालेन सरकार बनेपछि धमाधम सहकर्मीहरु पक्राउ पर्न थालेपछि अत्तालिएका उद्यमी व्यवसायीहरुलाई ढाढस दिनको लागि अर्थमन्त्री वाग्लेले मात्र होइन, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलगायतका नेताहरुले समेत उद्यमी व्यवसायी अब पक्राउ नपर्ने, दोषी भए पक्राउ नगरिकनै कारवाहीको दायरामा ल्याउने आश्वासन दिँदै आएका छन् । तर, व्यवसायीहरु पक्राउ पर्ने क्रम रोकिएको छैन । ‘या त पार्टी सभापति लामिछाने तथा उपसभापतिसमेत रहेका अर्थमन्त्री वाग्लेको कुरै सुनुवाई हुँदैन, उनीहरुलाई पुरै व्यवस्था गरेर सरकार अगाडि बढिरहेको छ भन्नु पर्यो, या त उनीहरुले व्यवसायीसँग साखुल्ले बन्दै पर्दा छातीमा छुरा रोप्ने रणनीति अपनाएको हुनु पर्यो,’ नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित एक पदाधिकारीले मेरो लगानीसँग भने ।

चैत्र दोस्रो साता प्रधानमन्त्री बालेन नेतृत्वको रास्वपा सरकार गठन भए यता एक पछि अर्काे गर्दै एक दर्जन भन्दा धेरै चर्चित व्यवसायीहरु पक्राउ परेका छन् । सम्पत्ति शुद्धीकरण मुद्दामा चैत्र १५ गते पूर्व उर्जामन्त्री तथा जलस्रोत उद्यमी दीपक खड्का पक्राउ परेपछि शुरु भएको उद्यमी पक्राउ पर्ने लहर सोमबार रमेश शर्मा र पीताम्बर बडुसम्म आइपुगेको छ । अर्थमन्त्री वाग्लेले ‘अर्थमन्त्री वाग्लेले उद्यमी पक्राउ पर्ने लिष्ट छैन, ढुक्कले काम गर्नुस’ भन्दा भन्दै धमाधम पक्राउ पर्ने क्रम रहेकोले यो सृंखला कहाँ गएर कहिले टुंगिने हो ? व्यवसायीहरु सशंकित भएका छन् ।

को को व्यवसायी कुन कुन अभियोगमा पक्राउ परे ?

बैशाख २८: निर्माण व्यवसायी रमेश शर्मा र पीताम्बर बडु पक्राउ ।

वैशाख २५: तोकिएको मापदण्डभन्दा कम तौल राखि प्याकेजिङ्ग गरी बिक्री वितरण गरेको अभियोगमा सूर्यमुखी तेल उत्पादक कम्पनीका सञ्चालक विजय श्रेष्ठ पक्राउ ।

बैशाख १७ः लिखतसम्बन्धी कसूर गरेको आरोपमा व्यवसायी नवीन कुमार अग्रवाल पक्राउ ।

बैशाख १७ः सार्वजनिक खरिद प्रणाली ह्याक गरी ठेक्का विवरण हेरफेर गरेको अभियोगमा कालिका कन्स्ट्रक्सनका संचालक, पूर्वमन्त्री तथा निर्माण व्यवसायी  विक्रम पाण्डे पक्राउ ।

सोही अभियोगमा भीषण कन्स्ट्रक्सनका सञ्चालक टंककुमार श्रेष्ठ पक्राउ । चपुर निर्माण सेवा प्रालिका सञ्चालक अमृत बोहरा पक्राउ ।

वैशाख १५: नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडका अध्यक्ष आशिष श्रेष्ठ पक्राउ ।

वैशाख १०: हिमालयन रि–इन्स्योरेन्स कम्पनीमा भएको आर्थिक अनियमितता प्रकरणमा नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष शेखर गोल्छा पक्राउ  ।

चैत २१ः हिमालयन रि–इन्स्योरेन्स कम्पनीमा भएको आर्थिक अनियमितता प्रकरणमा व्यवसायी सुलभ अग्रवाललाई पक्राउ  ।

चैत २० शंकर समूहका अध्यक्ष शंकरलाल अग्रवाललाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ ।
चैत १९ गते हिमालयन रि–इन्स्योरेन्स कम्पनीमा भएको आर्थिक अनियमितता प्रकरणमा व्यवसायी दीपक भट्ट पक्राउ  ।




यस्ता छन् मन्त्रिपरिषद् बैठकका चार निर्णय

May 08, 2026 01:10 PM

मन्त्रिपरिषद् बैठकले चार निर्णय गरेकाे छ । आज बसेको मन्त्रिपरिषद् बैठकले यस्ता निर्णय गरेको हाे ।