उनले कालीगण्डकी नदीको शालिग्रामलाई गिटी र बालुवाका रुपमा कौडीको भाऊमा बेचिएको बताए । ‘शालिग्राम पाइने एकमात्र नदी कालीगण्डकी हो । तर, यो आज कौडीको भाऊमा बेचिएको छ । शालिग्रामलाई गिटी र वालुवाको जम्मा वर्षको ३५ लाखमा मात्र ठेक्का लगाइएको छ,’ उनले भने ।
त्यस्तै उनले नदीको दोहन रोक्न जनस्तर र जनप्रतिनिधिले धेरै ठाउँमा धेरै पटक आवाज उठाए पनि दोहन नरोकिएको बताए । ‘नदीमा भइरहेको दोहन रोक्नका लागि जनस्तर र हामी जनप्रतिनिधिले धेरै ठाउँमा धेरै पटक आवाज उठाउँदा पनि यो रोकिएको छैन,’ उनले भने ।
उनकाअनुसार, नदी दोहन नरोकिए बागमती नदीजस्तै अर्को मृत नदी बन्ने अवस्था आएको हो । ‘अब पनि दोहन रोकनौं भने बागमती जस्तै अर्को मृत नदी यसलाई बनाउँदैछौं । तसर्थ, यस सदनमार्फत म जोडदार माग गर्दछु कि नदी दोहन तुरुन्त रोकियोस्, नदीलाई संरक्षित नदीका रुपमा घोषणा गरियोस् ।’
उनले नदी दोहन रोक्न र संरक्षण गर्न कालीगण्डकी संरक्षण ऐन पास गरी कार्यान्वयन गर्न सरकारसँग माग गरे ।
‘यसै सदनले कालीगण्डकी संरक्षण ऐन पास गरी तत्काल कार्यान्वयन गरोस्,‘ उनले भने । त्यस्तै, उनले मध्यपहाडी लोकमार्गको बागलुङ–बिहुँ सडक खण्डको काम तत्काल सम्पन्न गर्न ठेकेदार कम्पनीलाई तोकेता गर्न सरकार समक्ष माग गरेका छन् ।