जेरोम पावेल अमेरिकी केन्द्रिय बैंक ‘फेड’ को अन्तरिम अध्यक्षमा नियुक्त

May 17, 2026 09:10 AM Merolagani



अमेरिकी केन्द्रिय बैंक, फेडरल रिजर्भ बोर्डले जेरोम पावेललाई अन्तरिम अध्यक्ष नियुक्त गरेको छ ।

 नवनियुक्त अध्यक्ष केभिन वार्सले शपथ ग्रहण नगरेसम्म पावेलले सो पदको जिम्मेवारी सम्हाल्ने फेडले शुक्रवार जानकारी दिएको हो । फेडरल रिजर्भको वेबसाइटमा प्रकाशित प्रेस विज्ञप्तिअनुसार नेतृत्व परिवर्तनको संक्रमणकालीन समयमा बहालवाला अध्यक्षलाई नै अन्तरिम जिम्मेवारी दिनु पुरानै प्रचलन र अभ्यास अनुरूप हो । पावेलको फेड अध्यक्षका रूपमा दोस्रो चार वर्षे कार्यकाल शुक्रवार औपचारिक रूपमा समाप्त हुँदैछ ।

उनको उत्तराधिकारीका रूपमा केभिन वार्सको नाम दुई दिनअघि मात्र अमेरिकी सिनेटबाट अनुमोदन भएको थियो । 

पावेलले केन्द्रिय बैंकको स्वायत्तता र स्वतन्त्रता कायम राख्ने विषयमा चासो व्यक्त गर्दै निश्चित अवधिसम्म फेडरल रिजर्भ बोर्डको गभर्नरका रूपमा कायम रहने बताउनुभएको छ । फेडको गभर्नरका रूपमा उहाँको कार्यकाल सन् २०२८ को जनवरीसम्म रहेको छ । 

यसअघि, वासिङ्टन डीसीस्थित फेडको मुख्यालयको मर्मत सम्भारका क्रममा भएको भनिएको अनियमितताको विषयमा पावेलमाथि न्याय मन्त्रालयले फौजदारी अनुसन्धान शुरु गरेको थियो । पछि, एक रिपब्लिकन सिनेटरले राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा मनोनित फेडका सबै उम्मेदवारहरूलाई रोक्ने चेतावनी दिएपछि सो अनुसन्धान फेडकै ‘इन्स्पेक्टर जनरल’ लाई हस्तान्तरण गरिएको थियो ।