यस साता पाँच कारोबार दिनका लागि बजार खुलेको थियो। जसमध्ये दुई कारोबार दिन नेप्से बढेको थियो भने तीन कारोबार दिन घटेर बन्द भएको थियो।
यस साता सेन्सेटिभ इण्डेक्स ३.५२ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.०९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.०९ अंक घटेको छ।
नेप्सेसँगै यस साता कारोबार रकम पनि घटेको छ। गत साता दैनिक औषतमा ५ अर्ब ६२ करोड रुपैयाँको शेयर खरिदबिक्री भएको बजारमा यस साता दैनिक औषतमा ५ अर्ब ३८ करोड रुपैयाँको शेयर किनबेच भएको छ। गत साताको तुलनामा यस साताको दैनिक औषत कारोबार रकम ४.१७ प्रतिशत घटेको हो। त्यस्तै, यस साता दैनिक औषत शेयर संख्या ११.२३ प्रतिशत घटेको छ भने दैनिक औषत कारोबार संख्या ६.६० प्रतिशत घटेको छ।
यस साता नेप्सेको कुल बजार पूँजीकरण पनि करिब १ प्रतिशत बढेको छ। गत साताको अन्तिम कारोबार दिन ४७ खर्ब ४६ अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पूँजीकरण, यस साता ४५ अर्ब रुपैयाँ घटेर ४७ खर्ब १ अर्ब रुपैयाँमा सीमित भएको छ।

१३ उपसमूहमध्ये यस साता ५ उपसमूहको परिसूचक बढेको छ भने ८ उपसमूहको परिसूचक घटेको छ। यस साता वित्त उपसमूहको परिसूचक सर्वाधिक ६.९१ प्रतिशत बढेको छ। गत साता २३८५.३५ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, यस साता १६४.९२ अंक बढेर २५५०.२७ विन्दुमा पुगेको छ। अंकका आधारमा भने यस साता निर्जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक ५११.३८ अंक बढेको छ।
कारोबारमा आएको व्यापार उपसमूहको परिसूचक यस साता सर्वाधिक ६.९८ प्रतिशत घटेको छ। गत साता ३८०२.९७ विन्दुमा बन्द भएको सो उपसमूहको परिसूचक, यस साता २६५.३१ अंक घटेर ३५३७.६६ विन्दुमा झरेको छ। अंकका आधारमा यस साता उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक ३०८.१७ अंक घटेको छ।

यस साता तीन कम्पनीको ७ करोड ७१ लाख ६० हजार कित्ता शेयर नेप्सेमा सूचीकृत भएको छ। यस साता एनएमबि बैंक र माछापुच्छ्रे बैंकको अविमोच्य असञ्चिति शेयर र सोपान फर्मास्युटिकल्सको आईपीओ नेप्सेमा सूचीकृत भएको हो।

यस साता कालिञ्चोक हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक १०१.०६ प्रतिशत बढेको छ। गत साता ३७६ रुपैयाँ ८० पैसामा अन्तिम कारोबार भएको यस कम्पनीको शेयर, यस साता ७५७ रुपैयाँ ६० पैसामा अन्तिम कारोबार भएको छ। त्यस्तै, यस साता सेन्ट्रल फाइनान्सको शेयरमूल्य करिब २५ प्रतिशत बढेको छ भने नेपाल पुनर्बीमा कम्पनीको शेयरमूल्य करिब साढे १७ प्रतिशत बढेको छ। कारोबारमा आएको बुंगल हाइड्रोको शेयरमूल्य यस साता सर्वाधिक १६.७५ प्रतिशत घटेको छ। त्यसैगरी, यस साता रिज लाइन इनर्जीको शेयरमूल्य साढे १३ प्रतिशतभन्दा बढी घटेको छ भने होटल फरेष्ट ईनको शेयरमूल्य करिब साढे १० प्रतिशत घटेको छ।

फ्लोरसिट विश्लेषण गर्दा यस साता ग्लोबल आइएमई बैंक, कालिञ्चोक हाइड्रोपावर, चिलिमे हाइड्रोपावर कम्पनी लगायतका स्टकहरु मोस्ट पपुलर बाइ स्टक सूचीको शीर्ष स्थानमा रहेका छन् भने अप्पर साङ्गे हाइड्रोपावर, विन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, त्रिशुली जलविद्युत कम्पनी लगायतका स्टकहरु मोस्ट पपुलर सेल स्टक सूचीको शीर्ष स्थानमा रहेका छन्।

