टोलीको सङ्ख्या बढेसँगै छ हप्ताको खेल तालिकामा कुल १०० भन्दा बढी खेलहरू हुनेछन्, जुन सन् २०२२ को कतार विश्वकपमा खेलाइएका ६४ खेलको तुलनामा निकै बढी हो।
आयोजक राष्ट्रहरू अमेरिका, क्यानडा र मेक्सिकोको समय क्षेत्र (टाइम जोन) अनुकूल रहेका कारण विश्वभरका दर्शकको सङ्ख्या अझ बढ्ने बेन्यनले बताए। यसले युरोप, ल्याटिन अमेरिका र अफ्रिकाका सट्टेबाजहरूमाझ माग अझ बढाउनेछ।
यो वृद्धिको अर्को मुख्य कारण अमेरिकामा तीव्र रूपमा विस्तार भइरहेको खेलकुद सट्टेबाजी बजार पनि हो। हाल अमेरिकाको कुल जनसङ्ख्याको करिब ६५ प्रतिशत हिस्सा खेलकुदमा कानुनी रूपमा जुवा खेल्न सक्षम छन्, जुन सन् २०२२ मा केवल ४० प्रतिशत मात्र थियो। यसको अर्थ, यो यस्तो पहिलो विश्वकप हुनेछ जहाँ धेरैजसो अमेरिकी नागरिकहरूले कानुनी रूपमा बाजी थाप्न पाउनेछन्।
यद्यपि, बेन्यनले सचेत गराउँदै भनेका छन्—यदि सट्टेबाजी कम्पनीहरूले एकपटक मात्र बाजी थाप्ने सामान्य प्रयोगकर्ताहरूलाई 'दोहोर्याएर बहु-खेलहरूमा बाजी लगाउने' नियमित ग्राहक बनाउन सकेनन् भने, यो प्रतियोगिता सट्टेबाजीका ठूला कम्पनीहरूका लागि ठूलो धक्का पनि सावित हुन सक्छ। उनले आफ्नो डिजिटल प्लेटफर्ममा क्यासिनो सुविधासमेत उपलब्ध गराएका कम्पनीहरूले यो अवसरबाट सबैभन्दा बढी फाइदा उठाउने उल्लेख गरे।
'स्टप प्रिडेटरी ग्याम्बलिङ' का राष्ट्रिय निर्देशक लेस बर्नालले विश्वकपका खेलहरूमा जुवा खेलाइँदा "विश्वभरका लाखौँ मानिसहरू, विशेष गरी युवा वर्ग, जीवन नै बर्बाद पार्ने ऋण र ठूलो आर्थिक सङ्कटमा फस्ने" चेतावनी दिएका छन्।
बर्नालले थपे, "सट्टेबाजी गर्ने १०० जनामध्ये ९९ जनाले दीर्घकालीन रूपमा पैसा गुमाउँछन्। व्यावसायिक खेल जुवा सञ्चालकहरूको व्यापारिक मोडेल पूर्ण रूपमा जुवाको लतमा फसेका व्यक्तिहरूमाथि टिकेको हुन्छ। यो यस्तो खतरनाक लत हो, जसका कारण मानिसहरू आत्महत्या गर्ने अवस्थासम्म पुग्छन्, जुन अन्य कुनै पनि कुलतको तुलनामा सबैभन्दा बढी दर्दनाक छ।"
उनले विश्वकपको समयमा उपभोक्ताहरूलाई यस प्रकारको 'दलदल' मा फस्न नदिन र जुवाको लत फैलाउने गतिविधिहरूलाई रोक्न विश्वभरका राजनीतिज्ञ तथा नीति निर्माताहरूलाई अपिल गरेका छन्।
बेलायतका जुवा सुधार अभियानकर्ता म्याट जार्ब-कजिनका अनुसार, विश्वकपमा बाजी राख्ने सट्टेबाजहरूलाई कम्पनीहरूले थप घातक र बढी लत लाग्ने अनलाइन क्यासिनो खेलहरूका लागि आकर्षित गर्ने (क्रस-प्रमोट गर्ने) जोखिम रहन्छ।

'नेसनल सेन्टर फर सोसल रिसर्च' को प्रतिवेदन अनुसार बेलायतमा जुवा कम्पनीहरूले आर्जन गरेको कुल नाफाको ७९ प्रतिशत रकम सबैभन्दा बढी खर्च गर्ने शीर्ष १० प्रतिशत प्रयोगकर्ताहरूबाट आउने गर्दछ, जसले वर्षमा कम्तीमा ५,६३९ पाउन्ड भन्दा बढीको बाजी थाप्छन्।
पूर्वानुमान बजारको नियमन
अमेरिकामा अनलाइन पूर्वानुमान बजार (प्रेडिक्सन मार्केट) सँग सम्बन्धित नियमहरू अझ कडा बनाउन लागिएको सन्दर्भमा म्याक्वेरीको यो प्रतिवेदन सार्वजनिक भएको हो।
बुधबार, तेल तथा अन्य कमोडिटी बजारका साथै पूर्वानुमान बजारको नियामक अमेरिकी निकाय 'कमोडिटी फ्युचर्स ट्रेडिङ कमिसन' (CFTC) ले आतंकवाद, हत्या, युद्ध, जुवा (गेमिङ) वा सङ्घीय वा राज्यको कानुनविपरीत हुने गैरकानुनी गतिविधिमा आधारित रहेर बाजी थाप्ने (सट्टेबाजी गर्ने) कार्यलाई प्रतिबन्ध लगाउने वा नियमन गर्ने नयाँ नीतिगत ढाँचा प्रस्ताव गरेको छ।
इरान वा युक्रेन युद्ध जस्ता संवेदनशील विषयहरूमा प्रयोगकर्ताहरूलाई एकअर्काविरुद्ध बाजी थाप्न दिने प्लेटफर्मका कारण यस्ता पूर्वानुमान बजारहरू विवादमा तानिँदै आएका छन्।
यस्तो आलोचनापछि, पूर्वानुमान बजार सञ्चालक कम्पनी 'कल्सी' (Kalshi) ले अब त्यस्ता विषयहरूमा बाजी खेलाउन बन्द गरेको छ।
यद्यपि, यसको प्रतिस्पर्धी प्लेटफर्म 'पोलिमार्केट' ले अहिले पनि यस्ता विषयमा बाजी राख्ने सुविधा दिइरहेको छ, तर उसले यसबाट कुनै शुल्क भने असुल गर्दैन। पोलिमार्केटले बीबीसीसँग कुरा गर्दै यस्ता बजारहरूलाई प्लेटफर्मबाट हटाउँदैमा वास्तविक घटनाहरूमा कुनै असर नपर्ने दाबी गरेको छ।