‘मुटु नेपाल’ नेपाली फेसन उद्योगमा उदाइरहेको एउटा यस्तो स्वदेशी ब्रान्ड हो, जसले कपडालाई केवल पहिरनका रूपमा होइन,भावना,पहिचान र जीवनशैलीको अभिव्यक्तिका रूपमा प्रस्तुत गरिरहेको छ।
यस ब्रान्डका संस्थापक हुन् उद्यमी सुमित कुमार बन्सल,जसले करिब डेढ दशकभन्दा लामो अनुभवलाई आधार बनाएर नेपाली फेसन बजारमा आफ्नै पहिचान निर्माण गरिरहेका छन्। उनका लागि ‘मुटु’ केवल एउटा नाम होइन, नेपालीपन, माया, आत्मीयता र सम्बन्धको प्रतीक हो। यही भावनालाई केन्द्रमा राखेर उनले ‘मुटु नेपाल’लाई एउटा फरक सोच र दृष्टिकोणसहित अगाडि बढाएका छन्।
‘मुटु नेपाल’को यात्रा सन् २०२० को कोरोना महामारी र त्यससँगै लागू भएको लकडाउनको कठिन समयमा सुरु भएको हो। त्यो समय अधिकांश उद्योग–व्यवसाय संकटमा थिए। विदेशबाट आयात हुने रेडिमेड कपडाको आपूर्ति लगभग बन्द भएको थियो। बजारमा अनिश्चितता थियो, तर सुमितले त्यही परिस्थितिमा एउटा सम्भावना देखे।
उनको मनमा प्रश्न उठ्यो— “जब नेपालमा दक्ष जनशक्ति र बजार दुवै छन् भने गुणस्तरीय र सुलभ मूल्यका कपडा स्वदेशमै किन उत्पादन गर्न सकिँदैन ?”
वर्षौदेखि ‘मोनालिजा टेक्सटाइल’ सञ्चालन गर्दै आएका सुमितले आफ्नो अनुभवलाई आधुनिक सोचसँग जोड्दै ‘मुटु नेपाल’को अवधारणा विकास गरे। उनले स्वदेशमै उत्पादन गरेर नेपाली उपभोक्तालाई गुणस्तरीय,आकर्षक र किफायती कपडा उपलब्ध गराउने लक्ष्य लिए। आज त्यही प्रयासले मूर्त रूप लिँदै गएको छ। देशका प्रमुख खुद्रा व्यापारिक केन्द्र भाटभटेनी मा ‘मुटु नेपाल’का उत्पादनहरू बिक्री भइरहेका छन्, जसले ब्रान्डको बढ्दो लोकप्रियताको संकेत दिन्छ।
सुमितका अनुसार फेसनको अर्थ केवल आकर्षक डिजाइन वा विशेष अवसरका लागि लगाइने महँगा कपडा होइन। उनी फेसनलाई दैनिक जीवनसँग जोडेर हेर्छन्।
उनको विचारमा मानिसले आफूलाई सहज,आत्मविश्वासी र प्रस्तुतयोग्य महसुस गर्ने पहिरन नै वास्तविक फेसन हो। चाहे कार्यालय जाँदा होस्, साथीभाइसँग भेटघाट गर्दा होस् वा सामान्य दैनिक गतिविधिमा सहभागी हुँदा— व्यक्तित्वलाई सहज रूपमा झल्काउने कपडाले नै मानिसलाई विशेष बनाउँछ।
यही सोचका कारण ‘मुटु नेपाल’ केवल कपडा उत्पादन गर्ने कम्पनीमा सीमित छैन। यसले उपभोक्ताको जीवनशैली,आत्मविश्वास र पहिचानलाई केन्द्रमा राखेर आफूलाई ‘लाइफस्टाइल ब्रान्ड’का रूपमा स्थापित गर्न खोजिरहेको छ।
हाल ‘मुटु नेपाल’ले विशेषगरी महिलाका लागि विभिन्न प्रकारका आधुनिक तथा गुणस्तरीय पहिरन उत्पादन गरिरहेको छ। छोटो समयमै महिला ग्राहकबीच राम्रो पहिचान बनाउन सफल भएको ब्रान्ड अब आफ्नो दायरा विस्तार गर्ने तयारीमा छ।
कम्पनीले पुरुष र बालबालिकाका लागि पनि नयाँ कलेक्सन बजारमा ल्याउने अन्तिम तयारी गरिरहेको छ। यससँगै ‘मुटु नेपाल’ सम्पूर्ण परिवारका लागि एकै स्थानमा फेसन समाधान प्रदान गर्ने लक्ष्यतर्फ अघि बढिरहेको छ।
कुनै पनि उद्यमको सफलतामा टोलीको भूमिका महत्वपूर्ण हुन्छ। ‘मुटु नेपाल’को यात्रामा पनि परिवार नै सबैभन्दा ठूलो शक्ति बनेको छ।
सुमितलाई उनका भाइले व्यवस्थापन र सञ्चालनमा महत्वपूर्ण साथ दिइरहेका छन् भने भाइकी श्रीमती रुचिकाले कम्पनीको क्रिएटिभ डाइरेक्टरका रूपमा ब्रान्डको डिजाइन र प्रस्तुतीकरण पक्ष सम्हालिरहेकी छन्। परिवारकै सामूहिक प्रयास, समर्पण र विश्वासले ‘मुटु नेपाल’लाई निरन्तर अगाडि बढाउन मद्दत गरिरहेको छ।
नेपालमा उत्पादनमूलक उद्योग सञ्चालन गर्नु सजिलो काम होइन। दक्ष जनशक्ति अभाव, गुणस्तरीय कच्चा पदार्थको उपलब्धता, उत्पादन लागत र बजार प्रतिस्पर्धाजस्ता चुनौतीहरू हरेक दिन सामना गर्नुपर्ने विषय हुन्।
तर यी कठिनाइहरूलाई अवसरका रूपमा रूपान्तरण गर्ने प्रयासमा सुमित र उनको टोली लागिरहेका छन्। उनीहरूको विश्वास छ, गुणस्तरमा सम्झौता नगरी निरन्तर सुधार गर्दै जाने हो भने उपभोक्ताको विश्वास जित्न सकिन्छ।
यसको प्रमाण पनि उनीहरूले पाइसकेका छन्। एकपटक ‘मुटु नेपाल’का कपडा प्रयोग गरेका धेरै ग्राहकहरू पुनः त्यही ब्रान्ड खोज्दै फर्किने गरेका छन्। यही पुनरागमनले ब्रान्डप्रतिको विश्वास र सन्तुष्टिको स्तर झल्काउँछ।
सुमितको लक्ष्य केवल नेपाली बजारमा सीमित छैन। उनी ‘मुटु नेपाल’लाई भविष्यमा अन्तर्राष्ट्रिय स्तरको लाइफस्टाइल ब्रान्डका रूपमा स्थापित गर्न चाहन्छन्।
उनको विश्वास छ कि नेपाली उत्पादनले गुणस्तर, डिजाइन र मौलिकताको आधारमा विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्छ। त्यसका लागि निरन्तर नवप्रवर्तन, अनुसन्धान र ग्राहकको आवश्यकताअनुसार उत्पादन विकास गर्नुपर्ने उनी बताउँछन्।
आजको युवा पुस्ता उद्यमशीलतातर्फ आकर्षित भइरहेको सन्दर्भमा सुमितसँग पनि एउटा स्पष्ट सन्देश छ,सफलताको कुनै छोटो बाटो हुँदैन।
उनका अनुसार सपना देख्नु महत्वपूर्ण हो, तर त्योभन्दा महत्वपूर्ण कुरा त्यसलाई पूरा गर्न दैनिक रूपमा गरिने मेहनत र निरन्तरता हो। व्यवसाय सुरु गर्नुअघि बजारको अध्ययन, लगानीको अवस्था र सम्भावित जोखिमबारे गहिरो विश्लेषण आवश्यक रहेको उनी बताउँछन्।
उनले युवाहरूलाई असफलतासँग नडराई धैर्यतापूर्वक अगाडि बढ्न सुझाव दिन्छन्। उनका शब्दमा, “जिद्दीपन र कन्सिस्टेन्सी नै उद्यमशीलताको सबैभन्दा ठूलो शक्ति हो।”
‘मुटु नेपाल’को कथा केवल एउटा कपडा ब्रान्डको सफलता होइन। यो स्वदेशी उत्पादनप्रतिको विश्वास, संकटलाई अवसरमा बदल्ने साहस र आफ्नै माटोमा केही गरेर देखाउने दृढ इच्छाशक्तिको कथा हो।
सुमित कुमार बन्सल र उनको टोलीले देखाएको यात्राले एउटा सन्देश दिन्छ— यदि काममा साँच्चिकै मुटु लगाएर लागिपर्ने हो भने, स्वदेशी ब्रान्डले पनि अन्तर्राष्ट्रिय स्तरका ब्रान्डहरूसँग प्रतिस्पर्धा गर्न सक्छ।
सायद यही कारणले ‘मुटु नेपाल’ आज केवल एउटा ब्रान्डको नाम नभई नेपाली उद्यमशीलताको धड्कन बन्दै गएको छ।
भिडियाे हेर्नुहाेस