ब्याकडोर लिस्टिङको नयाँ खेल: प्राइभेट कम्पनी हत्याएर दोस्रो बजार छिर्ने छिद्रप्रति चर्चित लगानीकर्ताहरुको आपत्ति

Jul 01, 2026 11:09 AM Merolagani



सुवास निरौला

नेपालको धितोपत्र बजारमा विगत केही समयदेखि विभिन्न स्वरूपका वित्तीय दाउपेच र विकृतिहरू सतहमा आउने गरेका छन्।

तर, भर्खरै साधारण शेयर निष्कासन गरी दोस्रो बजारमा सूचीकृत भएको सार्वजनिक कम्पनी 'ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेड'ले चालेको एउटा कदमले नेपालको पूँजी बजारमा अहिलेसम्मकै ठूलो 'नियामकीय छिद्रको दोहन' र 'ब्याकडोर लिस्टिङ' (पछाडिको ढोकाबाट सूचीकरण) को नयाँ खेललाई जन्म दिएको छ।

कम्पनीले २०८३ असार २८, मा बस्ने गरी आह्वान गरेको विशेष साधारण सभाको सूचना सार्वजनिक भएसँगै यो विवादले उग्र रूप लिएको छ। उक्त सभाको मुख्य एजेन्डा गैर-सूचीकृत प्राइभेट लिमिटेड कम्पनी 'रोयल फर्मास्युटिकल्स प्रालि' लाई प्राप्ति (Acquisition) गर्ने रहेको छ। दोस्रो बजारमा मर्जर र प्राप्ति सामान्य बिषय हुन्। तर कुनै सूचीकृत कम्पनीले प्राइभेट कम्पनीलाई प्राप्ति गर्न खोज्दै गर्दा भने दोस्रो बजारमा चरम असन्तुष्टि उजागर हुन थालेको छ। 

लगानीकर्ताहरूको चिन्ता र आपत्ति 

यो सूचना सार्वजनिक भएसँगै शेयर बजारका हस्ती तथा स्थापित लगानीकर्ताहरू अम्बिकाप्रसाद पौडेल र केशव कोइरालाले सामाजिक सञ्जालमार्फत गम्भीर चिन्ता र आपत्ति प्रकट गर्दै नियामक नेपाल धितोपत्र बोर्ड (सेबोन) को गम्भीर ध्यानाकर्षण गराएका छन्।

शेयर बजारका  विश्लेषक केशव कोइरालाले ओम मेगाश्रीको यो सूचनालाई फेसबुकमा शेयर गर्दै यसलाई “धितोपत्र बजारको नयाँ र सबैभन्दा ठूलो जालसाजी (Fraud)” को संज्ञा दिएका छन्। “सूचीकृत पब्लिक लिमिटेड कम्पनीले प्राइभेट लिमिटेड (प्रा.लि.)लाई प्राप्ति गर्ने। यसको मतलब बिना IPO र बिना पब्लिक लिमिटेड कम्पनी दर्ता सिधै दोस्रो बजारबाट कारोबार गराउने। अब प्राप्तिलाई पब्लिक लिमिटेड पनि गर्नु परेन र IPO निकाल्ने झन्झट पनि गर्नु परेन।” उनले सामाजिक सञ्जालमा कडा आक्रोश पोख्दै लेखेका छन्।

कोइरालाले नेपाल धितोपत्र बोर्डलाई प्रश्न गर्दै अगाडि लेखेका छन्, “Securities Board of Nepal यस्ता साँढेहरूलाई ठाउँको ठाउँ कारबाही कहिले गर्छौ?” भन्दै उनले राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा अर्थशास्त्री डा. स्वर्णिम वाग्लेलाई समेत उक्त पोस्टमा ट्याग गरेर यो नीतिगत भ्रष्टाचारको विषय भएको संकेत गरेका छन्।

यसैगरी, पूँजी बजारका नीतिगत पैरवीकर्ता अम्बिकाप्रसाद पौडेलले पनि यस विषयलाई गम्भीरताका साथ उठाएका छन्। उनले ओम मेगाश्रीको विशेष साधारण सभाको कार्यसूची सार्वजनिक गर्दै धितोपत्र बोर्डलाई ट्याग गरेर संक्षिप्त तर निकै अर्थपूर्ण प्रश्न सोधेका छन्। “यो सूचनालाई के भन्नुहुन्छ? सभ्य भाषामा प्रतिक्रिया पाऊँ।” पौडेल जस्ता परिपक्व र संस्थागत लगानीकर्ताले "सभ्य भाषामा" प्रतिक्रिया माग्नुको अर्थ यो विषय कानुनी र नैतिक रूपमा कति निर्लज्ज र घातक छ भन्ने स्पष्ट हुन्छ।

धितोपत्र बोर्ड (सेबोन) का लागि लिटमस टेस्ट

यदि नेपाल धितोपत्र बोर्डका नवनियुक्त वा कार्यवाहक नेतृत्वले यो प्रस्तावलाई स्वीकृत गरिदिने हो भने नेपालको शेयर बजारमा एउटा अत्यन्तै घातक नजिर स्थापित हुनेछ। यसले निम्त्याउने जोखिमहरू यसप्रकार छन्:

  • नियमनको अन्त्य: जुनसुकै कमजोर प्राइभेट कम्पनीले पनि सेबोनको कडा आईपीओ रेटिङ, वित्तीय स्वास्थ्य परीक्षण र प्रिमियम स्वीकृतिको लामो प्रक्रिया छल्नका लागि बजारमा रहेका साना र कमजोर सूचीकृत कम्पनीलाई 'ह्याक' वा प्राप्ति गरेर सिधै दोस्रो बजारमा आफ्नो शेयर ल्याउनेछन्।

  • सर्वसाधारणको बली चढाउने खेल: यसअघि नै वित्तीय रूपमा थला परेका जलविद्युत, उत्पादनमूलक वा अन्य कमजोर कम्पनीहरूले आफ्ना भित्री प्राइभेट कम्पनीहरूलाई मिसाएर दोस्रो बजारमा शेयर मूल्य 'पम्प' गर्ने र सर्वसाधारणलाई फसाउने नयाँ हतियार फेला पार्नेछन्।

केशव कोइराला र अम्बिकाप्रसाद पौडेल जस्ता बजारका अगुवाहरूले यसरी सार्वजनिक रूपमै चेतावनी दिनुले बजारमा कति ठूलो आशङ्का र आक्रोश व्याप्त छ भन्ने देखाउँछ। अब पालो नेपाल धितोपत्र बोर्डको हो— कानुनको रक्षक बनेर यो ब्याकडोर लिस्टिङको छिद्रलाई ठाउँको ठाउँ बन्द गरिदिने कि मौन बसेर बजारमा अर्को संस्थागत लुट मच्चाउन दिने ? यो घटना धितोपत्र बोर्डको साख र इमानदारिताको परीक्षा बन्ने निश्चित छ।




यातायात कार्यालयले भन्यो-लाइसेन्स लिन आइहाल्नुहाेस्

Jun 26, 2026 03:03 PM

एकान्तकुना यातायात कार्यालयले भिडभाड एकदमै कम भएकाेले यथाशीघ्र आफ्नो लाइसेन्स लिन आउन अनुराेध गरेकाे छ । कार्यालयले प्रिन्ट भइसकेका सवारी चालक अनुमति पत्र (लाइसेन्स) यथाशीघ्र लिन अनुरोध गरेको हाे ।