यस साता पाँच कारोबार दिनका लागि बजार खुलेको थियो। जसमध्ये दुई कारोबार दिन नेप्से बढेको थियो भने तीन कारोबार दिन घटेर बन्द भएको थियो।
यस साता सेन्सेटिभ इण्डेक्स २.१३ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.६४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.८४ अंक बढेको छ।
नेप्से सामान्य बढेपनि यस साता कारोबार रकम भने घटेको छ। गत साता दैनिक औषतमा ४ अर्ब २ लाख रुपैयाँको शेयर खरिदबिक्री भएको बजारमा यस साता दैनिक औषतमा ३ अर्ब ६६ करोड रुपैयाँको शेयर किनबेच भएको छ। गत साताको तुलनामा यस साताको दैनिक औषत कारोबार रकम ८.४४ प्रतिशत घटेको हो। त्यस्तै, यस साता दैनिक औषत शेयर संख्या ०.८५ प्रतिशत बढेको छ भने दैनिक औषत कारोबार संख्या १६.२५ प्रतिशत घटेको छ।
यस साता नेप्सेको कुल बजार पूँजीकरण भने ०.५४ प्रतिशत बढेको छ। गत साताको अन्तिम कारोबार दिन ४५ खर्ब ३४ अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पूँजीकरण, यस साता २४ अर्ब रुपैयाँ बढेर ४५ खर्ब ५९ अर्ब रुपैयाँ पुगेको छ।

यस साता १३ उपसमूहमध्ये ६ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ७ उपसमूहको परिसूचक घटेको छ। यस साता बैंकिङ्ग उपसमूहको परिसूचक सर्वाधिक १.३८ प्रतिशत बढेको छ। गत साता १४१६.२४ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, यस साता १९.४९ अंक बढेर १४३५.७३ विन्दुमा पुगेको छ। अंकका आधारमा पनि यस साता सोही उपसमूहको परिसूचक सर्वाधिक बढेको छ।
यस साता उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक १.३५ प्रतिशत घटेको छ। गत साता १० हजार ६९७.९५ विन्दुमा बन्द भएको सो उपसमूहको परिसूचक, यस साता १.३५ प्रतिशत अर्थात १४४.५९ अंक घटेर १०हजार ५५३.३६ विन्दुमा झरेको छ। अंकका आधारमा पनि यस साता सोही उपसमूहको परिसूचक सबैभन्दा बढी घटेको हो।

यस साता ७ कम्पनीको कुल ५ करोड ४० लाख ४४ हजार २४४.२३ कित्ता शेयर नेप्सेमा सूचीकृत भएको छ। यस साता सुपर माइ हाइड्रोपावर, नेको इन्स्योरेन्स, एनएमबि बैंक, नेपाल हाइड्रो डेभलोपर्स र कुथेली बुखरी स्मल हाइड्रोपावरको बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो। त्यस्तै, यस साता सानिगाड हाइड्रो र कालंगा हाइड्रोको आईपीओ पनि नेप्सेमा सूचीकृत भएको हो।

यस साता स्नो रिभर्सको शेयरमूल्य सर्वाधिक १०१.०५ प्रतिशत बढेको छ। गत साता ३४३ रुपैयाँ ५० पैसामा अन्तिम कारोबार भएको यस कम्पनीको शेयर, यस साता ६९० रुपैयाँ ६० पैसामा अन्तिम कारोबार भएको छ। त्यस्तै, यस साता खानी खोला हाइड्रापावरको शेयरमूल्य साढे १९ प्रतिशत बढेको छ भने आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य करिब १९ प्रतिशत बढेको छ। कारोबारमा आएको एशियन हाइड्रोपावरको शेयरमूल्य यस साता सर्वाधिक ६.७४ प्रतिशत घटेको छ।

फ्लोरसिट विश्लेषण गर्दा स्नो रिभर्स, नेपाल हाइड्रो डेभलोपर्स, नबिल ब्यालेन्स्ड फण्ड ३ लगायतका स्टकहरु मोस्ट पपुलर बाइ स्टक सूचीको शीर्ष स्थानमा रहेका छन् भने एशियन हाइड्रोपावर, स्वावलम्बन लघुवित्त वित्तीय संस्था, युनाइटेड इदी मार्दी आरबि हाइड्रोपावर लगायतका स्टकहरु मोस्ट पपुलर सेल स्टक सूचीको शीर्ष स्थानमा रहेका छन्।

