टोकनाइजेशन भनेको कुनै पनि वास्तविक वा वित्तीय सम्पत्तिहरू (Real World Assets - RWA) जस्तै जग्गा, भवन, कृषि उत्पादन, सुन, सरकारी ऋणपत्र, कम्पनीको शेयर वा कलाकृतिलाई डिजिटल टोकनमा रूपान्तरण गरी टोकनमा कारोबार गर्न मिल्ने बनाउने प्रक्रिया हो।
यसले एउटै ठूलो सम्पत्तिलाई हजारौं वा लाखौं साना हिस्सामा विभाजन गरेर धेरै लगानीकर्तालाई सहभागी गराउन सक्ने भएकाले लगानीको पहुँच विस्तार हुने विश्वास गरिएको छ।

मानौँ एउटा १० मिलियन डलर मूल्यको तामा खानी छ। कुनै साना लगानीकर्ताले त्यसमा सिधै लगानी गर्न सक्दैनन्। तर टोकनाइजेसन मार्फत त्यो खानीलाई १० डलरका का दरले १० लाख वटा डिजिटल टोकनमा बाँड्न सकिन्छ । अब विश्वको जुनसुकै कुनाबाट जोसुकैले पनि मात्र १० डलरमा मा त्यो खानीको एउटा सानो हिस्सा किन्न र व्यापार गर्न सक्छ।
टोकनाइजेसनको शुरुवात सन् २०१५ मा स्मार्ट कन्ट्र्याक्टु (आफैं कार्यान्वयन हुने डिजिटल सम्झौता) आएसंगै भयो ।
यसै प्रविधिको मद्दतले भौतिक सम्पत्ति (जग्गा, खानी, कला) लाई डिजिटल टोकनमा बदल्न कानुनी र प्राविधिक रूपमा सम्भव भयो । सन् २०२४ सम्म यो प्रविधि परीक्षणमा सीमित थियो । सन् २०२५ को मध्यतिर आएका अन्तर्राष्ट्रिय कानुनी सुधारहरू र सन् २०२६ मा देखिएको वित्तीय ट्रेन्डका कारण विश्वका ठूला वित्तीय संस्थाहरूले अर्बौ डलरका परम्परागत ऋणपत्र र कमोडिटिजलाई ब्लकचेनमा ल्याउन थालेका छन्। एक, डेढ वर्षमै यो प्रणालीले सिंगै अफ्रिाका महादेशको वित्तीय प्रणालीमा आमूल परिवर्तन गरिदिएको छ ।
विशेषगरी दक्षिण अफ्रिका,नाइजेरिया, केन्या, घाना, रवान्डा, इजिप्ट र मोरिससले बैंकिङ, कृषि, रियल इस्टेट, ऊर्जा तथा सरकारी ऋणपत्रसम्म टोकनाइजेशन प्रयोग गर्ने विभिन्न परियोजना अघि बढाइरहेका छन् ।
विश्व बैंकका अनुसार अफ्रिकामा अझै पनि करोडौं नागरिक औपचारिक बैंकिङ प्रणालीभन्दा बाहिर छन्। मोबाइल बैंकिङको तीव्र विस्तारसँगै अहिले ब्लकचेनमा आधारित टोकनाइजेशन प्रणालीले उनीहरूलाई विश्वव्यापी वित्तीय बजारसँग जोड्ने नयाँ अवसर सिर्जना गरिरहेको छ।
किन बढ्दै छ अफ्रिकामा यसको प्रयोग ?
अफ्रिकामा परम्परागत बैंकिङ सेवाको पहुँच सीमित छ। तर मोबाइल फोनको पहुँच अत्यन्त तीव्र रूपमा बढेको छ। यही कारण डिजिटल वालेट, मोबाइल मनी र ब्लकचेन प्रविधिको संयोजनबाट टोकनाइजेशनको प्रयोग सहज बन्दै गएको हो। अफ्रिकाका धेरै सम्पत्तिहरू (विशेष गरी खनिज र ठूला पूर्वाधार) मा पैसा अड्किएर बसेको हुन्छ, जसलाई तुरुन्तै नगदमा बदल्न गाह्रो हुन्छ। टोकनमा बदलेपछि ती सम्पत्तिहरू २४ सै घण्टा अनलाइन बजारमा शेयर जस्तै खरिद-बिक्री हुन थाल्छन्।
अफ्रिकाका कतिपय देशहरूको घरेलु मुद्रा कमजोर र अस्थिर छ। ब्लकचेनमा आधारित टोकनहरू अमेरिकी डलरसँग जोडिने हुनाले विदेशी संस्थागत लगानीकर्ताहरूलाई लगानी डुब्ने डर कम हुन्छ।
परम्परागत प्रणालीमा विदेशी लगानी भित्र्याउन अन्तर्राष्ट्रिय बैंक, ब्रोकर र कानुनी झन्झट पार गर्दा धेरै शुल्क लाग्थ्यो । टोकनाइजेसनले सिधै क्रेता र विक्रेतालाई जोड्छ, जसले लागत ८०% सम्म घटाउँछ। नाइजेरियाली उद्यमी अडेबायो ओगुनले भन्छन्—पहिले ठूला लगानीकर्ताले मात्र गर्न सक्ने लगानी अहिले सामान्य नागरिकले पनि डिजिटल टोकनमार्फत गर्न सक्ने अवस्था बन्दै गएको छ।
विशेषज्ञहरूका अनुसार यसका प्रमुख कारणहरू यस्ता छन्–
वित्तीय समावेशीकरण विस्तार
विदेशी लगानी आकर्षित गर्ने प्रयास
सीमापार भुक्तानीलाई सस्तो बनाउने लक्ष्य
साना लगानीकर्तालाई अवसर उपलब्ध गराउने
सम्पत्ति कारोबारलाई पारदर्शी बनाउने
कृषि र खानी क्षेत्रबाट पूँजी जुटाउने नयाँ माध्यम
दक्षिण अफ्रिका अग्रपङ्क्तिमा
अफ्रिकाका प्रमुख बैंकहरूले समेत डिजिटल सम्पत्ति व्यवस्थापन तथा ब्लकचेनमा आधारित सेटलमेन्ट प्रणालीको परीक्षण गरिरहेका छन्। वित्तीय विज्ञहरूका अनुसार यसले कारोबार समय केही दिनबाट केही मिनेटमा झार्न सक्ने सम्भावना देखिएको छ। दक्षिण अफ्रिका र नाइजेरियामा यी देशहरूमा रियल स्टेट र सरकारी ट्रेजरी बिलहरूलाई टोकनाइज गर्ने स्टार्टअपहरू तीव्र रूपमा उदाएका छन्। सर्वसाधारणले मोबाइल एपबाटै देशका ठूला मल वा कर्पोरेट भवनको सानो अंश टोकनका रूपमा किन्न थालेका छन्।
दक्षिण अफ्रिकाका फिनटेक विश्लेषक डा. टिमोथी मासेलो भन्छन्-टोकनाइजेशनले अफ्रिकाको वित्तीय बजारलाई विश्वव्यापी पूँजीसँग प्रत्यक्ष जोड्ने क्षमता राख्छ। यदि नियमन सन्तुलित भयो भने यसले पूँजी बजारमा ऐतिहासिक परिवर्तन ल्याउन सक्छ।
नाइजेरियामा स्टार्टअपहरूको नयाँ लहर
अफ्रिकाकै सबैभन्दा ठूलो अर्थतन्त्र नाइजेरियामा ब्लकचेन स्टार्टअपहरूको उल्लेख्य वृद्धि देखिएको छ। धेरै कम्पनीहरूले कृषि उत्पादन, रियल इस्टेट तथा निजी लगानीलाई डिजिटल टोकनमार्फत सर्वसाधारणसम्म पुर्याउने प्रयास गरिरहेका छन् । विशेषगरी विदेशमा रहेका नाइजेरियाली नागरिकबाट लगानी आकर्षित गर्न टोकनाइजेशनलाई उपयोगी माध्यमका रूपमा हेरिएको छ।
केन्यामा कृषि क्षेत्रसम्म विस्तार
केन्यामा कृषि उत्पादनलाई टोकनमा रूपान्तरण गरेर किसानलाई सिधै लगानीकर्तासँग जोड्ने अवधारणामा आधारित परियोजनाहरू सञ्चालन भइरहेका छन्। घाना र प्रजातान्त्रिक गणतन्त्र कङ्गो जस्ता देशहरूमा कोको (चक्लेट बनाउने कच्चा पदार्थ) र बहुमूल्य धातुहरूको भविष्यको उत्पादन (Future Yield) लाई टोकनाइज गरेर किसान तथा खानी सञ्चालकहरूले बैंकको ऋण बिना नै सिधै विश्व बजारबाट कोष संकलन गरिरहेका छन् ।
यसले किसानलाई बैंक धितोबिना पनि लगानी जुटाउने सम्भावना बढाउने अपेक्षा गरिएको छ। कृषि विज्ञहरूका अनुसार भविष्यमा कफी, चिया, फूल तथा अन्य निर्यातमुखी बालीसमेत डिजिटल सम्पत्तिका रूपमा कारोबार हुन सक्ने अवस्था विकास भइरहेको छ। केन्याकी कृषि–अनुसन्धानकर्ता डा. ग्रेस वान्जिरुले भन्छिन्- यदि कृषि उत्पादनलाई सुरक्षित रूपमा टोकनाइज गर्न सकियो भने किसानका लागि नयाँ वित्तीय क्रान्ति सुरु हुन सक्छ। यसले बैंक ऋणको विकल्पसमेत दिन सक्छ।
रियल इस्टेटमा नयाँ अवसर
अफ्रिकाका धेरै देशमा महँगो घर तथा व्यावसायिक भवनमा साना लगानीकर्ताले लगानी गर्न कठिन हुने गरेको छ। टोकनाइजेशनपछि एउटै भवनलाई हजारौं डिजिटल टोकनमा विभाजन गरेर सामान्य नागरिकले समेत लगानी गर्न सक्ने अवस्था बन्न थालेको छ। विश्लेषकहरूका अनुसार यसले सम्पत्ति बजारलाई थप तरल बनाउने सम्भावना देखिएको छ।
सरकारी ऋणपत्रसमेत डिजिटल बन्दै
कतिपय अफ्रिकी मुलुकले सरकारी बन्डलाई समेत डिजिटल टोकनका रूपमा जारी गर्ने सम्भावना अध्ययन गरिरहेका छन्। यसले सरकारी ऋणपत्रमा विदेशी लगानी बढ्न सक्ने तथा साना लगानीकर्तालाई प्रत्यक्ष सहभागी गराउन सकिने विश्वास गरिएको छ।
चुनौतीहरु
यद्यपि टोकनाइजेशन प्रणाली तीव्र रूपमा विस्तार भइरहे पनि नियमन अझै धेरै देशमा स्पष्ट छैन।विशेषज्ञहरूले साइबर सुरक्षा, डिजिटल ठगी, मनी लन्डरिङ, कर प्रणाली तथा लगानीकर्ताको संरक्षणलाई प्रमुख चुनौतीका रूपमा औँल्याएका छन्। कतिपय अफ्रिकी देशमा इन्टरनेट पहुँच, विद्युत् आपूर्ति तथा डिजिटल साक्षरताको अभावले पनि यसको विस्तारमा असर पारिरहेको छ।
नेपालले के सिक्न सक्छ ?
अफ्रिकाको वित्तीय क्षेत्रमा टोकनाइजेशन अब केवल प्रविधिको प्रयोग मात्र होइन,आर्थिक रूपान्तरणको रणनीतिक माध्यमका रूपमा स्थापित हुँदै गएको छ। नियमन, प्रविधि र लगानीकर्ताको विश्वासबीच सन्तुलन कायम गर्न सके यसले वित्तीय समावेशीकरण, पूँजी बजारको विस्तार, कृषि तथा पूर्वाधार क्षेत्रमा लगानी वृद्धि र सीमापार कारोबारलाई नयाँ उचाइमा पुर्याउन सक्ने सम्भावना देखिएको छ। त्यसैले आगामी दशकमा अफ्रिका विश्वको सबैभन्दा तीव्र गतिमा टोकनाइजेशन अपनाउने क्षेत्र मध्ये एक बन्न सक्ने अनुमान विभिन्न वित्तीय विश्लेषकहरूले गरेका छन्।
नेपालमा बहुमूल्य जडीबुटी, खनिज (जस्तै धौवादीको फलाम खानी), र ठूला जलविद्युत आयोजनाहरू छन्। अफ्रिकाले जस्तै नेपालले पनि यदि यी प्राकृतिक स्रोतहरूलाई टोकनाइज गर्न सके ठूला वैदेशिक लगानीकर्ता वा गैरआवासीय नेपालीले सिधै डिजिटल टोकनमार्फत डलरमा लगानी गर्न सक्नेछन् । यसले गर्दा विदेशी सहायता वा कडा सर्तका ऋणहरूमा मात्र भर पर्नुपर्ने अवस्था अन्त्य हुन सक्छ।
नेपालमा मध्यपहाडी लोकमार्ग वा ठूला हाइड्रो परियोजनाका लागि बजेट अभाव भइरहन्छ। यदि ती परियोजनालाई टोकनाइज गरेर साना साना डिजिटल हिस्सामा बाँड्न सकियो भने खाडी मुलुक वा मलेसियामा रहेका लाखौँ नेपाली श्रमिकहरूले आफ्नो केही हजार रुपैयाँ पनि सिधै ती विकास निर्माणमा लगानी गर्न पाउँछन् र त्यसको लाभांश सिधै उनीहरूको डिजिटल वालेटमा पुग्छ।