हार्भर्ड, क्याम्ब्रिज र एथेन्सका तीन अर्थशास्त्री अर्थमन्त्रीः मनमोहन सिंह बन्नबाट चुकिरहेका स्वर्णिम वाग्लेको कार्यशैली

Jul 27, 2026 11:37 AM Mero lagani



बाबुराम ढकाल
विश्व राजनीतिमा कहिलेकाहीँ अर्थशास्त्रीहरू सीधै अर्थ मन्त्रालयमा पुग्छन्। 

उनीहरू विश्वविद्यालयका प्राध्यापक, अनुसन्धानकर्ता वा अन्तर्राष्ट्रिय संस्थाका विज्ञका रूपमा चर्चित हुन्छन्। जनताले पनि अपेक्षा गर्छन्— अब अर्थतन्त्र सही हातमा पुग्यो ।

तर इतिहासले देखाउँछ अर्थशास्त्र बुझ्नु र अर्थ मन्त्रालय चलाउनु एउटै कुरा होइन ।

उदाहरणका लागि नेपालका वर्तमान अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, भारतका पूर्वअर्थमन्त्री तथा पूर्वप्रधानमन्त्री डा. मनमोहन सिंह र ग्रीसका पूर्व अर्थमन्त्री डा. यानिस वारुफाकिसलाई लिन सकिन्छ ।

यी तीनै जना उच्च शिक्षित अर्थशास्त्री हुन् । तर उनीहरूले काम गरेको राजनीतिक वातावरण र प्राप्त नतिजा भने एकदम फरक छन् । र, भन्नै पर्ने हुन्छ, शायद मनमोहन सिंह बन्ने धुनमा लाग्दा वाग्लेले यतिबेला बारुफाकिस बन्ने मौका गुमाउदैछन् ।

यी तीन जनाको तुलना किन गर्नु जरुरी छ भने तिनै जना विश्वका प्रतिष्ठित कलेजहरुबाट उच्च डिग्री लिए, अर्थशास्त्रको ज्ञाताकोरुपमा चर्चित भए, संकटको बेला अर्थमन्त्री बने । त्यसमध्ये मनमोहन सिंह सफल अर्थमन्त्रीको रुपमा मात्रै चर्चित भएनन्, १० वर्ष भारतको प्रधानमन्त्री नै भए, बारुफाकिस केही महिना मात्रै अर्थमन्त्री भए तर सबैभन्दा शसक्त अर्थमन्त्रीकोरुपमा आफूलाई स्थापित गरे ।

अनि स्वर्णिम वाग्ले ? उत्तर बाँकी नै छ । तर, उनकै समर्थकहरु पनि यति बेला ‘खै के खै के’ भन्ने अवस्थाबाट गुज्रिरहेका छन् ।

डा. मनमोहन सिंह  संकटका बेला आएका सुधारक

सन् १९९१ मा भारत लगभग विदेशी मुद्रा संकटको अवस्थामा पुगेको थियो । देशसँग केही साताको आयात धान्न पुग्ने विदेशी मुद्रा मात्र बाँकी थियो ।

त्यही बेला अर्थमन्त्री बनेका मनमोहन सिंहले भारतको आर्थिक इतिहास बदल्ने सुधार गरे । लाइसेन्स राज कमजोर पारियो, विदेशी लगानीका ढोका खोलिए, निजी क्षेत्रलाई बढी अवसर दिइयो र भारत विश्व अर्थतन्त्रसँग जोडिन थाल्यो । धेरै इतिहासकार र अर्थशास्त्रीहरूले उनलाई आधुनिक भारतीय आर्थिक सुधारका प्रमुख वास्तुकारमध्ये एक मान्छन्।

सिंहले अर्थमन्त्री बनेपछि उद्योग व्यवसाय सञ्चालनका लागि सरकारबाट लिनुपर्ने झन्झटिलो अनुमति र लाइसेन्स प्रथा धेरै क्षेत्रमा खारेज गरी निजी क्षेत्रलाई स्वतन्त्रता दिए । जुन घटना लाइसेन्स राजको अन्त्यको रुपमा चर्चित छ ।

निर्यातलाई बढावा दिन र अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी बनाउन सन् १९९१ जुलाईको सुरुवातमै रुपैयाँको मूल्य दुई चरणमा करिब २० प्रतिशतले घटाए। त्यस्तै विदेशी लगानीकर्ताहरूका लागि ढोका खुला गर्दै धेरैजसो क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानी (FDI) सहज बनाए।

विदेशी व्यापारलाई खुला र सरल बनाउने उद्देश्यले उच्च रहेको आयात महसुल तथा करको दरहरूमा भारी कटौती गरे । घाटामा रहेका सरकारी स्वामित्वका कम्पनीहरूको शेयर बिक्री तथा निजीकरणको प्रक्रिया अगाडि बढाए। निजी क्षेत्रका बैंकहरू खोल्ने अनुमति दिए, ब्याजदर निर्धारण प्रक्रियालाई बजारमैत्री बनाए र देशमा सेवा कर (Service Tax) को अवधारणा भित्र्याए । 

डा. यानिस वारुफाकिस—सही अर्थशास्त्र, गलत राजनीति 

यानिस वारुफाकिस विश्व अर्थतन्त्र र राजनीतिमा एक अत्यन्तै चर्चित, प्रभावशाली र हक्की स्वभावका ग्रीक अर्थशास्त्री, लेखक तथा राजनीतिज्ञ हुन्। युरोपेली ऋण सङ्कटका बेला अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरूसँग सीधा टक्कर लिएर उनी विश्वभर प्रसिद्ध भएका थिए।

उनले बेलायतको युनिभर्सिटी अफ एसेक्सबाट गणितीय अर्थशास्त्रमा विद्यावारिधि  गरेका हुन्। उनले बेलायतका क्याम्ब्रिज, अस्ट्रेलियाको सिड्नी विश्वविद्यालय र अमेरिकाको टेक्सस विश्वविद्यालयमा प्राध्यापन गरे। अन्तर्राष्ट्रिय स्तरका बेस्ट सेलरिङ लेखक हुन्। उनका ‘Adults in the Room’, ‘Talking to My Daughter About the Economy’, ‘The Global Minotaur’ र ‘Technofeudalism: What Killed Capitalism’ जस्ता पुस्तकहरू विश्वभर चर्चित छन्।

सन् २०१५ मा बामपन्थी राजनीतिक दल सिरिजाले ग्रीसमा चुनाव जितेपछि प्रधानमन्त्री अलेक्सिस सिप्रासले वारुफाकिसलाई अर्थमन्त्री नियुक्त गरे।

ग्रीस सन् २००८ पछि गम्भीर आर्थिक ऋण सङ्कटमा परेको थियो। युरोपेली सङ्घ (EU), युरोपेली केन्द्रीय बैंक (ECB) र IMF (ट्रोइका) ले ग्रीसलाई ऋण दिने कडा शर्त सारे । अर्थमन्त्री वारुफाकिसले यो शर्तको कडा विरोध गरे। विवाद बढ्दै गएपछि उनले राजिनामा दिए । तर, आफूले उठाएका विषयहरुमा सम्झौता गरेनन् । बैदेशिक ऋण र करका दरहरुको सन्दर्भमा अलिकति मात्रै लचक भए पनि उनलाई अर्थमन्त्रीमा निरन्तरता दिने प्रयास प्रधानमन्त्री सिप्रासले गरेका थिए । तर बारुफाकिसले आफूले पहिले बोलेको कुरा सतप्रतिशत सही भएकोले त्यसबाट पछाडि हटेर जनतामाथि अतिरिक्त बोझ पर्ने गरि दातृ राष्ट्र र संस्थाहरुका शर्त पुरा गर्न नसक्ने अडान लिएर राजीनामा दिए ।

करिब ६ महिना मात्रै अर्थमन्त्री भए पनि उनी ग्रीसको इतिहासकै सबैभन्दा प्रभावशाली अर्थमन्त्री मानिन्छन् । सन् २०१६ मा उनले युरोपभरिका नागरिक र बुद्धिजीवीहरूलाई जोड्ने एउटा महादेशीय राजनीतिक आन्दोलन Democracy in Europe Movement 2025' (DiEM25) को स्थापना गरे।
सन् २०१९ देखि २०२३ सम्म सांसद रहेका उनी अहिले उनी एथेन्स विश्वविद्यालयमा अर्थशास्त्रका प्राध्यापक हुन् । संसारभरका विश्वविद्यालय, टेलिभिजन र पोडकास्टहरूमा उदीयमान विश्व व्यवस्था, AI को असर र आर्थिक असमानताबारे विचार राखिरहन्छन्।

हाल विश्वका अर्थशास्त्रीहरुको बीचमा वारुफाकिसले भनेको एउटा भनाईले नयाँ बहस सृजना गरिरहेको छ । उनको भनाई छ -पुँजीवाद मरिसक्यो । अहिलेको विश्व पुँजीवादबाट अघि बढेर प्रविधि सामन्तवादको युगमा प्रवेश गरेको छ। जहाँ अमेजन, गुगल र मेटा जस्ता बिग टेक कम्पनीहरू नयाँ सामन्त हुन्, र इन्टरनेट प्रयोगकर्ताहरू (हामी) उनीहरूका लागि सित्तैमा डेटा सिर्जना गरिदिने आधुनिक दास (Digital Serfs) हौँ।

डा.स्वर्णिम वाग्ले—विश्व बैंकदेखि अर्थमन्त्रीसम्म, आफ्नै विज्ञताले गिज्जाइरहेका अर्थमन्त्री

डा. स्वर्णिम वाग्ले दक्षिण एशियाकै सबैभन्दा उच्च शैक्षिक योग्यता भएका अर्थशास्त्री–राजनीतिज्ञमध्ये एक मानिन्छन् । उनले लन्डन स्कूल अफ इकोनोमिक्स, हार्भर्ड विश्वविद्यालय र अष्ट्रेलियन नेशनल युनिभर्सिटीबाट अध्ययन गरेका छन्। विश्व बैंक, संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (UNDP)  र राष्ट्रिय योजना आयोगमा सदस्य हुँदै उपाध्यक्षसम्म भए ।

विगतका कतिपय अर्थमन्त्रीहरुको योग्यताको प्रश्न उठाउँदै वाग्लेको विज्ञताको कारण धेरै मानिसहरु नेपालको अर्थतन्त्रले सही नेतृत्व पाएको भन्दै उत्साहित देखिएका थिए । तर, उनी अर्थमन्त्री भएयता उनको विज्ञता के मा हो भन्ने गम्भीर प्रश्न उठेको छ । किनकी उनले एकातिर आफू मन्त्री हुनुभन्दा अगाडि बोलेका सामाजिक सुरक्षा र कर नीतिहरु भन्दा ठवाक्कै फरक दृष्टिले बजेट ल्याए । सर्वसाधारणलाई आहात हुने गरि करका दरहरु निर्धारण गर्ने मात्र होइन, बजेट अघि नै अमूक व्यवसायिक घरानाहरुलाई फाइदा हुने गरि करका दरहरु परिवर्तनको सूचना चुहाएको आरोप पनि खेप्नु पर्यो, परिरहेको छ । उनीमाथि न अहिले उद्यमी व्यवसायीहरुको भरोसा छ, न त स्वंय प्रधानमन्त्रीकै । त्यहीकारण प्रधानमन्त्री बालेन शाहले विभिन्न क्षेत्रका उद्यमी व्यवसायीहरुलाई सृंखलावद्धरुपमा भेट्दा पनि उनलाई भने पूर्णरुपमा वेवास्ता गरिरहेका छन् । उद्यमी व्यवसायीहरु देखि पूँजी बजारसम्मले पनि अर्थमन्त्री वाग्लेलाई होइन, प्रधानमन्त्री बालेन शाहको गतिविधिलाई बढि विश्वास गर्न थालेको छ ।

प्रधानमन्त्रीसँग ‘टसल’ भएपछि राजीनामा दिनु वा प्रधानमन्त्रीलाई आफ्नो कुरामा सहमत बनाउन सक्नु अर्थमन्त्रीको दायित्व हो । तर, वाग्लेले न त राजीनामा दिने आँट गरेका छन्, न त उनको विश्वास जित्न नै । कतिसम्म भने बजेटमा घोषणा गरेका करका दरहरु प्रधानमन्त्रीले फेसबुकमा घोषणा गरेर फिर्ता लिंदासमेत अर्थमन्त्री वाग्ले प्रतिकृयाविहिन भए । 

निश्चय पनि अर्थमन्त्री डा. वाग्लेको तुलना अहिले नै डा. मनमोहन सिंहसंग गर्न हतार हुन सक्छ । किनकी सिंहले ५ वर्ष अर्थमन्त्रालयको नेतृत्व गरेका थिए । तर, उनको तुलना ग्रिसका अर्थमन्त्री बारुफाकिससंग त गर्न मिल्छ । किनकी बारुफाकिस केवल करिब ६ महिना मात्र अर्थमन्त्री भएका थिए भने वाग्ले अर्थमन्त्री भएको भए पनि ४ महिना हुन लागिसकेको छ । बारुफाकिसले अर्थमन्त्रीकोरुपमा ग्रिसका आम मान्छेका समस्या समाधान गर्ने प्रयास गरेका थिए, त्यसको लागि उनी दातासँग लडे, भिडे । स्वंयम प्रधानमन्त्रीसँग पनि भिडे । तर, नसकेपछि गर्वका साथ राजीनामा दिए । त्यहीकारण उनी त्यति छोटो समयमा पनि ग्रिसका सर्वाधिक लोकप्रिय र प्रभावकारी अर्थमन्त्रीकोरुपमा स्थापित भए । अर्थमन्त्रीबाट हटेको एक दशक भन्दा लामो समयपछि पनि उनका हरेक भाषण, लेख, अन्तरवार्ताहरु देशभित्र मात्र नभएर विश्वव्यापीरुपमै ‘हटकेक’ जस्तो बन्ने गरेका छन् ।

कुनै एक जना मन्त्रीले देशका समस्या समाधान गर्न नसक्न सक्छ । त्यसको लागि प्रधानमन्त्रीदेखि कर्मचारीतन्त्रसम्मको साथ हुनु आवश्यक छ । तर, समस्या समाधानमा इमान्दारिताका साथ प्रयास गर्ने र जनताका मुद्दालाई नविर्सिने हो भने छोटो कार्यकालमा पनि प्रभावकारीरुपमा काम गर्न र दीर्घकालसम्म असर पार्न सकिन्छ भन्ने उदाहरण बारुफाकिस हुन् ।

चुनाव अगाडि वाग्लेसहितका रास्वपाका नेताहरुले ‘सय दिन नेतृत्व गर्न दिनुस्, चमत्कार गर्छाैं’ भनेर बारम्बार भनिरहेका थिए । तर, अहिले २ सय दिन नै हुन लाग्दा पनि अर्थतन्त्र लिकमा होइन कि झन झन भद्रगोल हुँदै गएकाेछ । उनी कति समय अर्थमन्त्री रहलान् ? त्यसपछि उनको राजनीतिक भविश्य के होला ? त्यो भन्न सकिने कुरा होइन र आम मान्छेको लागि चासोको विषय पनि होइन । तर, योजना आयोगको उपाध्यक्षबाट अर्थमन्त्री हुँदै प्रधानमन्त्री बनेका मनमोहन सिंहको ‘नेपाली उत्तराधिकारी’ बन्ने लोभ पलाउँदा उनी यता न उताको जस्तो देखिएका छन् । माथि भनिएझैं हिजो सत्तामा नपुग्दा देखाएको ‘विकासको बाटो’ भन्दा फरक बाटोमा हिंडेपछि उनी बारुफाकिस पनि बन्न नसक्ने (सत्ताबाट हट्दा पनि गर्वका साथ हट्ने र आफ्नो प्रभाव कायम राख्ने) सम्भावनासमेत सकिन लागेको देखिदैँछ । 




प्रधानमन्त्रीले व्यवसायीका कुरा डायरीमा नोट गर्दैनन्, मन्त्रीहरू नराखी व्यवसायीहरुलाई भेट्नुकाे रहस्य खुल्याे

Jul 22, 2026 01:02 PM

सुवास निरौला

आजभोलि सिंहदरबारको मूल गेटबाट प्रधानमन्त्रीलाई भेटेर बाहिरिने विभिन्न क्षेत्रका व्यवसायी र प्रतिनिधिहरूको अनुहारमा एउटा भिन्नै किसिमको चमक देखिन्छ।