नेप्सेको नयाँ सिइओ छनोट प्रक्रिया सुरु: सहसचिव महेश आचार्यको संयोजकत्वमा छनोट समिति गठन

Jul 27, 2026 05:50 PM Merolagani



सुवास निरौला 

नेपाल स्टक एक्सचेन्ज (नेप्से) को नयाँ प्रमुख कार्यकारी अधिकृत (सिइओ) नियुक्तिका लागि औपचारिक प्रक्रिया सुरु भएको छ। 

वर्तमान सिइओ चुडामणि चापागाईँले आफ्नो कार्यकाल सकिनु अगावै गत असार २२ गते राजीनामा दिएपछि रिक्त रहेको उक्त पदका लागि अर्थ मन्त्रालयले नयाँ नेतृत्व चयनको प्रक्रिया थालेको हो।मन्त्रालयले वित्तीय क्षेत्र व्यवस्थापन महाशाखाका प्रमुख एवं सहसचिव महेश आचार्यको संयोजकत्वमा तीन सदस्यीय छनोट समिति गठन गरेको छ।

 

 

नेप्सेका वर्तमान अध्यक्ष एवं अर्थ मन्त्रालयका सहसचिव अमृत लम्सालले सिइओ छनोटका लागि समिति गठन भएको पुष्टि गरेका हुन्। "नयाँ नेतृत्व चयनका लागि मन्त्रालयले सहसचिव महेश आचार्यको संयोजकत्वमा समिति गठन गरिसकेको छ," लम्सालले भने, "अब यो समितिले कार्यविधि तयार गरी भोलि सार्वजनिक विज्ञापनमार्फत आवेदन माग गर्नेछ।"

नियमावलीमा सञ्चालक समितिको अधिकार, तर सरकारको 'होल्ड'

कानुनी रूपमा नेप्से 'कम्पनी ऐन' अन्तर्गत दर्ता भएको सार्वजनिक लिमिटेड कम्पनी हो। 'धितोपत्र बजार सञ्चालन नियमावली, २०६४' को नियम १४ को उपनियम (१) मा स्पष्ट रूपमा भनिएको —"धितोपत्र बजारको कार्यकारी प्रमुखको नियुक्ति धितोपत्र बजारको सञ्चालक समितिले गर्नेछ।"

यस नियमले सिइओ नियुक्तिको अधिकार नेप्सेको सञ्चालक समितिलाई दिएको भए पनि नेप्सेमा नेपाल सरकार र नेपाल राष्ट्र बैंकको गरी बहुमत शेयर स्वामित्व रहेकाले यो बुँदा व्यवहारमा लागू हुँदैन। सरकारी बहुमत शेयर रहेका संस्थाहरूलाई 'सार्वजनिक निकाय' मानिने र त्यस्ता निकायका प्रमुखको नियुक्ति मन्त्रिपरिषद् मार्फत हुने प्रचलन छ।

नेप्सेमा सरकारको बहुमत शेयर रहुन्जेल नियमावलीको उक्त व्यवस्था निष्क्रिय जस्तै रहन्छ। मन्त्रिपरिषद्ले जारी गरेको 'सरकारी सार्वजनिक निकायका पदाधिकारीको नियुक्ति तथा मनोनयन सम्बन्धी मापदण्ड, २०७७' अनुसार सरकारी स्वामित्वका निकायमा खुला प्रतिस्पर्धाबाटै नेतृत्व चयन गर्नुपर्ने बाध्यकारी व्यवस्था छ।" सार्वजनिक निकायको कार्यकारी प्रमुखको पदमा नियुक्तिका लागि उपयुक्त उम्मेदवारको सिफारिस गर्न सम्बन्धित मन्त्रालयले एक 'छनोट तथा सिफारिस समिति' गठन गर्नेछ" मापदण्डमा उल्लेख छ।  सञ्चालक समितिले सिधै नियुक्त गर्दा पारदर्शितामा प्रश्न उठ्ने र राजनीतिक हस्तक्षेपको जोखिम हुने भएकाले सरकारले मन्त्रिपरिषद् मार्फत नै अन्तिम नियुक्ति गर्ने प्रक्रिया अपनाउँदै आएको छ। 

पहिलेको अभ्यास र अबको प्रक्रिया
नेप्सेमा यसअघिका नियुक्तिहरू पनि अर्थ मन्त्रालयले गठन गर्ने यस्तै छनोट समितिको सिफारिसमा मन्त्रिपरिषद्ले नै गर्दै आएको थियो। यद्यपि, छनोट समितिलाई आफ्नै कार्यविधि बनाउने र उम्मेदवारको योग्यता एवं मूल्याङ्कनको मापदण्ड तोक्ने पूर्ण अधिकार हुन्छ। त्यसैले, यस पटकको नियुक्ति प्रक्रियामा केही नयाँ सर्त वा प्रावधानहरू हुन सक्ने सम्भावना रहन्छ।

 

समितिले अब निम्न चरणहरू पार गर्दै नयाँ सिइओ चयन गर्नेछ:

१. सार्वजनिक विज्ञापन: समितिले भोलि (सूचना प्रकाशित हुने दिन) राष्ट्रिय दैनिकमा निश्चित दिनको म्याद राखेर आवेदन माग गर्नेछ। उम्मेदवारले शैक्षिक प्रमाणपत्र, अनुभव र नेप्से सुधारको 'व्यावसायिक कार्य योजना' (Business Plan) पेस गर्नु पर्नेछ।

२. सर्टलिस्टिङ: प्राप्त आवेदनहरूमध्येबाट योग्यता र कार्य योजनाको प्रारम्भिक मूल्याङ्कन गरी संक्षिप्त सूची (Shortlist) तयार गरिनेछ।

३. प्रस्तुतीकरण र अन्तर्वार्ता: सर्ट लिस्टमा परेकाहरूलाई कार्य योजना प्रस्तुत गर्न र अन्तर्वार्ताका लागि बोलाइनेछ।

४. तीन जनाको सिफारिस: समितिले उत्कृष्ट ३ जनाको नाम अर्थ मन्त्रालयमार्फत मन्त्रिपरिषद्मा पठाउनेछ।

५. मन्त्रिपरिषद्को निर्णय: सिफारिस भएका ३ मध्येबाट एक जनालाई आगामी ४ वर्षका लागि नेप्सेको सिइओ नियुक्त गरिनेछ।

यस अघिको प्रक्रिया माथि उल्लेखित जस्तै हुने गरेको भए पनि समितिलाई नै कार्यविधि र मापदण्ड तोक्ने अधिकार रहेकोले छनोट समितिले कस्तो कार्यविधि र मापदण्ड तय गरेको छ भन्ने कुरा भोलि प्रकाशित हुने सार्वजनिक सूचनापछि मात्र प्रस्ट हुनेछ। पूँजी बजारको विकास र नेप्सेको आधुनिकीकरणका लागि नयाँ सिइओको नियुक्तिलाई लगानीकर्ताहरूले निकै चासोका साथ हेरिरहेका छन्।




प्रधानमन्त्रीले व्यवसायीका कुरा डायरीमा नोट गर्दैनन्, मन्त्रीहरू नराखी व्यवसायीहरुलाई भेट्नुकाे रहस्य खुल्याे

Jul 22, 2026 01:02 PM

सुवास निरौला

आजभोलि सिंहदरबारको मूल गेटबाट प्रधानमन्त्रीलाई भेटेर बाहिरिने विभिन्न क्षेत्रका व्यवसायी र प्रतिनिधिहरूको अनुहारमा एउटा भिन्नै किसिमको चमक देखिन्छ।