मंगलबार नेप्से परिसूचक २१.१५ अंक घटेर २६६३.१८ विन्दुमा झरेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स २.६६ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.४० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.०८ अंक घटेको छ।
नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। सोमबार ४ अर्ब ५७ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३४३ स्टकको ५२ हजार २७२ पटकको कारोबारमा ४ अर्ब ७ करोड ८ लाख ५३ हजार रुपैयाँबराबरको १ करोड ७ लाख ६१ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
एभरेष्ट कलरको शेयरमूल्य यस दिन पनि सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो कम्पनीको शेयरमूल्य निरन्तर १२ औँ कारोबार दिन सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यस्तै, यस दिन खानीखोला हाइड्रोपावरको शेयरमूल्य १० प्रतिशतभन्दा बढी बढेको छ भने जोशी हाइड्रोपावरको शेयरमूल्य ५ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको सप्तकोशी डेभलपमेन्ट बैंकको शेयरमूल्य यस दिन सर्वाधिक ११.६७ प्रतिशत घटेको छ।
कारोबार रकमका आधारमा यस दिन खानीखोला हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ४० करोड ६६ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन सिद्धार्थ बैंकको करिब १७ करोड रुपैयाँको शेयर किनबेच भएको छ भने नेशनल हाइड्रोपावर कम्पनीको कारोबार रकम साढे १६ करोड रुपैयाँ नाघेको छ।
यस दिन १३ वटै उपसमूहको परिसूचक घटेको छ। जसमध्ये उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक १.३१ प्रतिशत घटेको छ। त्यसतै, यस दिन अन्य र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।