बैंकले गत आर्थिक वर्षको अन्त्यसम्ममा ३ अर्ब ५१ करोड ९४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको खुद नाफा (३ अर्ब ३६ करोड ६५ लाख रुपैयाँ) को तुलनामा ४.५४ प्रतिशतको वृद्धि हो।
बैंकको खुद ब्याज आम्दानी अघिल्लो आर्थिक वर्षको ८ अर्ब ४३ करोड रुपैयाँबाट बढेर ९ अर्ब ५ करोड ११ लाख रुपैयाँ पुगेको छ। त्यस्तै, फि तथा कमिसन आम्दानी १ अर्ब ५८ करोड रुपैयाँबाट बढेर १ अर्ब ८६ करोड ४६ लाख रुपैयाँ कायम भएको छ भने सञ्चालन नाफा अघिल्लो वर्षको ४ अर्ब ९७ करोड रुपैयाँबाट बढेर ५ अर्ब १६ करोड २७ लाख रुपैयाँ पुगेको छ।
राष्ट्र बैंकको नियम अनुसार नियमनकारी समायोजन र साविकको सञ्चित नाफा समायोजन पश्चात् बैंकको कुल वितरणयोग्य नाफा १ अर्ब ७० करोड ५६ लाख ७१ हजार रुपैयाँ रहेको छ। साधारण शेयरधनीहरूका लागि बैंकको प्रतिशेयर वितरणयोग्य नाफा ११ रुपैयाँ ५३ पैसा कायम भएको छ। कैपिटल एड्जस्टमेन्ट रिजर्भ समायोजन गर्दा यस्तो क्षमता २६ रुपैयाँ १५ पुग्ने विवरणमा उल्लेख छ।
बैंकको वासलातको आकार ३ खर्ब ८९ अर्ब रुपैयाँ नाघेको छ। बैंकको साधारण चुक्ता पूँजी १४ अर्ब ७९ करोड ४४ लाख ७९ हजार र अविमोच्य असञ्चिति अग्राधिकार शेयर ३ अर्ब ५० करोड रुपैयाँ गरी कुल चुक्ता पूँजी १८ अर्ब २९ करोड ४४ लाख रुपैयाँ रहेको छ। सञ्चित नाफा र अन्य जगेडा कोष गरी कुल कोष १८ अर्ब ६२ करोड ५७ लाख रुपैयाँ पुगेको छ।
ग्राहकहरूबाट सङ्कलित निक्षेप २ खर्ब ८० अर्ब ३२ करोड रुपैयाँबाट बढेर ३ खर्ब २७ अर्ब १ करोड रुपैयाँ पुगेको छ भने ग्राहकहरूलाई प्रवाह गरिएको कर्जा २ खर्ब १४ अर्ब ४५ करोड रुपैयाँबाट बढेर २ खर्ब ३३ अर्ब ८७ करोड रुपैयाँ पुगेको छ। बैंकको कुल सम्पत्ति ३ खर्ब ३८ अर्ब ८१ करोड रुपैयाँबाट बढेर ३ खर्ब ८९ अर्ब ७३ करोड रुपैयाँ कायम भएको छ।
