कम्पनीले चालकहरूमाथि श्रम शोषण गरेको, अत्यधिक कमिसन लिएको र बजारको महँगीअनुसार भाडा दर कायम नगरेको भन्दै उनीहरू आन्दोलित भएका हुन्।
बुधबार बिहानैदेखि सयौँको सङ्ख्यामा भेला भएका चालकहरूले इन्ड्राइभ कार्यालयको गेटमा नाराबाजी गर्दै आफ्ना मागहरू पूरा गर्न दबाब दिएका थिए।
सुरुका दिनमा शून्य कमिसनमा सेवा सञ्चालन गरेको इन्ड्राइभले अहिले चालकहरूबाट १० देखि १५ प्रतिशत वा सोभन्दा बढी कमिसन लिन थालेको चालकहरूको गुनासो छ। ‘हामीले दिनभरि घामपानी नभनी दुःख गर्छौँ, तर कमाईको ठूलो हिस्सा कम्पनीले लैजान्छ,’ प्रदर्शनमा सहभागी एक चालकले भने।
इन्धनको मूल्य वृद्धि र बजारको बढ्दो महँगीअनुसार इन्ड्राइभको ‘बेस रेट’ (न्यूनतम भाडा) निकै कम भएको उनीहरूको दाबी छ। चालकहरूले हालको भाडा दरले मोटरसाइकलको मर्मत खर्च र घरखर्च धान्न मुस्किल परेको बताएका छन्।
त्यस्तै, सडकमा जोखिम मोलेर काम गर्दा पनि कम्पनीले चालक र यात्रीको सुरक्षा वा बीमाका विषयमा ठोस नीति नबनाएकोमा उनीहरूको आपत्ति छ।
एपमा कमिसन धेरै काटिने भएपछि कतिपय चालक र यात्री अफलाइन हिँड्न बाध्य भएको र यसले सुरक्षा चुनौती बढाएको भन्दै उनीहरूले कमिसन घटाएमा सबैजना अनलाइन सिस्टममै बस्ने तर्क गरेका छन्।
कार्यालय अगाडि चर्को नाराबाजी
प्रदर्शनका क्रममा चालकहरूले ‘हाम्रो श्रमको मूल्य लागू गर’ ‘अत्यधिक कमिसन लिन बन्द गर’, ‘हामी पनि मान्छे हौं, हाम्रो पनि सपना छ ।’, ‘भाडा दर समायोजन गर’ जस्ता नारा लगाएका छन्। प्रदर्शनका कारण केही समय कुपण्डोल क्षेत्रको यातायात समेत प्रभावित भएको थियो।
चालकहरूले आफ्ना माग समेटिएको ज्ञापनपत्र कम्पनीका प्रतिनिधिहरूलाई बुझाउने प्रयास गरेका छन्। उनीहरूले तत्काल कमिसन घटाउने र भाडा दरमा पुनरावलोकन नगरे देशभरका चालकहरूले सेवा ठप्प पार्ने चेतावनी समेत दिएका छन्।
नियामक निकायको मौनता
नेपालमा राइड सेयरिङ सेवा व्यवस्थित गर्ने स्पष्ट कानुन र मापदण्ड अझै पूर्ण रूपमा कार्यान्वयनमा आउन नसक्दा कम्पनी र चालकहरूबीच बेला–बेलामा यस्ता विवाद देखिने गरेका छन्। सरकारले ट्याक्सीको भाडा समायोजन गरे पनि राइड सेयरिङको हकमा ठोस नीति नहुँदा कम्पनीहरूले मनोमानी ढंगले कमिसन तोक्ने गरेको चालकहरूको आरोप छ।
इन्ड्राइभ व्यवस्थापनले भने यसबारे अहिलेसम्म कुनै औपचारिक प्रतिक्रिया सार्वजनिक गरेको छैन। तर, बढ्दो विवादले गर्दा हजारौँ चालक र लाखौँ प्रयोगकर्ता रहेको यो सेवा प्रभावित हुने देखिएको छ।