डिजिटल एनईएको अर्को सफलता, अब विद्युतको पीपीए र बिलिङ प्रणाली अनलाइनबाटै

Aug 05, 2026 03:27 PM Merolagani



नेपाल विद्युत प्राधिकरण (नेविप्रा) ले आफ्नो सेवालाई पूर्ण रूपमा प्रविधिमैत्री बनाउने उद्देश्यका साथ ‘डिजिटल एनईए अभियानअन्तर्गत दुईवटा महत्त्वपूर्ण प्रणालीको शुभारम्भ गरेको छ।

प्राधिकरणको विद्युत व्यापार विभागले निर्माण गरेको ‘डकुमेन्ट म्यानेजमेन्ट सिस्टम (डीएमएस) र ‘सफ्टवेयर बेस्ड बिलिङ सिस्टम’ को औपचारिक रूपमा सुरुवात गरिएको हो।

प्राधिकरणको केन्द्रीय कार्यालयमा आयोजित एक विशेष कार्यक्रमका बीच निमित्त कार्यकारी निर्देशक दिर्घायु कुमार श्रेष्ठले दुवै प्रणालीको समुद्घाटन गरे ।

के हो डकुमेन्ट म्यानेजमेन्ट सिस्टम ?

यस प्रणालीको कार्यान्वयनसँगै अब निजी क्षेत्रका स्वतन्त्र ऊर्जा प्रवर्द्धकहरूले प्राधिकरणको कार्यालय धाउनुपर्ने झन्झट कम हुने भएको छ। डीएमएसमार्फत प्रवर्द्धकहरूले निर्माणाधीन आयोजनाको चौमासिक प्रगति विवरण अनलाइनबाटै बुझाउन सक्नेछन् ।

त्यस्तै, वार्षिक प्रतिवेदन, समन्वय समितिका माइन्युट र बीमा विवरणहरू डिजिटल माध्यमबाटै पेश गर्न मिल्ने, विद्युत खरिद सम्झौता (पीपीए)का कागजात र आयोजनाका सम्पूर्ण जानकारी एउटै एकीकृत प्लेटफर्ममा उपलब्ध हुनेछन् ।

प्राधिकरण र प्रवर्द्धकबीच हुने आधिकारिक पत्राचार पनि अब यसै प्रणालीमार्फत हुनेछ।

विद्युत व्यापारलाई थप व्यवस्थित बनाउन ल्याइएको बिलिङ प्रणालीले मासिक विद्युत महसुल प्रक्रियालाई छरितो बनाउनेछ। यस अन्तर्गत आयोजनाहरूले आफ्नो ‘अवेलेबिलिटी डिक्लेरेसन’ अनलाइनबाटै पेश गरी स्वीकृत गराउन सक्नेछन्।

संयुक्त मिटर रिडिङ पेश गर्ने र मासिक विद्युत बिलहरू अनलाइनबाटै प्रक्रियामा लैजाने व्यवस्था गरिएको छ। सुरुवातमा केही आयोजनाबाट यो प्रणाली सुरु गरी क्रमैसँग देशभरका सबै आयोजनामा विस्तार गरिने प्राधिकरणले जनाएको छ।

कार्यक्रममा बोल्दै निमित्त कार्यकारी निर्देशक दिर्घायु कुमार श्रेष्ठले प्राधिकरणलाई डिजिटल बनाउने लक्ष्यमा यो एउटा महत्त्वपूर्ण कदम भएको बताए। उनले यी प्रणालीलाई समयसापेक्ष परिष्कृत गर्दै लैजान र पूर्ण कार्यान्वयनमा ल्याउन निर्देशन दिए ।




साहस ऊर्जाको खुद नाफा १ अर्ब ३५ करोड नाघ्यो, प्रतिशेयर आम्दानी कति?

Aug 02, 2026 09:39 AM

साहस ऊर्जा लिमिटेड (SAHAS) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरण अनुसार गत आर्थिक वर्ष कम्पनीको विद्युत बिक्री आम्दानी र खुद नाफामा अघिल्लो आर्थिक वर्षको तुलनामा बढेको छ।