बुद्धभूमि नेपाल हाइड्रोपावर घाटाबाट नाफामा

Aug 06, 2026 09:56 AM Merolagani



बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेड (BNHC) ले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक विवरण अनुसार कम्पनीले अघिल्लो वर्षको घाटालाई पूर्ति गर्दै नाफामा फर्किन सफल भएको छ।

अघिल्लो आर्थिक वर्षमा १४ करोड ३७ लाख रुपैयाँ विद्युत बिक्री आम्दानी आम्दानी गरेको यस कम्पनीले गत आर्थिक वर्ष २८.६८ प्रतिशतले वृद्धि गरी १८ करोड ५० लाख रुपैयाँ पुर्‍याएको छ। यससँगै अघिल्लो आर्थिक वर्षमा २ करोड २५ लाख रुपैयाँ घाटामा रहेको कम्पनीले गत आर्थिक वर्षमा १ करोड २० लाख रुपैयाँ खुद नाफा कमाएको छ।

विद्युत बिक्री बढेसँगै कम्पनीको सञ्चालन नाफा अघिल्लो वर्षको ६ करोड ३५ लाख रुपैयाँबाट ४२.४५ प्रतिशतले बढेर ९ करोड ५ लाख रुपैयाँ पुगेको छ। कम्पनीको बैंक ऋणको ब्याज भुक्तानी तथा वित्तीय खर्च अघिल्लो वर्षको ८ करोड ७५ लाख रुपैयाँबाट घटेर ७ करोड ८६ लाख रुपैयाँमा झरेको छ।

हकप्रद शेयर जारी गरेसँगै कम्पनीको पूँजीगत आधार बलियो भएको छ। अघिल्लो आर्थिक वर्ष ४० करोड रहेको कम्पनीको चुक्ता पूँजी गत आर्थिक वर्ष १०० प्रतिशत बढेर ८० करोड रुपैयाँ पुगेको छ।कम्पनीको विगतको सञ्चित घाटा घट्दै गएको छ। अघिल्लो आर्थिक वर्ष १० करोड ४७ लाख सञ्चित घाटा रहेकोमा गत आर्थिक वर्षको असार मसान्तसम्ममा घाटा घटेर ३० लाख ५९ हजार धनात्मक जगेडा कोषमा परिणत भएको छ।

हकप्रद पूँजीबाट ऋण भुक्तानी गरिएकाले कम्पनीको दीर्घकालीन ऋण अघिल्लो वर्षको ९१ करोड ५६ लाख रुपैयाँबाट घटेर ७३ करोड ८९ लाख रुपैयाँमा झरेको छ। कम्पनीको कुल सम्पत्ति १ अर्ब ५८ करोड ७९ लाख रुपैयाँ पुगेको छ।

कम्पनीले आर्थिक वर्ष २०७८/७९ को चैत्र १० गतेदेखि व्यावसायिक उत्पादन शुरू गरी ४.९९ मेगावाट क्षमताको तल्लो तोदी खोला जलविद्युत आयोजनाबाट निरन्तर विद्युत बिक्री गर्दै आइरहेको छ। कम्पनीले हकप्रद शेयरमार्फत पूँजी वृद्धि गरी बैंक ऋण घटाउन सफल भएको छ। सञ्चित घाटा पूर्ति भई जगेडा कोष धनात्मक हुनु र कम्पनी खुद नाफामा फर्किनुले आगामी दिनमा शेयरधनीहरूका लागि लाभांशको ढोका खुल्ने सकारात्मक संकेत गरेको छ।




नबिल बैंकको नाफा करिब ८ अर्ब, लाभांश क्षमतामा पनि सुधार

Aug 05, 2026

नेपालको अग्रणी वाणिज्य बैंक नबिल बैंक लिमिटेड (NABIL) ले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार बैंकको खुद नाफा, खुद ब्याज आम्दानी र लाभांश क्षमतामा अघिल्लो आर्थिक वर्षको तुलनामा राम्रो वृद्धि देखिएको छ।