सातामा करिब १ प्रतिशत घट्यो नेप्से, कुन उपसमूहको परिसूचक कति बढ्यो? कति घट्यो?

Aug 22, 2026 06:16 AM Merolagani



यस साता नेप्से परिसूचक करिब १ प्रतिशत घटेर बन्द भएको छ। गत साता २६४३.८३ विन्दुमा बन्द भएको नेप्से, यस साता ०.९५ प्रतिशत अर्थात २५.११ अंक घटेर २६१८.७२ विन्दुमा बन्द भएको छ।

यस साता पाँच कारोबार दिनका लागि बजार खुलेको थियो। जसमध्ये चार कारोबार दिन नेप्से नकारात्मक रहेको थियो भने एक कारोबार दिन सकारात्मक भएर बन्द भएको थियो।

यस साता फ्लोट इण्डेक्स ३.३७ अंक घटेको छ भने सेन्सेटिभ इण्डेक्स २.०० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.२१ अंक घटेको छ।

नेप्से घटेपनि यस साता कारोबार रकम भने बढेको छ। गत साता दैनिक औषतमा ३ अर्ब ८६ करोड रुपैयाँको शेयर खरिदबिक्री भएको बजारमा यस साता दैनिक औषतमा ४ अर्ब ४९ करोड रुपैयाँको शेयर किनबेच भएको छ। गत साताको तुलनामा यस साताको दैनिक औषत कारोबार रकम १६.३० प्रतिशत बढेको हो। त्यस्तै, यस साता दैनिक औषत शेयर संख्या १४.१९ प्रतिशत बढेको छ भने दैनिक औषत कारोबार संख्या १०.०८ प्रतिशत बढेको छ।

यस साता नेप्सेको कुल बजार पूँजीकरण पनि करिब १ प्रतिशत घटेको छ। गत साताको अन्तिम कारोबार दिन ४५ खर्ब ४७ अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पूँजीकरण, यस साता ४३ अर्ब रुपैयाँ घटेर ४५ खर्ब ४ अर्ब रुपैयाँमा सीमित भएको छ।

१३ उपसमूहमध्ये यस साता दुई उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको परिसूचक घटेको छ। यस साता व्यापार उपसमूहको परिसूचक ०.४१ प्रतिशत बढेको छ। गत साता ३२३९.८६ विन्दुमा बन्द भएको सो उपसमूहको परिसूचक, यस साता १३.२९ अंक बढेर ३२५३.१५ विन्दुमा पुगेको छ। त्यस्तै, यस साता उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक ०.११ प्रतिशत बढेको छ।

यस साता वित्त उपसमूहको परिसूचक सर्वाधिक २.३७ प्रतिशत घटेको छ। गत साता २३७४.८९ विन्दुमा बन्द भएको सो उपसमूहको परिसूचक, यस साता ५६.२१ अंक घटेर २३१८.६८ विन्दुमा झरेको छ। अंकका आधारमा भने यस साता जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक घटेको हो। गत साता ११ हजार ८०३.८३ विन्दुमा बन्द भएको सो उपसमूहको परिसूचक, यस साता २१०.४१ अंक घटेर ११ हजार ५९३.४२ विन्दुमा झरेको छ।

यस साता तीन कम्पनीको कुल ३६ लाख ८९ हजार ६८१.११ कित्ता शेयर नेप्सेमा सूचीकृत भएको छ। यस साता साल्ट ट्रेडिङ्ग कर्पोरेशन र सानिमा जिआईसीको बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो भने युनाइटेड अजोड इन्स्योरेन्स्को हकप्रद शेयर नेप्सेमा सूचीकृत भएको हो।

यस साता सर्वोत्तम पेन्ट्सको शेयरमूल्य सर्वाधिक १०१.०६ प्रतिशत बढेको छ। गत साता ३९६ रुपैयाँ ७० पैसामा अन्तिम कारोबार भएको यस कम्पनीको शेयर, यस साता ७९७ रुपैयाँ ६ पैसामा अन्तिम कारोबार भएको छ। त्यस्तै, यस साता माउन्ट एभरेष्ट पावर डेभलपमेन्टको शेयरमूल्य साढे ६९ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको खानी खोला हाइड्रोपावर कम्पनीको शेयरमूल्य यस साता सर्वाधिक २३.३९ प्रतिशत घटेको छ। त्यसैगरी, यस साता आइसिएफसिको ऋणपत्रको मूल्य १४ प्रतिशत घटेको छ।

फ्लोरसिट विश्लेषण गर्दा यस साता नेपाल दूरसञ्चार कम्पनी, सर्वोत्तम पेन्ट्स, लक्ष्मी सनराइज बैंक लगायतका स्टकहरु मोस्ट पपुलर बाइ स्टक सूचीको शीर्ष स्थानमा रहेका छन् भने मोदी इनर्जी, स्वरोजगार लघुवित्त वित्तीय संस्था, मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावर लगायतका स्टकहरु मोस्ट पपुलर सेल स्टक सूचीको शीर्ष स्थानमा रहेका छन्।




असाध्यै चुनौतीपूर्ण चरण अब आउँदैछः अर्थमन्त्री डा. वाग्ले

Aug 20, 2026 02:28 PM

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा वैदेशिक सहायता पछिल्लो समय घट्दै गएको बताएका छन् । सार्वजानिक लेखा समितिको बिहीवार बसेको बैठकमा उनले पछिल्लो समय अनुदान तथा सहुलियतपूर्ण ऋणको स्रोत साँघुरिँदै गएको बताएका हुन् ।