'लगानीमैत्री वातावरण निर्माणमा सरकार गम्भिर भएन'

Aug 24, 2026 02:08 PM Merolagani



नेपाली काँग्रेसका सांसद भरतबहादुर स्वारले नेपालमा लगानीमैत्री वातावरण निर्माण गर्न सरकार गम्भिर नभएको आरोप लगाएका छन् ।

सोमवार बसेको पूर्वाधार विकास समितिको बैठकमा भएको पूर्वाधार विकास र सार्वजनिक निजी साझेदारी सम्बन्धी छलफलमा उनले लगानीमैत्री वातावरण बनाउन सरकार गम्भिर हुनुपर्ने बताएका हुन् । उनले उद्योग स्थापना र सञ्चालनका क्रममा व्यवसायीले विभिन्न निकाय धाउनुपर्ने तथा अनावश्यक झन्झट र कमिसनको समस्या झेल्नुपरेको दाबी गरे ।

नेपालमा प्रभावकारी ‘एकद्वार प्रणाली’ नहुँदा स्वदेशी तथा विदेशी लगानीकर्ता निरुत्साहित भइरहेको उनको भनाई छ । लगानी गर्न आउने उद्योगीलाई विभिन्न निकायका ढोका–ढोका धाउनुपर्ने अवस्था अन्त्य गर्नुपर्नेमा उनले जोड दिए । उनले विगतमा नेपालमा स्थापना गरिएका कतिपय उद्योग बन्द हुनु र भएका पुँजीसमेत विदेश पलायन हुनु गम्भीर विषय भएको बताए ।

विदेशी तथा मित्रराष्ट्रको सहयोगमा स्थापना भएका उद्योगसमेत सञ्चालन गर्न नसक्नु मुलुकका लागि लाजमर्दो अवस्था भएको उनको भनाई छ । उनले छिमेकी मुलुकका वायुसेवा कम्पनीले उल्लेख्य प्रगति गरिसक्दा नेपाल एयरलाइन्स ऋणको भारमा परेको बताए । विगतमा विभिन्न उद्योग तथा आयोजनामा देखिएका समस्या समाधान नगरे लगानीको वातावरण थप बिग्रिने उनको भनाई छ ।

उद्योगी व्यवसायीलाई बिना आधार पक्राउ गर्ने, थुनामा राख्ने र धरौटीमा छाड्ने जस्ता गतिविधिले पनि लगानीकर्तामा नकारात्मक सन्देश जाने उनको भनाई छ । निर्माण क्षेत्रमा समेत व्यवसायीले समस्या भोगिरहेको उल्लेख गर्दै उनले पहुँच र चाकडीका आधारमा योजना छनोट हुने तथा इमानदारीपूर्वक काम गर्ने निर्माण व्यवसायी कालोसूचीमा पर्ने अवस्था अन्त्य गर्नुपर्नेमा जोड दिए ।

उनले भने, ‘सर्वप्रथम त म हाम्रो सभापतिज्युलाई मेरो विनम्र अनुरोध छ, हामी सबैको सहमतिले मिटिङ राख्छौँ, त्यो मिटिङमा हाम्रा माननीय साथीहरूको उपस्थिति एकदमै न्यून छ । भएका मान्छे आउँछन्, जान्छन् । यो अलिकति यो प्रक्रिया मिलेन । आगामी दिनबाट यस्तो नहोस्। अब हामी सबैको सल्लाहले मिटिङ राख्ने, आउँदाखेरि कोही पनि नआउने, यस्तो परम्परा बसालौँ । पूर्वाधार विकास समिति भनेको यो देशको मेरुदण्ड हो । यो मेरुदण्ड नै कमजोर भयो भने राष्ट्रको सर्वाङ्गीण विकासमा धेरै ठुलो असर पर्न सक्छ । यहाँ विभिन्न उद्योग वाणिज्य संघ होस्, लगानी बोर्ड उहाँहरूको सबैको समस्या सुन्दाखेरि नेपालमा एकद्वार प्रणाली छैन । त्यो एकद्वार प्रणाली नभएका कारणले विभिन्न समस्याहरू उहाँहरूले झेलिराख्नुभएको छ । त्यो हामीले आगामी दिनमा यसलाई हटाउन सक्ने कि नसक्ने ? आज हामीलाई विदेशबाट कुनै लगानी आउन खोज्छ, भनेपछि पहिले हुन्छ भन्ने, पछि विभिन्न समस्याले झेली ती पलायन भएर गएका हामीले धेरै देखेका छौँ, अहिले पनि त्यही समस्या आयो । एउटा उद्योग स्थापना गर्दाखेरि स्थापना गर्न खोज्ने, पछि त्यो उद्योगी ढोका ढोकामा कमिसन बुझाउँदा बुझाउँदा टाट पल्टिएर जाने । त्यस्तै हाम्रो कर्णाली हाइड्रोपावर छ । त्यो २०ौँ वर्ष भइसक्यो स्थापना भएको, कतिपय हाम्रा त्यतिबेलाका मन्त्रीहरू हाइड्रोपावरको पैसाले चुनावमा प्रचार पनि गरे, विगतमा । कतिपय साथीहरूको आउने–जाने टिकटको गाडी भाडा पनि त्यहीबाट भएको देखेको छौँ । त्यस्तै विभिन्न समस्याहरू झेलि झेलिराख्नुभएको अवस्था, यो देशमा कोही लगानी गर्दैन । भएका पनि पलायन भएर जान्छन्, यदि हामीले बेला–मौकामा बुद्धि होस पुर्याएनौँ र बुद्धि पुर्याएनौँ भने । बैंककको, थाइल्यान्डको सयौँ हजारौँको सङ्ख्यामा प्लेन छन्, हाम्रा यहाँ ऋण तिर्न नसकेर मर्नु न बाच्नु अवस्था नेपाल एयरलाइन्स छ । धेरै उद्योगहरू हाम्रा विदेशी दातृ संस्थाहरूले स्थापना गर्देका, मित्रराष्ट्रहरूले स्थापना गरिदिएका उद्योगहरू पनि बन्द भएका छन् । हामीले सञ्चालन गर्न सकेनौँ, यो हाम्रो एकदम लाजमर्दो कुरा हो । हाम्रो पूर्वाधार विकास समितिका सभापतिज्यु पनि एकदमै विज्ञ हुनुहुन्छ, उहाँलाई यो प्राविधिक कुरा सबै थाहा छ । त्यसकारण हामीले यो पूर्वाधार समितिले हामीले ठोस किसिमले हामी पहल गर्न सकेपछि मात्रै केही होला । यो देशमा अहिले भएका पुँजीहरू पलायन भइराखेका छन्, हामीले देखेका छौँ । अब तमाम उद्योगीहरूलाई ल्याएर पक्रिने, थुन्ने, बिना आधारमा कठघरामा राख्ने, कसैलाई दुई करोडमा कसैलाई एक करोडमा धरौटीमा छुट्ने, यस्तो परिवेशमा कोही लगानी गर्दैन । यदि हामीले यो देशको कायापलट गर्नुछ भने उहाँहरूका समस्या समाधान नगरेर हुँदैन, हाम्रो निर्माण क्षेत्रमा पनि यस्तै छ । निर्माण क्षेत्रमा पनि काम गर्नेलाई कुनै किसिमको सुविधा छैन । निर्माण व्यवसायीलाई पनि कुनै किसिमको सुविधा सेवा–सुविधा छैन । जसले चाकडी बजायो उसका योजना पास भए, जसले चाकडी बजाएन इमानदारीसँग काम गर्यो, उ बिचरा कालो सूचीमा पर्छ । यस्तो परम्परा यो मुलुकमा अहिलेसम्म विद्यमान छ । अब हामीले यसलाई परिवर्तन गर्नु जरुरी छ । हामीले पनि उही पहिलेकै परम्परालाई कायम गर्ने हो भनेपछि एकपचोटि मिटिङ राख्यौँ, उहाँहरूका समस्या पनि सुन्यौँ, हाम्रा हाम्रा हामीले चाहिँ नि त्यसमा केही पहल गर्न सके भनेपछि हामीले पनि पहल गरौँ, होइन भने पटक–पटक उहाँहरूलाई पनि दुःख दिनु भएन, हामीलाई पनि दुःख दिनु भएन ।’

सांसद स्वारले बैठकमा सांसदहरूको न्युन उपस्थिति हुने गरेकोप्रति असन्तुष्टि जनाए। आगामी दिनमा सबैको सल्लाह र सहभागितामा बैठक सञ्चालन गर्न उनले सभापतिसँग आग्रह समेत गरे । समितिले उद्योगी, लगानीकर्ता र निर्माण व्यवसायीका समस्या सुन्ने मात्र नभई समाधानका लागि ठोस पहल गर्नुपर्ने उनको भनाई छ ।




असाध्यै चुनौतीपूर्ण चरण अब आउँदैछः अर्थमन्त्री डा. वाग्ले

Aug 20, 2026 02:28 PM

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा वैदेशिक सहायता पछिल्लो समय घट्दै गएको बताएका छन् । सार्वजानिक लेखा समितिको बिहीवार बसेको बैठकमा उनले पछिल्लो समय अनुदान तथा सहुलियतपूर्ण ऋणको स्रोत साँघुरिँदै गएको बताएका हुन् ।