बाढी र पहिरोमा परी हालसम्म ६९१ जनाको मृत्यु भएको छ भने तीन हजारभन्दा बढी मानिस अझै बेपत्ता छन्। चिनियाँ सरकारी सञ्चारमाध्यम सिन्ह्वाका अनुसार शिगात्से सहरको केरुङ काउन्टीमा लेदोसहितको भीषण पहिरोमा परी हालसम्म १६ जनाको मृत्यु भएको छ। त्यहाँ ५४६ जना अझै बेपत्ता छन्। नेपाल-चीन व्यापारको मुख्य केन्द्र मानिने केरुङ सीमा बन्दरगाहमा बाढी र पहिरोले ठुलो क्षति पुर्याएको बताइएको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार नेपालतर्फ हालसम्म ६७५ जनाको शव फेला परेको छ भने दुई हजार ४२८ जना अझै बेपत्ता छन्। विपद्का बिच नेपालतर्फ सात हजार ५१४ जनाको जीवितै उद्धार गरिएको छ। बाढीबाट अति प्रभावित रसुवा, नुवाकोटलगायतका क्षेत्रमा हेलिकप्टरमार्फत लत्ताकपडा, चाउचाउ, बिस्कुट र चामललगायत राहत सामग्री पुर्याउने काम भइरहेको छ।
उद्धार गरिएका नागरिकलाई त्रिशूलीलगायत सुरक्षित स्थान र स्वास्थ्य शिविरमा सारिएको छ। बाढीग्रस्त क्षेत्रमा सेना र उद्धार टोलीले वृद्धवृद्धा तथा साना बालबालिकालाई प्राथमिक उपचारका लागि सुरक्षित पालमा पुर्याइरहेका छन्। विपद्पछि दुवै देशमा बेपत्ता नागरिकको खोजी तथा उद्धारलाई तीव्र पारिएको छ।