मुद्दा दायर गरिएकाहरूमा नापी कार्यालय कलंकीका तत्कालीन सर्वेक्षक अमित कुमार श्रेष्ठ र नापी अधिकृत हिरालाल पाँधे रहेका छन् । काठमाडौंको चन्द्रागिरी नगरपालिका वडा नं. ९ मा रहेको जग्गा हालसाविक गरी प्लट मिलान गरिदिने प्रयोजनका लागि उनीहरूले सेवाग्राहीसँग ५० हजार रुपैयाँ घुस माग गरेका थिए । सुरुमा सर्वेक्षक अमित कुमार श्रेष्ठले घुस मागेको उजुरी परेपछि आयोगले अनुसन्धान थालेको थियो ।
अनुसन्धानका क्रममा सर्वेक्षक श्रेष्ठ र नापी अधिकृत पाँधेले आपसी मिलेमतोमा सेवाग्राहीलाई दुःख दिने र बार्गेनिङ गर्ने गरेको पाइएको छ । कानुनी कारबाहीबाट बच्न उनीहरू आफैँले रकम नबुझी कार्यालयका सहयोगीलाई रकम लिन मञ्जुर गराएको समेत पुष्टि भएको आयोगले उल्लेख गरेको छ।
कानुनी मागदाबीः
अख्तियारले दुवै प्रतिवादीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर गरेको ठहर गर्दै ५० हजार रुपैयाँ बिगो कायम गरेको छ । आयोगले बिगो बमोजिमको जरिवाना र कैद सजायको मागदाबी गर्दै आज विशेष अदालतमा आरोपपत्र दर्ता गराएको आयोगले जानकारी गराएको छ ।