नेपालमा आईपीओ ठप्प हुँदा भारतमा एकैदिन ९ कम्पनीकाे सेयर निष्कासन, नीतिगत अन्योलताले बन्धक बन्दै नेपालकाे पुँजी बजार

Sep 09, 2026 01:37 PM Merolagani



नेपालको सेयर बजारमा नयाँ कम्पनीहरूको प्राथमिक सेयर निष्कासन (आईपीओ) प्रक्रिया विगत चार महिनादेखि पूर्ण रूपमा रोकिएको छ। नेपाल धितोपत्र बोर्ड (सेबोन) मा नेतृत्व परिवर्तन, नीतिगत अस्पष्टता र नयाँ नियमहरू बनाउन भएको ढिलाइका कारण कुनै पनि नयाँ कम्पनीले सेयर जारी गर्ने अनुमति पाएका छैनन्।

अहिले बजारमा बेनी हाइड्रोपावरको आईपीओ निष्कासन भइरहेको देखिए पनि यो नयाँ स्वीकृति भने होइन। गत वर्ष नै धितोपत्र बोर्डबाट स्वीकृति पाइसकेको यस आयोजनामा बीचमा सञ्चालकहरूले राजीनामा दिएपछि प्रक्रिया रोकिएको थियो। धितोपत्र बोर्डको नियमअनुसार स्वीकृति पाएको दुई महिनाभित्रै सेयर निष्कासन गरिसक्नुपर्ने कानुनी व्यवस्था भएपनि सञ्चालक समितिको फेरबदल र आन्तरिक वैधानिक अड्चनका कारण निष्कासन समयमा हुन नसकी पछि धकेलिएको थियो। यसबाहेक धितोपत्र बोर्डबाट नयाँ कम्पनीले आईपीओ जारी गर्ने अनुमति नपाएको चार महिनाभन्दा बढी भइसकेको छ।

प्राथमिक बजार ठप्प भइरहँदा सेकेन्डरी बजारका केही लगानीकर्ताहरू भने नेप्सेमा दिनप्रतिदिन नयाँ कम्पनीको आईपीओ र हकप्रद सेयर थपिँदा सेयरको आपूर्ति मात्र बढेको दाबी गरिरहेका छन्। बजारमा नयाँ पुँजी र नयाँ लगानीकर्ताको प्रवेश नभएको अवस्थामा निरन्तर सेयर थपिँदा सेकेन्डरी बजारको सूचक घट्न पुगेको भन्दै उनीहरूले केही समयका लागि आईपीओ निष्कासन रोक्नुपर्ने धारणा राख्दै आएका छन्। तर नेपालमा आईपीओ बन्द गराउने बहस चलिरहँदा छिमेकी मुलुक भारतमा भने आजै एकैदिन मेन बोर्ड र एसएमई गरी नौ वटा कम्पनीले सर्वसाधारणका लागि सेयर जारी गरेका छन्।

मेन बोर्ड र एसएमई आईपीओ भनेको के हो ?

भारतीय धितोपत्र तथा विनिमय बोर्ड (सेबी) र त्यहाँका स्टक एक्सचेन्जहरूले कम्पनीको आकार र पुँजीको आवश्यकताका आधारमा आइपीओलाई दुई भागमा विभाजन गरेका छन्। पहिलो मेन बोर्ड आइपीओ हो भने दोस्रो एसएमई आईपीओ हो।

 

मेन बोर्ड आइपीओ ठूला, स्थापित र फराकिलो व्यवसाय भएका कम्पनीहरूका लागि हो। यस्ता कम्पनीहरूको चुक्ता पुँजी ठूलो हुन्छ र तिनको सेयर बम्बे स्टक एक्सचेन्ज तथा नेसनल स्टक एक्सचेन्जको मुख्य ट्रेडिङ प्लेटफर्ममा सूचीकृत हुन्छ। मेन बोर्ड आईपीओमा सर्वसाधारण खुद्रा लगानीकर्ताले करिब १४ देखि १५ हजार भारतीय रुपैयाँजति सानो रकमबाटै आवेदन दिन सक्छन्।

अर्कातर्फ एसएमई आईपीओ साना तथा मझौला उद्योगहरूलाई सेयर बजारबाट पैसा जुटाउन सजिलो बनाउन ल्याइएको हो। साना तर तीव्र विस्तार भइरहेका कम्पनीहरू यस प्लेटफर्ममा आउँछन्। यस्ता कम्पनीहरूको सेयर बम्बे स्टक एक्सचेन्ज एसएमई वा नेसनल स्टक एक्सचेन्ज इमर्ज प्लेटफर्ममा सूचीकृत हुन्छ। एसएमई आईपीओमा जोखिम बढी हुने भएकाले सर्वसाधारण लगानीकर्तालाई जोगाउन न्यूनतम आवेदन रकम नै एक लाख भारतीय रुपैयाँभन्दा बढी तोकिएको हुन्छ। यसले गर्दा यसमा मुख्यतया ठूला र अनुभवी लगानीकर्ताहरूले मात्र भाग लिन्छन्।

एकैदिन नौ कम्पनीको आईपीओ निष्कासन

भारतीय बजारमा आज एकैसाथ सेयर जारी गर्ने ९ वटा कम्पनीहरूमा ठूला कर्पोरेटदेखि प्रविधि र उत्पादन क्षेत्रका साना उद्योगहरूसम्म रहेका छन्। मेन बोर्डतर्फ ६ वटा ठूला कम्पनीहरू सार्वजनिक निष्कासनमा आएका छन्। जसमा फर्निचर तथा उपकरण भाडामा दिने प्लेटफर्म रेन्टोमोजो, ऊर्जा क्षेत्रको स्टिमहाउस इन्डिया, एसेट रिकन्स्ट्रक्सन कम्पनी, पूर्वाधार क्षेत्रको करमतारा इन्जिनियरिङ, इन्जिनियरिङ क्षेत्रको एलसीसी प्रोजेक्ट्स र डिजिटल भुक्तानी प्रविधिसम्बन्धी मनिपाल पेमेन्ट एन्ड आइडेन्टिटी सोलुसन्स रहेका छन्।

रेन्टोमोजोले करिब आठ सय करोड भारतीय रुपैयाँ बराबरको ६० लाख कित्ता सेयर निष्कासन गरेको छ भने स्टिमहाउस इन्डियाले पाँच सय करोड रुपैयाँ बराबरको ४० लाख कित्ता सेयर जारी गरेको छ। यस्तै एसेट रिकन्स्ट्रक्सन कम्पनीले एक हजार दुई सय करोड रुपैयाँ बराबरको एक करोड कित्ता, करमतारा इन्जिनियरिङले सात सय ५० करोड रुपैयाँ बराबरको ५५ लाख कित्ता, एलसीसी प्रोजेक्ट्सले छ सय करोड रुपैयाँ बराबरको ४५ लाख कित्ता र मनिपाल पेमेन्टले नौ सय करोड भारतीय रुपैयाँ बराबरको ७० लाख कित्ता सेयर निष्कासन गर्दै बजारबाट ठूलो रकम संकलन गर्दै छन्।

त्यसैगरी एसएमई प्लेटफर्मतर्फ ३ वटा साना तथा मझौला कम्पनीहरूले आफ्नो पुँजी संकलन सुरु गरेका छन्। जसमा कपडा उद्योग क्षेत्रको विनोद टेक्स्टवर्ल्डले ५० करोड भारतीय रुपैयाँ बराबरको २५ लाख कित्ता सेयर बजारमा ल्याएको छ। रसायन प्रशोधनसँग सम्बन्धित आमटेक एस्टर्सले ४० करोड रुपैयाँ बराबरको २० लाख कित्ता र नवीकरणीय ऊर्जा क्षेत्रको इन्फ्राक्स रिन्युएबलले ६० करोड भारतीय रुपैयाँ बराबरको ३० लाख कित्ता सेयर सार्वजनिक निष्कासनमा ल्याएका छन्। एउटै दिनमा नौ वटा कम्पनीले कुल हजारौँ करोड रुपैयाँ बराबरको ठूलो कित्ता सेयर जारी गर्दा पनि भारतीय बजारले त्यसलाई सहजै खपत गर्न सक्नुले त्यहाँको सेयर बजारको दायरा फराकिलो र लगानीकर्ताको उपस्थिति मजबुत रहेको देखाउँछ।

नीतिगत विकृति र बजारलाई व्यावसायिक बनाउने चुनौती

नेपालको सेयर बजारलाई परिपक्व र व्यावसायिक बनाउन नसकिनुमा नियामकका अस्थिर नीतिहरू मुख्य जिम्मेवार रहेको विज्ञहरू बताउँछन्। कहिले प्रिमियम मूल्य नेटवर्थकाे दाेब्बरसम्म दिने त कहिले एउटै कम्पनीलाई दुई वटा आइजीन दिनेसम्म पुर्‍याउने त कहिले १० कित्ते चिठ्ठा प्रणाली भित्र्याएर सबैलाई अलिअलि सेयर बाँड्ने सामाजिक सुरक्षाजस्तो नीति बनाइयो। त्यसैगरी स्थानीय प्रभावित, वैदेशिक रोजगारमा गएका नेपाली र म्युचुएल फन्डका लागि अनेकौँ आरक्षण कोटा निर्धारण गर्दा सेयर बजार व्यावसायिक लगानीको थलोभन्दा पनि वितरणमुखी संयन्त्रजस्तो बन्न पुगेको छ। यस्ता वितरणमुखी नीतिहरूले वास्तविक लगानीकर्ता र बजारको माग-आपूर्तिको प्राकृतिक चक्रलाई अस्तव्यस्त बनाएको छ।

वर्तमान अर्थमन्त्री स्वर्णिम वाग्लेले नेपालको सेयर बजारलाई एसियाको दोस्रो ठूलो बजार बनाउने दृढता र महत्त्वाकांक्षा व्यक्त गरिरहँदा व्यवहारमा भने प्राथमिक बजार नै महिनौँसम्म ठप्प हुनु विरोधाभासपूर्ण देखिन्छ। सेयर बजारलाई अन्तर्राष्ट्रिय वा क्षेत्रीय स्तरमा प्रतिस्पर्धी बनाउनका लागि सर्वप्रथम प्राथमिक बजारलाई निरन्तर, पारदर्शी र आधुनिक प्रविधिमैत्री बनाउनु आवश्यक हुन्छ।

सबल पुँजी बजारका लागि निरन्तरताको बाटो

भारतीय बजारको उदाहरण र अन्तर्राष्ट्रिय अभ्यासलाई हेर्ने हो भने सेकेन्डरी बजारको उतारचढावकै कारण आईपीओ निष्कासन रोक्ने नीति कुनै पनि परिपक्व अर्थतन्त्रमा अपनाइँदैन। प्राथमिक बजार भनेको जलविद्युत्, उत्पादनमूलक उद्योग र विविध व्यावसायिक क्षेत्रलाई आवश्यक पर्ने दीर्घकालीन पुँजी जुटाउने प्रमुख आधार हो। 




नबिल बैंकद्वारा १५.८० प्रतिशत लाभांश प्रस्ताव, बोनस र नगद कति?

Sep 06, 2026 10:06 PM

नबिल बैंक लिमिटेडले आफ्ना शेयरधनीहरूका लागि आर्थिक वर्ष २०८२/८३ को लाभांश घोषणा गरेको छ। बैंकको सञ्चालक समितिले उक्त आर्थिक वर्षको मुनाफाबाट कूल १५.८० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।