अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पूँजीबजारमा देखिएको कमजोरी सुधार गर्दै यसको विकास र विस्तारका लागि सरकारले १० देखि १२ बुँदे विशेष सुधार कार्यक्रम ल्याउने बताएसँगै यस दिन बजार बढ्न टेवा पुगेको हो। विगतमा भएका गैरजिम्मेवार गतिविधिका कारण बजारमा समस्या देखिएको उल्लेख गर्दै उनले अब अवस्थालाई थप बिग्रन नदिने गरी सरकारले नीतिगत सुधार अघि बढाउने स्पष्ट पारेका थिए।
शुक्रबार नेप्से परिसूचक २७.९४ अंक बढेर २५५९.४९ विन्दुमा पुगेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ३.९८ अंक बढेको छ भने फ्लोट इण्डेक्स १.८८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.४३ अंक बढेको छ।
नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ। अघिल्लो कारोबार दिन अर्थात बिहीबार ४ अर्ब ९ लाख रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३४५ स्टकको ४९ हजार ६ पटकको कारोबारमा ४ अर्ब ३६ करोड १ लाख ५९ हजार रुपैयाँबराबरको १ करोड २० लाख ८९ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
उपकार लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य यस दिन सर्वाधिक १०.५३ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन अभियान लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशतभन्दा बढी बढेको छ भने सिन्धु विकास बैंकको शेयरमूल्य साढे ९ प्रतिशत बढेको छ। कारोबारमा आएको मल्टीपर्पस फाइनान्स कम्पनीको शेयरमूल्य यस दिन सर्वाधिक ५.७१ प्रतिशत घटेको छ।
कारोबार रकमका आधारमा यस दिन लिबर्टी इनर्जी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ३६ करोड ६६ लाख रुपैयाँबराबरको शेयर किनबेच भएको छ। त्यस्तै, यस दिन एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको साढे १८ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ भने रिलायन्स स्पिनिङ्ग मिल्सको कारोबार रकम साढे १४ करोड रुपैयाँ नाघेको छ।
यस दिन १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये जलविद्युत उपसमूहको परिसूचक यस दिन सर्वाधिक १.८३ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन लगानी र निर्जीवन बीमा उपसमूहको परिसूचक साढे १ प्रतिशतभन्दा बढी बढेको छ भने विकास बैंक र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ।